नाडा अटो शोमा डिजेल एसयूभी खोज्दै हुनुहुन्छ ? यी हुन् ५ उत्कृष्ट विकल्प

काठमाडौं । यस पटकको नाडा अटो शोमा धेरैवटा नयाँ इलेक्ट्रिक गाडीहरु शोकेस भएपनि पावर र रेन्जको हिसावले नेपालको बाटाहरुमा डिजेल गाडी अझैपनि उत्कृष्ट मानिन्छन् । डिजल गाडीहरु निकैनै बलिया हुने र कच्चीबाटामा गुडाउन तथा लामो यात्राको लागि उपयुक्त मानिन्छ ।

नेपालमा पेट्रोलभन्दा डिजलको मूल्य कम भएकोले दैनिक संचालन खर्चपनि डिजेल गाडीमा कम आउँछ । तर, पेट्रोल इन्जिनभन्दा डिजल इन्जिनको तौल बढी हुने भएकोले यसको आवाज भने केहि धेरै आउने गर्छ । 

यस पटकको नाडा अटो शोमा हामीले देखेका उत्कृष्ट डिजल एसयूभीको बारेमा यहाँ चर्चा गरिएको छ । 

जीप कम्पास 

नेपाली बजारमा निकै प्रतिक्षा गरिएको अमेरिकन ब्राण्ड जीपको स्टलमा जीप हेर्नेको भिड लागिरहेको छ । नाडा अटो शोमा आधिकारीक रुपमा सार्वजनिक गरिएको जीप कम्पासमा २.० लिटरको मल्टीजेड टर्बो डिजल इन्जिन लागेको छ । यसलाई कम्पनीले डिजेलमा ७ भेरिएन्ट उपलब्ध गराएको छ । सिक्स स्पीड म्यानुअल ट्रासमिसनमा उपलब्ध रहेको जीप डिजेलको लिमिटेड भेरिएन्ट ४ बाई ४ को ड्राईभिङ अफ्सनमा समेत उपलब्ध रहेको छ । कम्पनीका अनुशार यसको माइलेज १६ किलोमिटर प्रति लिटर हुने छ । 

जीपमा सुरक्षाकाको लागि सिक्स एयरव्याग, एबीएस, इएसपी, ट्रयाक्सन कन्ट्रोल, हिलहोल्ड, ‘स्नो, स्यान्ड, मड र अटोमेटिक मोड’सहितको फोर ह्विल ड्राइभ सिस्टमजस्ता फिचरको लामो सूची छ, जसले ग्राहकलाई आर्कषित गर्ने छ । कम्पासमा लेदर सिट, एन्ड्रोइड अटो र एप्पल कारप्ले भएको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र पावरफुल स्पिकर सिस्टमसमेत दिइएको छ । 

जीप कम्पास डिजेलको मुल्य स्पोर्ट भेरिएन्टको सवभन्दा कम ७४ लाख ९० हजार तथा लिमिटेड अफ्सनल भेरिएन्टको मुल्य सबभन्दा धेरै ९६ लाख ५० हजार रहेको छ । नेपालका लागि जीपको आधिकारीक बितरक लाईफ अटोमोवाईलले जारि गरेको जीपको मूल्य फिक्सड प्राइस भनेको छ । 

मारुती सुजुकी भिटारा ब्रेजा 

नेपाली बजारमा धेरै गुड्ने एसयूभी मध्यको एक मारुती सुजुकी भिटारा ब्रेजा सर्वाधिक बिक्री हुने डिजेल एसयूभी हो । यो कम्प्याक्ट एसयूभी सुजुकीको पुरानो ग्रान्ड भिटाराजस्तै देखिन्छ । 

यो गाडी पहिलो पटक भारतमा २०१६ को अटो एक्स्पोमा सार्वजनिक गरिएको थियो । हालसम्म करिब ३ लाख ३० हजार यूनिट भारतीय बजारमा बिक्री भइसकेको यो कार नेपाली बजारमा समेत निकै चर्चित मध्यमा पर्छ । सानो तर, पावरफुल इन्जिनयुक्त कम्प्याक्ट एसयूभी खोज्नेहरुको लागि निकै उपयोगी रहेको छ । 

यो कारमा १.३ लिटर डिजेल इन्जिन, ८९ बीएचपीको पावर र २०० एनएम टर्क, ५ स्पीड म्यानूअल गेयरबक्स यसमा प्रयोग भएको इन्जिनको क्षमता हो । यसको मार्इलेज कम्प्याक्ट एसयूभी सेगमेन्टमै सबैभन्दा बढी प्रतिलिटर २४.३ किलोमिटर रहेको कम्पनीले दाबी गरेको छ । 

यो गाडी नेपाली बजारमा तिन भरियन्टमा उपलब्ध छ ।  भिटारा ब्रेजा भीडीआई (ओ)को मूल्य ३७ लाख ४९ हजार, भिटारा ब्रेजा जेडडिआर्इ प्लसको  ४१ लाख ९९ हजार र भिटारा ब्रेजा जेडडिआइ डूअल टोनको मूल्य ४२ लाख २९ हजार रुपैया रहेको छ । 

मारुती सुजुकी नेपाली बजारमा सिजी मोटो कर्पले बिक्री वितरण गर्दै आएको छ । नाडा अटो शोमा पनि यस प्रति चासो देखाउनेहरु धेरै रहेका छन् । 

महिन्द्रा एक्सयुभी ५०० 

हालै मात्र महिन्द्राले नेपाली बजारमा सार्वजनीक गरेको महिन्द्रा एक्सयुभी ५०० यस वर्षको नाडा अटो शोमा सोकेस गरिएको छ । यसमा पहिलाको एक्सयुभी ५०० भन्दा फरक सिक्स जनरेसन इलेक्ट्रोनिकल्ली कन्ट्रोल भेरायवल टर्बोचार्ज्ड ४ सिलिन्डरको एमहक १५५ डिजल इन्जिनको प्रयोग गरिएको छ । जसले १५५ बीएचपी पावर र ३६० एनएम टर्क उत्पादन गर्छ । जुन पुरानो भन्दा १५ बीएचपी पावर तथा ३० एनएम टर्क बढी हो । यसमा सिक्स स्पिडको म्यानुअल तथा अटोमेटिक ट्रासमिसन रहेको छ । यस एक्सयूभीले प्रतिलिटर १६ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । 

एक्सयुभी ५०० डब्लू११ (ओ) मा १८ इन्चको डाइमन्ड कट एलोय ह्वील रहेको छ । जसका कारण उपभोक्ताले यो कार मन पराएको डिलरहरुले जनाएका छन् । हाइ इन्ड मोडलमा इलेक्ट्रीक सनरुफ, इलेक्ट्रीकल्ली एडजस्टेवल ड्राइभिङ सिट, नयाँ टच स्क्रिन लगायत विशेषता समावेश छन् । 

 यसको बम्परको बीचमा ठूलो एयरड्याम र क्रोमसहित दुई साइडमा टियर डक सेपको फगलाईट राखिएको छ । टप भेरिएन्टमा १८ इन्चको डाइमण्डकट एलोय ह्वील दिइएको छ । कम्पनीले यसको टेलल्याम्पमा पनि निकै परिवर्तन गरेको छ । पहिलाको एक्सयुभीमा भर्टिकल टेलल्याम्प रहेको थियो भने, यसमा बक्स टाईप टेलल्याम्प दिइएको छ । यसको बम्पर र रुफ स्पोइलरमा पनि परिवर्तन गरिएको छ । 

नेपाली बजारमा नयाँ भर्सनको ‘एक्सयुभी ५००’ को मूल्य ६१ लाख ८० हजारदेखि ९० लाखसम्म रहेको कम्पनीले जनाएको छ । 

टाटा नेक्सन

नेपाली बजारमा नेक्सन टाटा मेटर्सको पेसेन्जर कार सेगमेन्टमा गेमजेञ्जर भएर आएको छ । सिप्रदी ट्रेडिङले २०१८ को सुरुवातसँगै नेपाली बजारमा ल्याएको नेक्सनमा अहिले निकै अकर्षण रहेको छ । 

अधुनिक सविधाहरूले भरिपूर्ण यो कम्प्याक्ट एसयूभी नेपाली बजारमा निकै रूचार्इएको छ । यो गाडिमा १.५ लिटरको ४ सिलिण्डर डिजेल इन्जिन रहको छ, जसले ११० बीएचपीको पावर र २६० एनएम टर्क उत्पादन गर्छ । यसमा  ६ स्पीड अटोमेटिक र म्यानूअल गियरबक्स रहेको छ । नेक्सन डिजलले प्रतिलिटर १७ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । 

यो कम्प्याक एसयुभी नेपाली बजारमा डिजेल भसर्नमा ३ भेरियन्टमा उपलब्ध रहेको छ । भेरिएन्ट एक्सईको मूल्य ४२ लाख ८५ हजार, एक्सजेड प्लसको मूल्य ४५ लाख ९० हजार र  एक्सजेड प्लस डूअलटोन भसर्नको मूल्य ४६ लाख ८५ हजार रहेको छ । साथै, कलभेरिएन्टमा भर्मोन्ट रेड, मोरोक्कान ब्लू, सिटल सिल्भर, ग्लासगो ग्रे र कलरगरी ह्वाइटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

फोर्ड ईकोस्पोर्ट

फोर्डको ईकोस्पोर्ट कम्प्याक एसयुभी सेगमेन्टमा परिचीत नाम हो । ईकोस्पोर्ट भारतमा निर्माण भएको पहिलो सव–फोर मिटर एसयूभी हो । 

यो गाडिमा १.५ लिटर डिजेल इन्जिन दिइएको छ जसले, ११० बीएचपीको पावर र २६० एनएम टर्क उत्पादन गर्छ । ६ स्पीड अटोमटिक र म्यानूअल गेयरबक्स रहेको छ । फोर्ड ईकोस्पोर्ट  डिजलले प्रतिलिटर १७ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । 

नेपालका लागि फोर्डको आधिकारिक बिक्रेता जीओ फोर्डले ५ भेरीएन्टमा ईकोस्पोर्टको डिजेल भसर्न उपलब्ध गराएको छ जस्मा एम्बिएन्ट एमटिको बजार मूल्य ३९ लाख ४० हजार, ट्रेन्ड एमटिको मूल्य ४२ लाख ९० हजार, ट्रेन्ड प्लसको मूल्य ४४ लाख ४० हजार, टाइटानिएम एमटीको मूल्य ४७ लाख ९० हजार, टाइटानिएम प्लसको ५० लाख ९० हजार रुपैयाँ तोकेको छ ।


Back_to_top