डिलर र सर्भिस नेटवर्कमा आक्रमक बन्दै एमजी

काठमाडौं । मोरिस ग्यारेज (एमजी) को आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले डिलर नेटवर्क विस्तार तिब्र गतिमा गरिरहेको छ । कम्पनीले नेटवर्क बिस्तारलाई तिब्रता दिने क्रममा उपत्यकामा मात्रै ४ स्थानमा आफैँ शोरुम निर्माण गरेको हो ।

उपत्यकाको नक्शाल, थापाथली, लाविम महल र भक्तपुरमा आफैँ नेटवर्क बिस्तार गरेको हो । कम्पनीले डिलर मार्फत कलंकी र तीनकुनेमा पनि शोरुम सचालन गरिरहेको छ । साथै, बनेपमा पनि डिलर मार्फत नै शोरुम संचालनमा छ ।

उपत्यका बाहिर झापा जिल्लाको दमक र विर्तामोडमा पनि शोरुम संचालनमा छ । सुनसरीको इटहरी, मोरङको विराटनगर, धनुषको जनकपुर र मकवानपुरको हेटौडामा पनि शोरुम उपलब्ध छ ।

त्यसैगरी पर्साको बिरगंज, चितवनको भरतपुर, रुपन्देहीको बुटवल र भैरहवा, दाङ, बाँकेको नेपालगंज र कैलालीको धनगढीमा बिक्री केन्द्रहरु संचालनमा छन् ।

यी नेटवर्क मध्ये १५ वटा डिलर नियुक्त गरेर शोरुम निर्माण गरेको हो भने, ४ स्थानमा आफ्नै शोरुम बनाएको हो ।

कति छन् सर्भिस सेन्टर ?

एमजीले १९ स्थानमा बिक्री केन्द्र संचालन गरिरहँदा १३ स्थानमा सर्भिस सेन्टर चलाइरहेको छ । उपत्यकाको लागि एकान्तकुनामा सुविधा सम्पन्न सर्भिस सेन्टर चलिरहेको छ । उपत्यका बाहिर जनकपुर, चितवन, दाङ, विर्तामोड, दमक, धनगढी जस्ता पुराना डिलर नेटवर्कमा सर्भिस सेन्टर उपलब्ध छ ।

अहिले इटहरी र हेटौंडामा सर्भिस सेन्टर छैन भने नेपालगंजमा निर्माणको प्रक्रियामा रहेको पारामाउन्ट मोटर्सले जनाएको छ ।

कम्पनीले सर्भिस सेन्टरसँगै डिसी फास्ट चार्जर पनि तिब्र गतिमा लगाइरहेको छ । कम्पनीले हालसम्म देशभर २१ स्थानमा फास्ट चार्जर लगाएको हो ।


Back_to_top