‘दीपल एस-०७’ लिडर रहेको सेग्मेन्टमा भिड्दै तीन एसयूभी

काठमाडौं । नेपाली अटोमोबाइल बजारमा इलेक्ट्रीक कारमा प्रिमियम क्रसओभर सेग्मेन्ट तीव्र गतिमा विस्तार भइरहेको छ । यो सेग्मेन्टलाई स्थापित गर्न दीपलको भूमिका महत्वपूर्ण मानिन्छ ।

दीपल एस-०७ ठूलो साइजको फिचर प्याक प्रिमियम क्रसओभर मोडल भएपनि ९९ किलोवाट क्षमताको मोटरमा आएका कारण मूल्य भने आकर्षक रह्यो । दीपल एस-०७ नेपालमा बिक्री सुरू भएको १५ महिनामा करिब १ हजार युनिट नेपाल आइसकेको छ ।

दीपलले खोजेको नयाँ सेग्मेन्टमा प्रतिस्पर्धा गर्न दुई चिनियाँ ब्राण्डले आफ्ना मोडल बजारमा उतार्दैछन् । यो सेग्मेन्टमा प्रतिस्पर्धा गर्न एसएआइसी ग्रुपको आइएम-सिक्स क्रसओभर मोडल र बीवाइडी सिलायल-सेभेन नेपाल प्रवेश गरेका छन् ।

एमजी मोटर्स अन्तर्गत बिक्री हुने आइएम-सिक्स १० युनिट नेपाली सडकमा गुड्न थालिसकेको छ । बीवाइडीले भने सिलायनको ब्लाइन्ड बुकिङ खुला गरेको छ । यी दुई एसयूभीले दीपल एस-०७ सँग के के कुरामा प्रतिस्पर्धा गर्न सक्छन् भन्ने विषयमा हामीले यहाँ चर्चा गरेका छौं ।

साइजमा प्रतिस्पर्धा

दीपल एस-०७ को लम्बाइ ४७५० एमएम, चौडाइ १९३० एमएम, उचाइ १६२५ एमएम र ह्वीलबेस २९०० एमएम लामो ह्वीलबेस छ ।

बीवाइडी सिलायन-सेभेनको लम्बाइ ४८३० एमएम, चौडाइ १९२५ एमएम, उचाइ १६२० एमएम र ह्वीलबेस २९३० एमएम लामो छ ।

त्यसैगरी, आइएम-सिक्सको लम्बाइ ४९०४ एमएम, चौडाइ १९८८ एमएम, उचाइ १६६९ एमएम र ह्वीलबेस २९५० एमएम लामो छ । यी तीन क्रसओभर मोडलमा साइजको आधारमा आइएम-सिक्स सबै कुरामा ठूलो छ ।

यी तीनवटै मोडलमा समान २० इन्चको ह्वील दिइएको छ ।

टेक फिचर

अत्याधुनिक फिचर प्याक क्रसओभर एसयूभीमा लेटेस्ट टेक्नोलोजीको भरपुर प्रयोग गरिएको छ । दीपल एस-०७ मा एआर न्याभिगेसन सहितको १२.३ इन्चको एचयूडी डिस्प्ले, १५.६ इन्चको सनफ्लाओर टचस्क्रीन, सोनीको १४ स्पीकर सहितको म्युुजिक सिस्टम पाउन सकिन्छ ।

दीपलले यसमा ड्राइभर हेडरेस्ट स्पीकर, वायरलेस एप्पल कार प्ले, मल्टिकलर डायनामिक एम्बियन्ट लाइट, गेस्चर रिकग्नेसन, इनकार मोनिटर क्यामरा, ४० वाटको वायरलेस चार्जर, स्मार्ट की, भोइस कन्ट्रोल जस्ता फिचर दिएको छ ।

आइएम-सिक्समा ‘एडी नाम’को स्मार्ट ड्राइभिङ असिस्ट दिइएको छ । यसको प्रयोगले कारलाई चालकको भन्दा ६.७ गुणा बढी सुरक्षा दिने कम्पनीको दावी छ । एसएआइसी ग्रुपले क्रसओभर एसयूभीमा हाइप्रिकसन लाइडार, एनभिडियाको ड्राइभ अर्गेन चीप, क्वालकमको स्न्यापड्रागन एसए ८२९५ पी प्लेटफर्म सहितको ककपिट दिएको छ ।

कम्पनीले यसमा पार्किङ सेन्सर मात्रै ३०० वटा प्रयोग गरेको दाबी गर्छ । ड्यासबोर्डमा ‘लेफ्ट टु राइट ड्यूल स्क्रीन सेटअप’ र अर्को सेन्टर स्क्रीन समेत दिएको छ ।

बीवाइडी सिलायन-सेभेनमा १५.६ इन्चको रोटरी सेन्टर टचस्क्रीन, १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १२ वटा स्पीकर सहितको इनकार अडियो सिस्टम, भेहिकल टु लोड फङ्सन, फ्रन्ट एण्ड रियर पार्किङ सेन्सर, सेल टु बडी टेक्नोलोजी, एडास फिचर, डबल बिसवोन मल्टिलिङ्क सस्पेन्सन दिएको छ ।

ब्याट्री साइज र मोटर

दीपल एस-०७ मा ६६.८ किलोवाट आवरको एनएमसी ब्याट्री प्याक छ । केही दिनमै ६८ किलोवाट आवरको एलएफपी ब्याट्रीमा पनि एस-०७ उपलब्ध हुनेछ । यसको सिंगल चार्ज रेन्ज ४१० किलोमिटर हाराहारी हुनेछ । यसमा १३४ पीएस पावर दिने ९९ किलोवाटको रियर ह्वील ड्राइभ मोटर छ ।

त्यस्तै, बीवाइडी सिलायन-सेभेनमा ८२.५६ किलोवाट आवरको ब्याट्री छ । उक्त ब्याट्रीले ४८२ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसलाई कम्पनीले १०० किलोवाटको मोटरमा ल्याउने भएको हो ।

आइएम-सिक्समा ७५ किलोवाट आवरको टर्नरी लिथियम ब्याट्री छ । यसले ४५० किलोमिटरको डब्लूएलटीपी रेन्ज दिन्छ । अहिले नेपाल आएको भेरियन्टमा २१६ किलोवाटको मोटर छ । सम्भवतः १०९ किलोवाटको क्षमताको मोटरमा आइएम-सिक्स नेपाल आउने छ ।


Back_to_top