काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)मा भाँडभैलोले मच्चिएको छ । अध्यक्ष करण चौधरी पक्ष र आकाश गोल्छा पक्ष बीचको विवादले उग्र रूप लिँदै गएको हो ।
२०८० पुसमा सम्पन्न नाडाको ४७ औं साधरण सभाले विधान संशोधन गर्दै आकाश गोल्छालाई वरिष्ठ उपाध्यक्षमा नियुक्त गरेको थियो । तर, जिल्ला प्रशासन कार्यालयले उक्त निर्णयलाई वैधानिकता नदिएपछि नाडाको विवाद सतहमा आएको थियो ।
गत वैशाखमा नाडाले आफ्नो आधिकारिक वेबसाइटमा आकाश गोल्छालाई वरिष्ठ उपाध्यक्षबाट साधरण सदस्यमा झारेपछि विवादले उग्र रुप लिँदै आएको छ । यसैक्रममा जेठ २९ गते गोल्छा पक्षधरले नाडामै पत्रकार सम्मलेन गर्दै आफ्ना माग पूरा नगरे अध्यक्ष चौधरी विरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेदेखि कालोमोसो दल्नेसम्मको चेतावनी दिएको थियो ।
त्यसपछि नाडामा महासचिव सुरेन्द्रकुमार उप्रेतीले असार ३ गते नाडाको विधान विपरीत कार्य गरेको भन्दै गोल्छासहित, प्रदीपमान श्रेष्ठ, सञ्जयकुमार खेतान र सुनिल रिजाललाई स्पष्टीकरण सोधेका थिए । उनीहरूले आज उक्त स्पष्टीकरणको जवाफ फर्काएका छन् ।
जस्तो प्रश्न, उस्तै जवाफ
महासचिव उप्रेतीले चारैजनालाई विधान विपरीत कार्य गरेको र अभिव्यक्ति दिएको भन्दै ७ दिने स्पष्टीकरण सोधेका थिए । ‘।।।तपाईंले संस्थाको विधानको दफा २२ को उपदफा (१) (घ) विपरित कार्य गर्नुभएको देखिएको हुँदा सोही दफा २२ (१) बमोजिम तपाईंको केन्द्रिय कार्यसमितिको सदस्यता ६ महिनासम्म निलम्बन किन नगर्ने ?,’ भनेर सोधेका थिए ।
जवाफमा सदस्यहरूले उल्टै महासचिव उप्रेतीलाई विधानभन्दा माथि रहेको आरोप लगाउँदै किन कारबाही नगर्ने भनेर उल्टो प्रश्न सोधेका छन् ।
महासचिव उप्रेतीले सदस्यको रूपमा प्रश्न सोधेकोमा गोल्छाले भने आफू वरिष्ठ उपाध्यक्ष नै रहेको जानकारी गराउँदै सोही हैसियतमा जवाफ फर्काएका छन् ।

उनले महासचिवलाई नाडाकै विधान नपढी आफूलाई स्पष्टीकरण सोधिएको बताएका छन् । ‘तपाईंको पत्र पढ्दा यस्तो महसुस भयो कि तपाईंले नाडाको विधान राम्रोसँग अध्ययन गर्नुभएको छैन। यदि अध्ययन गर्नुभएको भए, तपाईंबाट यस प्रकारको विधानविपरीत पत्र पठाइने थिएन,’ गोल्छाले जवाफमा भनेका छन् ।
गोल्छाले महासचिव उप्रेतीलाई तपाईं विधानभन्दा माथि हो भन्दै उल्टो प्रश्न सोधेका छन् । ‘म जान्न चाहन्छु । नाडाको विधानको कुन दफा वा उपदफा अनुसार तपाईंले मलाई यस्तो पत्र पठाउनुभएको हो के तपाईंलाई यसरी विधानको उल्लंघन गर्दै कार्य गर्न छुट छ कि तपाईं नाडाको साधारण सभा वा कार्यसमितिभन्दा माथि हुनुहुन्छ ?’ उनले प्रश्न गरेका छन् ।
त्यस्तै, सदस्य सुनिल रिजालले उल्टै महासचिव उप्रेतीले नै विधान नपढी आफूलाई प्रश्न सोधेको जवाफ फर्काएका छन् । ‘तपाईंको पत्र पढ्दा तपाईंले नाडाको विधान राम्रोसँग अध्ययन गर्नुभएको छैन स्पष्ट महसुस हुन्छ। यदि अध्ययन गर्नुभएको भए, तपाईंबाट यस प्रकारको विधानविपरीत पत्र पठाइने थिएन,’ उनले भनेका छन् ।

उनले महासचिव उप्रेतीलाई थप सोधेका छन्, ‘नाडाको विधानको कुन दफा वा उपदफा अनुसार तपाईंले मलाई यस्तो पत्र पठाउनुभएको हो ? के तपाईंलाई यसरी विधानको उल्लंघन गर्दै पत्रहरू काट्ने र नाडाको आधिकारिक लेटर हेड र सिल दुरुपयोग गर्ने छुट छ ? कि तपाईं नाडाको साधारण सभा वा कार्यसमितिभन्दा माथि हुनुहुन्छ ? कृपया प्रस्टाइदिनु होला ।’
उनले महासचिवलाई नै किन कारबाही नगर्ने भन्दै उल्टो प्रश्न सोधेका छन् । ‘यदि होइन भने, यसरी स्पष्ट रूपमा विधानको उलंघन गर्दै गरिएको कार्यको लागि तपाईं स्वयंमाथि नै कारबाहीका लागि हामिले कार्यसमितिमा प्रस्ताव किन नलाने ?’ रिजाले सोधेका छन् । उनले महासचिव उप्रेतीलाई संस्थाको लेटरहेड दुरुपयोग नगर्न समेत भनेका छन् ।

