उच्च कर वृद्धिले इभीको विकास रोकिने देखियोः बीवाइडी

काठमाडौं । नेपालका लागि बीवाइडी इलेक्ट्रीक गाडीको आधिकारीक वितरक साइमेक्स इंकले बजेट मार्फत इभीको भन्सार तथा अन्तःशुल्क वृद्धि भएको कारण विद्युतीय गाडीको मूल्य वृद्धि हुने भएकोमा चिन्ता ब्यक्त गरेको छ ।

कम्पनीले जारी गरेको विज्ञप्तीमा सरकारले लिएको निर्णयले व्यापार मात्र नभएर वातावरणको क्षेत्रमा ठूलो क्षती र विस्तारै बामे सरिरहेको विद्युतीय गाडीको बजारमा अंकुश लगाउने काम भएको जनाएको छ ।

नेपाली अटोमोवाइल बजारको वार्षिक आयातमा जम्मा ५ प्रतिशत मात्र इभीको हिस्सा रहेको भन्दै कम्पनीले भनेको छ, ‘आब २०७८/७९ को लथ्यांकलाई केलाउदा १५ हजारभन्दा बढी सवारीसाधन आयातहुँदा १४ सयमात्रै इभी आएको छ । यसले नेपालमा विद्युतीय गाडीको बजार प्रारम्भिक चरणमै रहेको प्रस्ट हुन्छ ।’

अहिले पनि विद्युतीय गाडीको उत्पादन प्रविधि निकै महंगो रहेकोले लागत धेरै भएको कारण प्रिमियम भ्यालुलाई सन्तुलन गर्न उनिहरुले साना क्षमताको मोटर प्रयोग नगरी ठूलो क्षमताको मोटर प्रयोग गर्छन् । तर, नेपालमा भने इभीमा प्रयोग भएको मोटरको क्षमताका आधारमा इभीलाई विलासीता भएको मापन गर्ने गरिएको छ ।

अहिलेको बजारमा ग्राहकहरुले आफ्नो प्रयोग, रेन्ज र विश्व बजारमा चलेको आधारमा मिडरेन्जका गाडीमा चासो दिने गरेका छन् । नयाँ बजेटमा प्रस्तुत गरिएको भन्सार दरले भने इभीलाई इन्ट्री लेबल सेग्मेन्टमा मात्र सिमित गर्ने भएको छ ।

प्रस्तावित बजेटले ग्राहकहरुलाई इभी खरिद गर्न प्रोत्साहन गर्नुको साटो ग्यासोलीन इन्जिन भएका साधन खरिद गर्न प्रेरित गरेको देखिन्छ । यसले इन्धनको प्रयोग बढाउनुको साथै, सरकारको इभीको संख्या बढाउने र यही उत्पादन भएको विजुलीको खपत बढाउने नीतिसँग पनि मेल खाँदैन ।

इभीको लागि उपयुक्त वातावरण बनेमा नेपालमा आगामी एक वा दुई वर्षभित्रै इभीमा प्रयोग भएको नयाँ टेक्नलोजीलाई स्थानियकरण गरेर लाभ लिन सकिने अवस्था थियो । बढ्दो चार्जिङ पूर्वाधारदेखि नेपालमै गाडी एसेम्बलिङ र उत्पादनको जग बस्न सक्थ्यो । यसैको माध्यमबाट विश्व मानचित्रमा जलवायु परिवर्तनसँग लड्ने नेपालको प्रतिवद्धतालाई थप सहयोग पुग्थ्यो ।


Back_to_top