काठमाडौं । विद्युतीय कारले बजारमा निकै चर्चा पाइरहेको समयमा शानदार इलेक्ट्रीक पीकअप नेपाल आएको छ । चिनियाँ कम्पनी एसएआईसीले उत्पादन गरेको मेक्सस टी-९० नेपाल आएको हो ।
मेक्ससको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले नेपाल ल्याएको यो पीकअप निकै फिचर लोडेड रहेको छ । कम्पनीले भन्सार बिन्दुमा बुझाएको खुद्रा बिक्री मूल्य ७८ लाख ४९ हजार उल्लेख छ ।
निकै ठूलो ८८.५५ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको पीकअपमा १३० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ । डब्लूएलटीपीको अनुसार यो पीकअपले सिंगल चार्जमा ३५५ किलोमिटर रेन्ज प्रदान गर्छ ।
यो पीकअपको लम्बाई ५३६५ एमएम, चौडाई १९०० एमएम र उचाई १८०९ एमएम रहेको छ । यसको पछाडि रहेको कार्गो स्पेशको लम्बाई १४८५ एमएम, चौडाई १५१० एमएम र उचाई ५३० एमएम रहेको छ ।

यसले अगाडि र पछाडि गरेर २ हजार १०० किलो भार बोक्न सक्नेछ । साथै, यसको टोइङ क्षमता १ हजार ५०० किलोग्रामसम्म छ । यसले ८० किलोवाट क्षमताको डिसी चार्जर सपोर्ट गर्ने क्षमता राख्छ । साथै, पीकअपले ११ किलोवाटको एसी चार्जर सपोर्ट गर्छ ।
चालक सहित ५ जनाले अगाडि आरामदायी यात्रा गर्न सक्ने पीकअपमा सुरक्षा फिचर पनि प्रसस्त पाउन सकिन्छ । कम्पनीले यसमा ब्रेक एसिस्ट, इएसपी, रियर पार्किङ सेन्सर, रिभर्स क्यामेरा, ६ वटा एयरब्याग, सबै सिटमा थ्री प्वइन्ट सिट बेल्ट जस्ता फिचर छन् ।

यसको इन्टेरियर पनि पर्फेक्ट एसयूभीको जस्तै छ । मल्टीफङ्शनल स्टेरिङ ह्वील, आर्टिफिसियल लेदर सिट कभर, अगाडिका दुई सिट इलेक्ट्रीकल्ली ६ वे एड्जस्टेवल छन् । कम्पनीले यसमा १०.२५ इन्चको टचस्कृन दिएको छ । गाडीमा ल्यापटप चार्ज गर्न २२० भोल्ट र मोवाइल फोनको लागि १२ भोल्टको सकिट दिएको छ ।
निकै मस्कुलर लाग्ने फ्रन्ट ग्रिल, अटोमेटीक इन्डीकेटर सहितको हेलोजिन हेडल्याम्प, एलइडी रियर ल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, हाइ माउन्ट स्टप ल्याम्प, रियर फग ल्याम्प, १७ इन्चको अलोय ह्वील जस्ता फिचर दिएको छ ।

