काठमाडौं । विद्युतीय कारमा खासै विश्वास नगरेको टोयोटाले पछिल्ला दिनमा चलेको विद्युतीय कारको चर्चालाई खासै ध्यान पनि दिएको थिएन । उसले सधैँ हाइब्रिड कार टेक्नोलोजी मै आफुलाई केन्द्रित गरेको थियो । बरु टोयोटाले हाइड्रोजन फिउल टेक्नोलोजीमा धेरै लगानी गर्यो ।
सधैँ मजबुद, टिकाउ र किफायती कार उत्पादनमा कहलिएको टोयोटाले ईभी बजारमा प्रबेश गरेसँगै लामो वारेन्टी प्रदान गर्दै आफुलाई अब्बल बनाउने बाटो तय गरेको मानिन्छ । अहिले टोयोटाले सन् २०२६, २०२८ र २०३० को योजना बनाएर ईभी विकासमा काम गरिरहेको छ ।
कम्पनीले सन् २०३० सम्ममा वार्षिक ३० लाख इलेक्ट्रीक कार बिक्री गर्ने लक्ष्यसहित आफ्ना अधिकांश मोडलको इलेक्ट्रीफिकेसन योजना तयार गरेको हो ।
वियोण्ड जीरो
टोयोटाले वियोण्ड जीरो (बीजेड) नाम राखेर आफ्नो सफल मोडल र्याभफोरको पूर्ण इलेक्ट्रीक मोडल सन् २०२२ मा बजारमा उतारेको हो । कम्पनीले यहि मोडलमा प्रयोग भएको ब्याट्रीमा १० वर्ष वारेन्टी प्रदान गर्दै आएको छ ।
क्रसओभर डिजाइन भएको बिजेडफोरएक्सलाई लङ रेन्ज ईभीको रुपमा कम्पनीले प्रस्तुत गरेको छ । सन् २०२४ मोडल विश्व बजारमा उतारेको टोयोटाले यसमा ७१.४ किलोवाट आवरको एनसीएम ब्याट्री दिएको छ ।

टोयोटाले चिसो मौसममा चार्ज स्लो भएको ग्राहकको प्रतिक्रियापछि त्यसलाई सुधार गरेर २०२४ मोडल बजारमा ल्याएको जनाएको छ । यसले ६.६ किलोवाट क्षमताको एसी चार्जर फुल चार्ज गर्न ११ घण्टा लाग्नेछ । साथै, यसले १५० किलोवाट आवरको फास्ट चार्ज पनि सपोर्ट गर्छ । उक्त चार्जरले एक घन्टामा नै ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।
फ्रन्ट ह्वील ड्राइभ र अल ह्वील ड्राइभ अप्सनमा उपलब्ध हुने बिजेडफोरएक्स ईभीमा १६० किलोवाटको स्टायन्डर्ड मोटर पाउन सकिन्छ ।
टोयोटाले बीजेडफोरएक्सलाई आधुनिक बनाउन यसमा प्यानारोमिक ग्लास रुफ, एडप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, लेन किप असिस्ट, व्लाइण्ड स्पट मनिटरिङ, रियर क्रस ट्राफिक अलर्ट जस्ता फिचर दिएको छ ।
यसका अलावा हिटेड स्टेरिङ ह्वील, हिटेड तथा भेन्टिलेटेड फ्रन्टसिट, मल्टिभ्यू क्यामरा, २० इन्चको ह्वील, अटोमेटेड पार्किङ सिस्टम पनि पाउन सकिन्छ । ७ इन्चको यूनिक तरिकाले दिइएको डिजिटल ड्राइभर इन्फर्मेसन डिस्प्ले, सेन्टर कन्सोलसँगै दिइएको १२.३ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एण्ड्रोइड अटो, जेबीएलको ९ वटा स्पीकरले क्याविनलाई प्रिमियम बनाएको छ ।
टोयोटाले यसलाई आफ्नो ‘ई-टीएनजीए प्लेटफर्ममा बनाएको हो । यसको लम्बाई ४६९० एमएम, चौडाई १८६० एमएम तथा १६५० एमएमको उचाई रहेको छ ।
बीजेडफोरएक्समा २८५० एमएमको ह्वीलवेस पाउन सकिन्छ । १८० एमएमको ग्राउण्ड क्लियरेन्स र ठूलो ४५२ लिटरको बुटस्पेश यसको बलियो पक्ष हो ।
नेपाल पनि आउने
टोयोटाको आधिकारीक बिक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले बीजेडफोरएक्स क्रसओभर मोडल नेपाल ल्याउने छ । कम्पनीले यसलाई २०२४ को अन्तिमसम्ममा नेपाली बजारमा बिक्री सुरु गर्ने योजना बनाएको जनाएको छ ।

