निजी मोटरसाइकलसँगै कारले पनि यात्रु बोक्न पाउने !

काठमाडौं । गण्डकी प्रदेशमा निजी रुपमा दर्ता भएका दुई पाङग्रे तथा चार पाङग्रे साधनले राइड शेयरिङ गर्न पाउने भएका छन् ।

भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयले बनाएको ‘गण्डकी प्रदेश सवारी यातायात व्यवस्था नियमावली–२०८०’ प्रदेश राजपत्रमा प्रकाशित भएसँगै निजी साधनमा राइड शेयरिङ गर्नका लागि गण्डकी प्रदेशले कानुनी रुपमा बाटो खुलाएको हो ।

उक्त प्रकाशित नियमावलीले निजी सवारीले पनि यात्रु ओसारपसार गर्न सकिने व्यवस्था गरेको हो । यस अनुसार निजी प्रयोजनका लागि दर्ता भएका दुई पाङग्रे तथा चार पाङग्रे साधनले तोकिएको प्रकियाहरु पूरा गरी तोकिएको भाडा लिई यात्रुको सुरक्षाका लागि बीमा गरेर सेवा दिनसक्ने छन् ।

नियमावलीमा भनिए अनुसार, ‘निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त दुई पाङग्रे तथा चार पाङग्रे साधनले सार्वजनिक साधन सरह यात्रु ओसारपसार गर्न सक्ने गरी सम्बन्धीत मन्त्रालयले आवश्यक मापदण्ड बनाइ जारी गर्न सक्नेछन् ।’

गण्डकी प्रदेश यातायात व्यवस्था ऐन, २०७६ को दफा २२१ ले दिएको अधिकार र नियम प्रयोग गरी गण्डकी प्रदेश सरकारले यो व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो ।


Back_to_top