आइसरको इलेक्ट्रीक ट्रक, नेपालको लागि पनि उपयोगी हुने

काठमाडौं । टाटापछि आइसरले पनि इलेक्ट्रीक लाइट कमर्शियल भेहिकल ल्याउने भएको छ । कम्पनीले भारत मोविलिटी एक्स्पो २०२४ मा यसलाई प्रदर्शनी गरेर बजारमा ल्याउने संकत दिएको हो ।

आइसर ठूला बस तथा ट्रक उत्पादनको लागि परिचित कम्पनी हो । इलेक्ट्रीक साधन मार्फत लाइट कमर्शियल सेग्मेन्टमा पनि आफुलाई बलियो बनाउने योजना सहित कम्पनीले नयाँ ट्रक तयार पारेको हो ।

मल्टीपल काममा प्रयोग गर्न सकिने विद्युतीय ट्रकलाई कम्पनीले दुई फरक भारबहन गर्नेगरी ल्याउन लागेको हो । आइसरले प्रो-विजनेस र प्रो-प्लानेट गरी दुई मोडल देखाएको छ ।

यसको प्रो-विजनेशले २ टन र प्रो-प्लानेटले ३.५ टन ग्रस तौल भएका विद्युतीय ट्रक ल्याएको हो । आइसरले यी गाडीहरु आगामी अप्रिलबाट कस्टुमर ट्रायल गर्ने र सन् २०२५ को पहिलो क्वाटरबाट बिक्री सुरु गर्ने जनाएको छ ।

कम्पनीले सुरुमा यी ट्रक विद्युतीय ल्याउने र त्यसपछि क्रमशः सीएनजी र डिजेल इन्जिनमा ल्याउने जनाएको छ । आइसरले यो ट्रकको डिजाइन र विकास भारतमै गरेको हो । कम्पनीले एक्स्पोमा यो नयाँ ईभी देखाए पनि यसको ब्याट्री र इलेक्ट्रीक मोटरका बारेमा भने कुनै आधिकारीक जानकारी दिएको छैन ।

नेपालमा पनि आइसरले आफ्ना उत्पादन बिक्री गर्दै आएको छ । तिब्र विद्युतीय साधनको उपयोग बढेको नेपालमा यी विद्युतीय लाइट कमर्शियल ट्रक पनि उपयोगी हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top