चिनियाँ ब्राण्डको केन्द्र बन्दै थाइल्याण्ड

काठमाडौं । यसअघि जापानी उत्पादकको केन्द्र रहेको थाइल्याण्डमा चिनियाँ ब्राण्डले एकपछि अर्को प्लान्ट निर्माण सुरुवात गरेको छ । सुरुमा एमजीले थाइल्याण्डबाट उत्पादन सुरु गरेको थियो ।

त्यसपछि बीवाइडी, नेटा जस्ता ब्राण्डले चीनमा प्लान्ट निर्माण गरिरहेका छन् । यस्तोमा चीनकै तेस्रो ठूलो इलेक्ट्रीक भेहिकल कम्पनी (जीएसी एओन)ले थाइल्याण्डमा प्लान्ट लगाउने भएको हो ।

जीएसी ग्रुपले चीन बाहिर पहिलो ईभी उत्पादन प्लान्ट थाइल्याण्डमा बनाउन थालेको हो । थाइल्याण्डको इस्टर्न इकनोमीक करिडोरमा गत शुक्रबार कम्पनीले नयाँ प्लान्टको सिलान्यास गरेको छ । उक्त प्लान्ट निर्माणमा ६५ मिलीयन डलर लगानी गर्ने कम्पनीले घोषणा गरेको छ ।

वार्षिक ५० हजार युनिट उत्पादन क्षमता हुने यो प्लान्टको पहिलो फेज सन् २०२४ को जुलाईमा सम्पन्न गरिने लक्ष्य रहेको कम्पनीले जनाएको छ । यो प्लान्टबाट सुरुवातमा राइटह्याण्ड ड्राइभको एवोन वाई प्लसको उत्पादन हुनेछ ।

जीएसी ग्रुपले सन् २०२५ सम्ममा १० लाख एवोन ईभी बिक्री गर्ने लक्ष्य राखेको छ । सन् २०२३ मा जीएसी एवोन ब्राण्डको ४ लाख ८० हजार ३ वटा ईभी बिक्री भएको थियो ।

एवोन नेपाली बजारमा पनि छिटै बिक्री सुरु हुन लागको इलेक्ट्रीक ब्राण्ड हो । नेपालका लागि जीएसी एवोनको आधिकारीक बितरक सीजी मोटर्स रहेको छ । केहि दिन अगाडि एवोन वाई नेपाली भन्सारमा आइपुगेको तस्विरहरु सार्वजनिक भएका थिए ।


Back_to_top