१० लाख मूल्य फरक भएको ‘एटो-३’मा छैन तीन फिचर

काठमाडौं । बजेट लगत्तै विद्युतीय गाडीको मूल्य बढ्ने चर्चा चुलिएको थियो । सदनदेखि सडकसम्म बजेटले बढाएको करले चर्चा पाएको थियो । सरकारले ५० किलोवाटदेखि १०० किलोवाट मोटर क्षमताको कारमा लाग्ने कर बढाएसँगै आयातकर्ताहरु नयाँ मूल्यको तयारीमा जुटेका थिए ।

पछिल्लो पटक नेपाल आएर खुब चर्चा कमाएको बीवाइडी एटो-३ को मूल्य बढेर ७२ देखि ७५ लाखसम्म पुग्छ भन्ने अनुमान लगाउनेलाई माथ दिदै साइमेक्स इंकले रेगुलर बिक्री गर्दै आएको भेरियन्टमा ९८ हजार रुपैयाँ मूल्य बढायो । यसको मूल्य एक लाखभन्दा कम बढेको कारण यसको चर्चा खासै भएन ।

तर, साइमेक्स इंकले ५० किलोवाट आवर क्षमताको ब्याट्री भएको एटो-३ पनि बजारमा ल्याउने घोषणा गर्दै मूल्य सार्वजनिक गरेपछि भने धेरैले यसलाई थप चासो दिएर सोधीखोजी गरिरहेका छन् । कम्पनीले रेगुलर एटो-३ को तुलनामा ९ लाख ८९ हजार मूल्य कम राखेर ‘एटो-३ एड्भान्स’ नामबाट बुकिङ खुल्ला गरेको हो । यसअघि बिक्री गर्दै आएको ६० किलोवाट आवर क्षमताको ब्याट्री भएको मोडललाई ‘एटो-३ सुपेरियर’ नाम दिइएको छ ।

मूल्यमा झण्डै १० लाख रुपैयाँ फरक भएपछि यसमा थुप्रै फिचर हटाइएको हुन सक्छ भन्नेहरु पनि छन् । त्यसैले हामीले यसमा हटाइएका तीन फिचरको बारेमा जानकारी दिन खोजेका हौं ।

छैनन् तीन फिचर

वायरलेस चार्जरः एटो-३ को सुपेरियर भेरियन्टमा बायरलेस चार्जर दिइएको छ । यसले सहजै मोबाइल फोन चार्ज गर्न सकिन्छ । तर, यस्ता चार्जरमा निकै महंगा फोन मात्रै सपोर्ट गर्ने भएको कारण धेरैले यो फिचरको फाइदा उठाउन पाउँदैनन् । सुपेरियरमा भएको वायरलेस चार्जर नयाँ आएको एड्भान्स भेरियन्टमा छैन ।

अटोमेटीक वान टच टेलगेटः सुपेरियरमा एउटा वटमलाई एक पटक थिच्दा अटोमेटीक टेलगेट (डिक्की) बन्द गर्न सकिन्छ । तर, एड्भान्समा भने त्यो सुविधा उपलब्ध छैन ।

पीएम २.५ एयर फिल्टरः बाहिरको हावालाई सिस्टमबाटै प्यूरिफाई गरेर भित्र ल्याउने पीएम २.५ फिचर पनि एड्भान्स भेरियन्टमा दिइएको छैन । जुन सुपेरियर भेरियन्टमा भने पाउन सकिन्छ ।

फरक छन् ६ कुरा

नभएका तीन फिचरपछि अन्य मुख्य ६ कुरा एड्भान्स भेरियन्टमा फरक पाउन सकिन्छ । यसमा ५० किलोवाट आवरको ब्याट्री छ । यसले सिंगल चार्जमा ३४५ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । जबकी सुपेरियर भेरियन्टमा ६० किलोवाट आवरको ब्याट्री र ४२० किमि रेन्ज पाउन सकिन्छ ।

कम मूल्यको एड्भान्स भेरियन्टमा १७ इन्चको ह्वील दिइएको छ । जुन सुपेरियरमा भएको भन्दा १ इन्च सानो हो । एड्भान्समा ६ वटा स्पीकार पाउन सकिन्छ । तर, सुपेरियरमा भने एचडी साउन्ड सहितको ८ स्पीकर रहेको छ ।

सुपेरियरमा मल्टी कलर एम्बीयन्ट लाइट छ भने नयाँ एड्भान्स भेरियन्टमा सिंगल कलर लाइट पाउन सकिन्छ । ब्याट्री साइज अनुसार ८० किलोवाट क्षमताको डिसी चार्जर सुपेरियरले सपोर्ट गर्छ भने नयाँ एड्भान्स भेरियन्टले ७० किलोवाट क्षमताको डिसी चार्जर सपोर्ट गर्छ ।


Back_to_top