काठमाडौं । कियाले आफ्नो नयाँ मोडल ईभी-फोर मोडलको परीक्षण तिब्र बनाएको छ । कोरियन कार निर्माताले ईभी सिरिजमा यसअघि ईभी-सिक्स, ईभी-नाइन, ईभी-फाइभ र ईभी-थ्री बजारमा ल्याइसकेको छ ।
यी मध्ये नेपाली बजारमा दुई मोडल उपलब्ध भइसकेको छ । किया ईभी सिक्स र ईभी नाइन अहिले नेपाली बजारमा पनि खरिद गर्न सकिन्छ । दुबै मोडल मूल्यका हिसावले पनि महंगोमा पर्छन् । किया ईभी सिक्सको मूल्य १ करोड २५ लाख र ईभी–नाइनको मूल्य १ करोड ८० लाख रुपैयाँ रहेको छ ।
कम्पनीको ईभी सिरिजमा आउन लागेको ईभी-फोर धेरै हदसम्म ईभी सिक्सबाट प्रेरित रहने छ । यो कार सेडान र ह्याचव्याकको मिश्रणबाट तयार भएको क्रसओभर मोडल हो । यसमा धेरै फिचर ईभी-थ्रीबाट लिएको देखिन्छ ।

यसको ड्यासबोर्डमा ठूलो ड्यूल स्कृन पाउन सकिन्छ । परीक्षणको क्रममा बाहिर आएको तस्विर अनुसार १२.३ इन्चको ड्यूल स्कृनसँगै ५.३ इन्चको छुट्टै क्लाइमेट कन्ट्रोल स्कृन पनि दिइएको छ । यसमा केही फिजिकल बटम पनि पाउन सकिन्छ ।
कियाले पहिलो पटक च्याट जिपीटीमा आधारित एआई डिजिटल एसिस्टेन्स दिएको छ । यसले समग्रमा ग्राहक एक्सपेरियन्सलाई उत्कृष्ट बनाउने कम्पनीको अनुमान छ । एआई टेक्नोलोजीको प्रयोगले यात्रा सम्बन्धी सूचना, म्यूजिक रिकमेन्डेसन र भेहिकल कन्ट्रोल फङ्गशन चलाउन सकिन्छ ।
हुन्डाई मोटर ग्रुपको इ-जीएमपी इलेक्ट्रीक प्लेटफर्ममा बनेको ईभी फोर ४०० वा ८०० भोल्ट मध्ये कुन आर्किटेक्चरमा तयार भएको हो, एकिन जानकारी बाहिर आएको छैन ।
सम्भवत १५० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ सिस्टमको साथ आउने किया ईभी-फोर अलह्वील ड्राइभ सिस्टममा पनि उपलब्ध हुनेछ । यसमा ५८ र ८१ किलोवाट आवर क्षमताको दुई ब्याट्री अप्सन उपलब्ध हुनेछ ।


