काठमाडौं । माघ १ गते बिहानै भारतको चेन्नई यात्राका लागि १ दर्जन बढी पत्रकार र कन्टेन्ट क्रिएटरहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जम्मा भए । काठमाडौंमा बिहान ७ बजे जम्मा भएको टीम बेलुका ६ बजे चेन्नई पुग्नु थियो ।
एयरपोर्टमा जम्मा भएका सबैजना नेपालमा सर्वाधिक सफल पेट्रोल एसयूभी क्रेटाको इलेक्ट्रीक भर्सन चलाउन आतुर थिए । तर, त्यही दिन क्रेटा ईभी चलाउनको लागि उपलब्ध थिएन ।
भद्रपुर हुँदै भारतको बागडोरा र त्यहाँबाट चेन्नई पुगेको टीमले बेलुका ७ः३० बजे क्रेटाको डिटेल प्रेजेन्टेशन पाएको थियो । माघ २ गते बिहानै टेस्ट ड्राइभ आयोजना गरिएको थियो । चेन्नईको ताज फिसर म्यान केभ होटलबाट सुरू भएको टेस्ट ड्राइभ पुदुचेरीमा गएर सम्पन्न भएको थियो ।
भारतको समुन्द्रको किनारै किनार तयार भएको चेन्नई-पुदुचेरी हाइवेमा ११८ किलोमिटर गाडी चलाएपछि हामीले सबै सहभागीलाई क्रेटा ईभीको विषयमा छोटो प्रश्न गरेका थियौं । उनीहरूको उत्तर जस्ताको तस्तै यहाँ प्रस्तुत गरेका छौं ।
पत्रकार पुष्प दुलाललाई हाम्रो प्रश्न थियो, क्रेटामा तपाईंंलाई सबैभन्दा राम्रो के लाग्यो ? उनले सबैराम्रो लागेको बताउँदै भने, ‘इन्डिकेटर बालेपछि स्क्रीनमा आफ्नो गाडी जानेतर्फको भिडियो आउने रहेछ । ३६० डिग्री क्यामराको प्रयोग मलाइ रमाइलो लाग्यो । मैले आफ्नो दैनिक यात्रामा क्रेटा पेट्रोल चढ्छु, त्यसैले पनि मलाइ यो फिचरले तान्यो ।’
अर्का पत्रकार प्रकाश ढुङ्गानालाई हाम्रो प्रश्न थियो, तपाईंलाई मन नपरेको विषय चाहिँ के थियो ? त्यसमा लामो हाँसो हाँस्दै उनले भने, ‘सनरुफ खोल्दा गाडी भित्र धेरै हावा आयो ।’
गाडीको कन्टेन्ट क्रियटर सितल घिमिरेलाई सोध्यौं, यो चाहिँ थप राम्रो गर्दिएको भए हुन्थ्यो भन्ने लागेको कुरा के देख्नु भयो ? उनको उत्तर थियो, ‘एसी कन्ट्रोल ग्लसी फिनिसिङमा छ । टचको सट्टा बटमहरू दिएको भए थप राम्रो हुन्थ्यो ।’

अर्का कन्टेन्ट क्रियटर बिक्रम केसीलाई हामीले सोध्यौं, ब्याट्री अनुसारको रेन्ज कस्तो छ ? उनी भन्छन्, ‘मैले चलाएको टप भेरियन्ट क्रेटाले भारतको रोड कन्डिसनमा ३९० किलोमिटर रेन्ज दिने देखियो । नेपालको सडकमा ३४० देखि ३५० किलोमिटर रेन्ज दिने अपेक्षा गर्न सकिन्छ ।’
विद्युतीय गाडी चढ्नेहरूले साझा रूपमा प्रयोग गर्दै आएको इलेक्ट्रीक भेहिकल ग्रुपका सहसंस्थापक कुशल राजभण्डारीलाई हामीले सोध्यौं सुधार गर्नु पर्ने कुरा के-के देख्नुभयो ? उनले भने, ‘ड्युल जोन एसी आउनु मैले बलियो देखेँ । गियर सेलेक्टर स्टेरिङ कोलुममै भएको कारण झुक्किन्छ कि जस्तो लाग्यो । सायद मलाइ बानी नपरेर पनि हुन सक्छ । ड्राइभ मोड सेलेक्टर पनि गियरसँगै दिएको भए थप सहज हुन्थ्यो कि ।’
फिचरको हिसाबले तपाईंलाई क्रेटा ईभी कस्तो लाग्यो भन्ने प्रश्न पत्रकार शुक्र गिरिलाई सोध्दा उनले भने, ‘एक्सलरेसन उत्कृष्ट छ । छोटो समयमै १०० किलोमिटर प्रतिघण्टाको स्पीड भेट्टाउन सकियो । पछाडि बसेर पनि अफिसको जस्तो काम गर्न दिइएको फिचर थप उत्कृष्ट लाग्यो ।’

यसमा उपलब्ध टेक फिचर कस्तो लाग्यो भन्ने प्रश्नमा पत्रकार गोपाल साउद भन्छन्, ‘सबै फिचर छोटो समयमा एक्स्प्लोर गर्न सकिन । थ्री ३६० डिग्री क्यामेरा र भ्वाइस कमाण्ड राम्रो छ । गाडीको कन्ट्रोल पनि उत्कृष्ट छ ।’
पत्रकार स्वर्णीम प्रसाईंलाई मोटर पावरको बारेमा सोध्दा उनले भने, ‘कोनाको फिल आउँछ । स्मुद पावर छ । हुन्डाईले पावर टु वेट रेसियो गज्जब बनाएको छ ।’
लग्जरीको हिसाबले क्रेटा ईभीलाई कस्तो पाउनु भयो भन्ने हाम्रो प्रश्नमा कन्टेन्ट क्रियटर निशान्त पाण्डे भन्छन्, ‘सिटमा दिएको ८ वे एड्जस्ट, भेन्टिलेटेड सिट र प्रशस्त स्पेसले लग्जरीयस बनाउँछ ।’
गाडी कत्तिको युजर फ्रेन्डली छ भन्ने प्रश्नमा पत्रकार शिव बोहोरा भन्छन्, ‘धेरै कुरा बटम सहित भएको कारण प्रयोग गर्न सहज लाग्यो । ड्राइभ मोड सेलेक्टर पनि युजर फ्रेन्डली लाग्यो ।’
एउटा यात्रुको रूपमा यो गाडीलाई कसरी हेर्नुहुन्छ भन्ने प्रश्नमा पत्रकार वसन्त अर्याल भन्छन्, ‘बस्न सजिलो छ । भेन्टिलेटेड सिटले गाडीमा बस्दा पसिना आउने समस्या पनि नहुने । आफ्नो साइडको तापक्रम पनि मिलाउन मिल्ने भएको कारण सहज छ ।’

