क्रेटा ईभीमा भएका ९ फिचर, तान्ला उपभोक्ता ?

काठमाडौं । हुन्डाईले क्रेटा ईभी भारतमा देखाएसँगै नेपाली बजारमा पनि राम्रो चर्चा पाएको छ । नयाँ/नयाँ चिनियाँ ईभी चढिरहेका नेपालीलाई भारतमा बनेको हुन्डाईको ईभीमा ठूलो अपेक्षा रहेको बुझ्न सकिन्छ ।

नेपाली बजारमा मिडसाइज कम्प्याक्ट एसयूभी सेग्मेन्टमा ‘अनबिटन’ रहेको क्रेटा एसयूभी इलेक्ट्रीक पावरट्रेनमा आउँदा अझै मोर्डन र फिचर प्याक हुनेमा कुनै शंका छैन । त्यसैले त नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टले बुकिङ नै नखोल्दा पनि गाडी बुकिङ गर्नेको संख्या ठूलो भइसकेको बुझिन्छ ।

यसै हप्ताको अन्तिममा भारतको नयाँ दिल्लीमा हुने भारत मोबिलीटी शो २०२५ मा लन्च हुने क्रेटा ईभी कति मूल्यमा आउँछ, अझै एकीन भएको छैन । मूल्य बाहिर नआए पनि कम्पनीले थुप्रै टिजर भिडियो मार्फत फिचरहरू देखाइरहेको छ ।

हुन्डाई क्रेटा ईभीमा ४२ र ५१.४ किलोवाट अवारको ब्याट्री प्याक रहनेछ । यसको ३०० किलोमिटर माथि हुने अनुमान गरिएको छ । विश्व बजारमा धेरै अपेक्षा गरिएको हुन्डाई क्रेटा ईभीमा भएका ९ महत्वपूर्ण फिचरहरूका बारेमा हामीले यहाँ चर्चा गरेका छौं ।

१. आई-पेडल ड्राइभिङ

साइलेन्ट पावर ट्रेनका कारण आईस भेहिकलभन्दा ईभीहरू चलाउन एकदमै सजिलो हुन्छ । अझ चालकको सहजताको लागि वान पेडल ड्राइभिङ फिचर भएपछि के चाहियो । हुन्डाईले यसमा आई-पेडल नाम दिएको छ । हुन्डाईले आई-पेडल टेक्नोलोजी आयोनिक-५ मा सफल प्रयोग गरिसकेको छ । आयोनिक-५ मा प्रयोग भएको टेक्नोलोजी अब क्रेटा ईभीमा पनि उपलब्ध हुनेछ ।

आई-पेडलमा एक्सिलेटर थिच्दा मात्रै ईभी गुडाउन सकिन्छ । यसमा एक्सिलेटर थिचेपछि गाडी अगाडि बढ्छ भने, एक्सिलेटर छोड्दा रिजेनेरेटिभ ब्रेकिङको मद्दतले गाडी रोकिन्छ । गाडी रोक्न ब्रेक थिचिरहनु पर्दैन । यो फिचरको प्रयोग सहरी क्षेत्रमा निकै उपयोगी हुन्छ ।

२. बाइ-डाइरेक्सनल चार्जिङ

क्रेटा ईभीमा रहेको भेहिकल टु लोड फङ्सनको सहायताले गाडीलाई मुभएबल जेनेरेटरको रूपमा समेत प्रयोग गर्न सकिन्छ । क्रेटा ईभी फुलचार्ज छ भने घरमा बिजुली गएको बेला गाडीबाट लाइन जोडेर घरभरिको सबै इलेक्ट्रीक डिभाइस चलाउन सकिन्छ । यस्तो सुविधा अहिले बजारमा उपलब्ध धेरै ईभीमा पाउन सकिन्छ ।

३. एक्टीभ एयर फ्ल्याप

हुन्डाईले क्रेटा ईभीको फ्रन्ट बम्परमा एक्टीभ एयर फ्ल्याप दिएको छ । एयर फ्ल्यापले क्रेटा ईभीलाई हाइटेक लुक दिनुको साथै इनर्जी इफिसियन्सी बढाउ मद्दत गर्छ । गाडीमा दिइएको फ्ल्याप ब्याट्री प्याक र अन्य कम्पोनेन्टहरू कुलिङ गर्नु पर्दा मात्र खुल्छ ।

४. लेबल २ एडास

क्रेटा ईभीमा लेबल-२ एड्भान्स ड्राइभर असिस्ट सिस्टम रहेको छ । यसले गाडीको आसपास आउने सम्भावित दुर्घटनाका वस्तु पहिचान गर्दै चालकलाई सूचित गर्छ । एडासले आवश्यक पर्दा आफै ब्रेक लगाएर सम्भावित दुर्घटनाबाट बचाउँछ । यो फिचर पनि सबै किसिमका ईभीमा उपलब्ध हुन थालेका छन् ।

५. कोलुम माउण्टेड सिफ्ट वाइ वायर

भारतमा बनेका ईभीहरूमा गियर सेलेक्टको लागि सेन्टर कन्सोलमा रोटरी डायल वा गियर नब दिएका हुन्छ । तर, क्रेटा ईभीमा भने चालकको सहजताका लागि स्टेरिङ कोलुम मै ‘सिफ्ट वाइ वायर सिस्टम’को गियर लिभर दिएको छ । गियर लिभर मै पार्किङ ब्रेक समेत भएकाले क्रेटा ईभीलाई पार्क गर्न समेत एकदमै सजिलो हुन्छ । गियर सेलेक्टर स्टेरिङ कोलुममा दिएकाले सेन्टर कन्सोलमा धेरै स्टोरेज स्पेस पाउन सकिन्छ ।

६. ड्यूलजोन अटोमेटिक एसी

हुन्डाईले क्रेटा ईभीको फ्रन्टमा बस्ने दुवै चालक र प्यासेन्जरको लागि छुट्टा छुट्टै एयर कण्डिसन दिएको छ । ड्यूल जोन क्लाइमेट कन्ट्रोलको सहायताले कसैलाई धेरै चिसो चाहिने र कसैलाई नचाहिने समस्या छ भने सजिलो बनाउने छ ।

७. भेन्टिलेटेड सिट

अहिलेको मोर्डन भेहिकलहरूमा हुने अनिवार्य फिचरको रूपमा भेन्टिलेटेड सिट भएको छ । भेन्टिलेटेड सिटको सहायताले विशेषतः गर्मीको समयमा सिटमा बसिरहँदा आउने पसिनाबाट मुक्त हुन सकिन्छ । अगाडिको दुवै सिटमा यो फङ्सन दिएकाले क्रेटा ईभीमा पसिना पसिना भएर यात्रा गर्नु पर्दैन ।

८. बोसको प्रिमियम अडियो सिस्टम

इलेक्ट्रीक भेहिकल फिचर लोडेड हुन्छ । साथै, मोर्डन ईभीमा म्युजिक सिस्टममा पनि विशेष ध्यान दिएको पाइन्छ । हुन्डाईले इण्डिया मेड क्रेटा ईभीमा अमेरिकी कम्पनी बोसको ८ वटा स्पीकर सहितको प्रिमियम साउण्ड सिस्टम दिएको छ । यसले क्रेटा ईभीमा म्युजिकको उत्कृष्ट एक्सपिरियन्स गराउनेछ ।

९. फ्रङ्क स्टोरेज

इलेक्ट्रीक भेहिकलमा आइसीमा जस्तो अगाडि बनोटको तल इन्जिन नहुने भएकोले अगाडि पनि स्पेश हुने गर्छ । क्रेटा ईभीले अगाडि बनोटको तल सामान राख्नको लागि २२ लिटरको स्टोरेज स्पेश दिएको छ । यो स्टोरेजमा ईभीको चार्जिङ केबल टायर रिपियर किट जस्ता साना सामान राख्न सकिन्छ ।


Back_to_top