नाडामा बुकिङ गरेका ग्राहकलाई सिट्रोनले दिन थाल्यो कार

काठमाडौं । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले नाडा अटो शोमा प्रि–बुकिङ गरेका ग्राहकलाई गाडी दिन सुरु गरेको छ । कम्पनीले दशैं अघि नै सम्पूर्ण ग्राहकलाई गाडी डेलिभरी दिने तयारी गरेको हो ।

नाडा अटो शो २०२३ मा धेरै ग्राहकहरूले सिट्रोनको नयाँ विद्युुतीय गाडी सिट्रोन ईसीथ्री र पेट्रोल सीथ्री बुकिङ गरेको जानकारी दिदै सबैलाई डेलिभरी दिने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

भारतमा उत्पादन भएको ईसीथ्री एसयूभी सेग्मेन्टमा आकर्षक मूल्यमा उपलब्ध मोडल भएको दावी गर्दै सांग्रिला मोटर्स प्रालिका म्यानेजिङ्ग डाइरेक्टर हेमन्त गोल्छाले भने, ‘नाडा अटो शोमा ग्राहकहरुले देखाउनु भएको माया र साथ प्रति हामी आभारी छौं । जति पनि गाडीहरु नाडा अटो शोमा बुकिङ भएका थिए, तिनीहरु सबै दशैं अगाडि नै ग्राहकलाई दिने हाम्रो योजना छ । आशा छ, हाम्रा ग्राहकहरुले यो वर्षको दशैं तिहार सिट्रोनको नयाँ गाडीसँग रमाइलो तरिकाले मनाउनु हुनेछ ।’

सिट्रोनका उत्पादन निकै ईनोभेटीभ र स्टाइलिस हुन्छन् । अहिले सीथ्री र एयरक्रस–५ मोडल बिक्री गर्दै आएको कम्पनीले काठमाडौं, पोखरा, चितवन, बिर्तामोड, इटहरी, विराटनगर, बुटवल, नेपालगंज, दाङ्ग र धनगढीमा पनि आफ्ना नयाँ शोरुम मार्फत नयाँ गाडी उपलब्ध गराउँदै आएको छ ।


Back_to_top