काठमाडौं । न्यू इनर्जी भेहिकलको बिक्रीमा हरेक महिना रेकर्ड बनाउँदै गएको चीनमा पहिलो पटक बिक्री घटेको छ । सन् २०२४ को पहिलो महिना (जनवरी)मा सरकारले अनुदान घटाएसँगै न्यू इनर्जी भेहिकलको बिक्री ३७ प्रतिशतले घटेको हो ।
चीन सरकारले यसअघि दिदै आएको कर छुटमा कटौती गरेको कारण ईभीको बिक्री कम भएको हुन सक्ने अनुमान गरिएको छ । सरकारले सन् २०२४ को जनवरीबाट ‘न्यू इनर्जी भेहिकल’मा नयाँ ट्याक्स पोलीसी लागु गरेको छ । यो ट्याक्स पोलीसीका अनुसार अब उपभोक्ताले एउटा न्यू इनर्जी भेहिकलमा अधिकतम ३० हजार आरएमवी (करिब ४२०० डलर) मात्र ट्याक्स छुट पाउनेछन् ।
गत डिसेम्बरको तुलनामा ३७ प्रतिशतले बिक्रीमा गिरावट आएको भएपनि गतवर्षको जनवरी महिनाको तुलनामा भने ८० प्रतिशतले वृद्धि भएको हो ।
चीनमा प्लगइन हाइब्रिड, ब्याट्री इलेक्ट्रीक र हाइड्रोजन फ्यूल सेललाई न्यू इनर्जी भेहिकलमा राखिदै आएको छ । जनवरी २०२४ मा सर्ट र मिडियम रेन्ज ब्याट्री इलेक्ट्रीक भेहिकलको बिक्री कमजोर बनेको हो ।
बीवाइडीको बिक्रीमा डिसेम्बरको तुलनामा ठूलो गिरावट आएको छ । कम्पनीले जनवरीमा २ लाख १ हजार ४९३ यूनिट मात्रै कार बिक्री गरेको छ । जुन अघिल्लो महिनाको भन्दा ४०.९२ प्रतिशतले घटेको हो । गत डिसेम्बरमा बीवाइडीले ३ लाख ४० हजार १७८ वटा न्यू इनर्जी भेहिकल बिक्री गरेको थियो ।
त्यस्तै चीनको अर्को ठूलो विद्युतीय कार उत्पादक टेस्लाको बिक्री पनि २४ प्रतिशतले घटेर ७१ हजार ४४७ यूनीटमा समेटिएको छ । जुन डिसेम्बरमा ९४ हजार १३९ थियो ।
त्यसैगरी अन्य विद्युतीय कार उत्पादक जीएसी एओनको ४५.७ प्रतिशत, एनआइओको ४४.१८ प्रतिशत, एक्सपेङको ५८.९९ प्रतिशत र एलआईअटोको ३८.११ प्रतिशतले बिक्रीमा गिरावट आएको छ ।

