काठमाडौं । सिट्रोनले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सीथ्री एयरक्रस मोडल देखाएको छ । कम्पनीले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा रहेका क्रेटा, सेल्टोस जस्ता चल्तीका मोडलसँग प्रतिस्पर्धा गर्न सीथ्री एयरक्रस ल्याएको हो ।
फ्रेन्च निर्माताले सीथ्री एयरक्रस ५ र ७ सिट अप्सनमा उपलब्ध गराउने जनाएको छ । भारतमा उत्पादन सुरु गरेको केही समयपछि नै कम्पनीले तेस्रो मोडल उत्पादन सुरु गरेको हो ।
भारतीय बजारलाई ध्यानमा राखेर उत्पादन गरिएको सीथ्री एयरक्रस ४.३ मिटर लामो छ । सीफाइभ एयरक्रससँग मिल्दो जुल्दो डिजाइन भएको यो मोडल भारतमा सन् २०२३ को फेस्टीभ सिजनबाट विक्री सुरु हुने अनुमान गरिएको छ ।
सिट्रोनले आफ्नो अन्य मोडल जस्तै फ्रन्ट ग्रिलमा लोगो इन्टिग्रेट गरेको छ । सुन्दर फ्रन्ट ग्रिल, ‘वाई’ आकारको डे टाइम रनिङ लाइट र स्टाइलिस हेडल्याम्प यसको सबल पक्ष हो ।
सिट्रोन सी३ एयरक्रसमा १.२ लिटर टर्बो पेट्रोल इन्जिन रहने छ । उक्त इन्जिनले ११० बीएच पावर र १९० एनएमको टर्क जेनेरेट गर्छ । यहि इन्जिन सीथ्री ह्याचव्याकमा पनि उपलब्ध छ ।
सिट्रोनले यसमा १० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिएको छ । एन्ड्रोइड अटो र एप्पल कार प्ले सपोर्ट गर्ने एसयूभीमा फुल्ली डिजिटल ड्राइभर डिस्प्ले, डे नाइट आईआरभीएम, रुफ माउन्टेड रियर एसी भेन्टसहितको म्यानुअल एसी र क्रुज कन्ट्रोल रहने छ ।
सुरक्षाका लागि यसमा ६ वटासम्म एयरब्याग, इलेक्ट्रोनीक स्टेबिलीटी कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर भ्यु क्यामेरा, इबीडीसहितको एबीएस र रियर पार्किङ सेन्सर जस्ता फिचर उपलब्ध छन् ।
सिट्रोनको आधिकार विक्रेता साँग्रिला मोटर्सले भारतमा विक्री सुरु भएको केही समयपछि नेपाल ल्याउने छ । त्यसको लागि थप केही महिना लाग्न सक्छ ।

