सेकेन्ड ह्याण्ड कार किन्दा कसरी लिने धेरै फाइदा ?

काठमाडौं । भर्खर गाडी चलाउन थालेका अधिकांश चालकको रोजाईमा नयाँ भन्दा सेकेन्ड ह्याण्ड कार पर्ने गरेको पाइन्छ । ब्राण्ड न्यू कारको मूल्य बढि पर्ने र ट्राफिक जाम हुने सडकमा गाडी ठोक्किने डरको कारण धेरै मानिसले सेकेन्ड ह्याण्ड कारको छनोट गर्ने गरेका हुन् ।

जानेर वा नजानेर प्रायः नयाँ चालकले आफ्नो सवारी ठोकाउने र स्क्रयाच गर्ने गरेको पाइन्छ । सेकेन्ड ह्याण्ड कारमा केही स्क्रयाच भएता पनि खासै मन खिन्न नहुने र हल्काफुल्का छुदा पनि खासै वास्ता नहुँने हुँदा धेरैले सेकेन्ड ह्याण्ड कार खोज्ने गरेका हुन् ।

सेकेन्ड ह्याण्ड कार किन्दा सधैँ ३ वा ४ वर्ष पुरानो गाडी पाउन सक्ने हो भने त्यो उत्कृष्ट हुन्छ । ३/४ वर्ष पुरानो गाडी किन्दा किन्ने धेरै कुराको फाइदा लिन सक्छन् ।

मूल्य कम पर्ने

सेकेन्ड ह्याण्ड कार नयाँ भन्दा निकै सस्तो मूल्यमा पाउन सकिन्छ । भर्खरै लन्च भएका कारहरु सेकेन्ड ह्याण्ड मार्केटमा पाउन नसके पनि केही वर्ष पुरानो मोडल खोजेर किन्दा नयाँको तुलनामा धेरै कम रकममा किन्न पाइन्छ ।

विशेष गरेर गाडीको जेनेरेशन परिवर्तनपछि धेरै गाडी रिकन्डिसनमा आउने गरेको पाइन्छ । त्यो भनेको औषत ४ वर्ष हो । त्यसैले ३/४ वर्ष पुराना गाडी खोज्नु सहि निर्णय हुन्छ ।

राह्रस कट्टी कम हुने

३ वा ४ वर्ष पुरानो गाडीमा राह्रस कट्टी राम्रो भएको हुन्छ । कम्पनीले किनेको गाडीको हकमा त झनै धेरै हुन्छ । त्यसपछि किन्ने ग्राहकले ३ वा ४ वर्ष चढेर पनि पछि विक्री गर्दा राम्रो मूल्यमा विक्री गर्न सक्छन् ।

कतिपय कारहरुको मूल्य सुरुको वर्षमै ४० प्रतिशतसम्म घट्ने गर्छ । तर, सेकेन्ड ह्याण्ड कारको मूल्य भने निकै सुस्तगतिमा घट्ने हुँदा पछि बेच्दा पनि ठूलो घाटा सहनु पर्दैन ।

कम खर्चमा इन्स्योरेन्स

कारको मूल्यनै कम भएपछि यसमा लाग्ने इन्स्योरेन्सको खर्च पनि कम हुन्छ । तेस्रो पक्ष इन्स्यारेन्सको रेट समान भएपनि गाडीको फुल इन्स्योरेन्स गाडीको मूल्यको आधारमा लाग्ने भएकाले वार्षिक इन्स्योरेन्स खर्च कम हुन्छ ।

वारेन्टीको फाइदा लिन सकिने

आजकल कतिपय कार कम्पनीहरुले ५ वर्षसम्मको वारेन्टी दिएको हुन्छ । यस्तोमा अघिल्ला वर्षहरुमा कारमा केही पनि समस्या नदेखिन सक्छ । तर, कारको पछिल्ला वर्षहरुमा समस्या आउन थाल्छन् । यस्तोमा ३ वा ४ वर्ष पुरानो कार किन्दा बारेन्टीले कभर गर्न सक्छ ।

अदृष्य खर्चबाट छुटकारा पाइने

नयाँ कार किन्दा कारको मूल्य मात्र नभई अन्य लुकेका खर्चहरु समेत लाग्छ । तर, सेकेण्ड ह्याण्ड कार किन्ने हो भने यस्ता खर्चबाट मुक्त भइन्छ । नेपालको सन्दर्भमा नयाँ कार किनेपछि फ्लोरम्याट, मडगार्ड, डोर भाइजर जस्ता अत्यावश्यक एशेसोरीज हाल्नै पर्ने हुन्छ । सेकेन्ड ह्याण्ड कारमा यी सबै पहिला नै हुने हुँदा अतिरिक्त खर्च गर्नु पर्दैन ।


Back_to_top