काठमाडौं । विद्युतीय कार विश्वकै लागि अहिले पनि नयाँ टेक्नोलोजी हो । सन् २०१० बाट विद्युतीय कार उत्पादनको नयाँ युग सुरु भएको मानिन्छ । नेपालको हकमा पनि सन् २०१० बाटै विद्युतीय कार आयात सुरु भएको हो ।
विद्युतीय कारको बिक्री बढ्न लामो समय लाग्यो । सन् २०१८ को अन्तिममा हुन्डाईले कोना क्रसओभर एसयूभी डिजाइनमा ल्याएसँगै नेपालमा विद्युतीय कारले रफ्तार लिएको हो । त्यसपछि किया, एमजी, बीवाइडी र टाटा जस्ता ब्राण्डले विद्युतीय कार ल्याउन थाले ।
त्यतिवेला ईभी ल्याउने मध्ये बीवाइडी मात्रै एकल प्योर ईभी ब्राण्ड थियो । साथै, नेपालको लागि नयाँ ब्राण्ड पनि बीवाइडी नै थियो ।
हुन्डाई, किया, टाटा र एमजी नेपालको लागि पुराना ब्राण्ड थिए । उनिहरुको सर्भिस सेटअप पहिल्यै थियो । तर, ईभीको लागि डेडिकेटेड सर्भिस थिएन । उनिहरुले डेडिकेटेड सर्भिस सेन्टर भने बनाए । सबै बिक्रेताले उपत्यका बाहिर डिलर नियुक्त गर्दा अनिर्वाय सर्भिस सेन्टर निर्माण गर्नु पर्ने सर्त राख्ने गर्छन् ।
बीवाइडी विल्कुलै नयाँ थियो । तर, साइमेक्स इंकले सुरुदेखि नै सर्भिस नेटवर्क बनाउन खोजेको देखिन्छ । सुरुमा गाडीको संख्या कम हुँदा छुट्टै स्थानबाट सर्भिस दिएको कम्पनीले अहिले उपत्यकामा दुई वटा डेडिकेटेड सर्भिस सेन्टर संचालनमा ल्याइसकेको छ ।
सर्भिस सेन्टर विकासमा कियाले ठोस काम थालेको देखिदैन । हुन्डाईले पनि सुरुमा डेडिकेटेड सर्भिस सेन्टरदेखि शोरुमसम्म निर्माण गरेपनि पछिल्ला दिनमा उसको फोकस नयाँ निर्माणमा देखिदैन । त्यसो हुनुको कारण उसको सबै नेटवर्कमा ईभी सर्भिसको ब्यवस्था भएर पनि होला ।
एमजीले सुविधा सम्पन्न सर्भिस सेन्टर चलाइरहेको छ । कम्पनीले चाँडै अर्को सर्भिस सेन्टर संचालनमा ल्याउने जनाएको छ । अहिलेको एउटा सर्भिस सेन्टरले थेग्नै नसक्ने अवस्था आएको उपभोक्ताहरु बताउँछन् ।
टाटाको आधिकारीक बिक्रेता सिप्रदीले आफ्नो सम्पूर्ण शक्ति सर्भिस र ईभी नेटवर्क विस्तारमा लगाएको छ । कम्पनीले नयाँ डेडिकेटेड सर्भिस सेन्टर निर्माणदेखि चार्जिङ पूर्वाधार विकासमा काम गर्दै आएको छ ।
उपत्यका बाहिर सबै कमजोर
उपत्यका केन्द्रित सर्भिस सेन्टरमा कम्पनीहरुले लगानी गरिरहेको भएपनि उपत्यका बाहिरको अवस्था नाजुक छ । उपत्यका बाहिर डिलर नियुक्त गरेर गाडी बिक्री गर्दै आएका कम्पनीहरुको सुविधा सम्पन्न वर्कसप छैन ।
यसअघि पेट्रोल गाडी बिक्री गर्दै आएका अधिकांश डिलरहरुले नै ईभी बिक्री सुरु गरेका कारण सर्भिस सेन्टर त छ । तर, ती सर्भिस सेन्टर आवश्यक इक्यूपमेन्टले सुसज्जित भने छैनन् ।
उपत्यका बाहिर सर्भिस सेन्टरमा उपलब्ध जनशक्ति पनि विद्युतीय कारको ज्ञान भएका छैनन् । उनिहरुको क्षमता अभिवृद्धिमा यहाँका बिक्रेताले दिने २/३ दिनको ट्रेनिङले काम गर्न नसक्ने बिक्रेताहरु नै बताउँछन् ।
नयाँ ब्राण्डको अवस्था
पछिल्ला दिनमा आयका अधिकांश ब्राण्ड पुराना अटोमोवाइल ब्यवसायीले ल्याएका कारण उनिहरुको सर्भिस पूर्वाधार छ । तर, नयाँ कम्पनीहरु ल्याएका गाडीको सर्भिस सेन्टरको टुङ्गो नै छैन ।
ओमोडा/जेको, जिकर, लीप, नामी, दीपल लगायतका ब्राण्डहरु पहिल्यैदेखि अटोमोवाइल ब्यवसाय गर्दै आएका समूहरुले ल्याएको कारण उनिहरुको सर्भिस नेटवर्क छ । तर, अहिल्यै आवश्यक सबै इक्यूपमेन्ट सहितको सर्भिस सन्जाल तयार भने छैनन् ।
अन्त्यमा, गाडी किन्नेको पहिलो अधिकार नै उसले समयमा सर्भिस पाउनु पर्छ भन्ने हो । यदि, कुनै कम्पनीले उचित समयमा सर्भिस दिन सकेन भने उसले उपभोक्तालाई क्षती पूर्ति दिनु पर्छ ।
नयाँ टेक्नोलोजी भएका कारण पुरातन गाडीको तुलनामा न्यू इनर्जी भेहिकललाई थप समय पक्कै लाग्ला तर, त्यो समय कति हो भन्ने कुरा गाडी किन्दा सोध्न नविर्षनु होला ।

