बीवाइडी र एमजीको नयाँ मूल्यपछि ग्राहक र सरकार दुबै खुसी

काठमाडौं । ५० किलोवाट आवरको ब्याट्रीमा एटो-थ्री नेपाल आउने भएसँगै इलेक्ट्रीक कम्प्याक्ट एसयूभी सेग्मेन्टमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । यो सेग्मेन्टमा एमजी जेडएस ईभी र बीवाइडी एटो-थ्रीसँगै प्रतिस्पर्धा गर्न चेरी आमोडा र सेरेस ई-थ्री जस्ता मोडल बजारमा आउने भएका छन् ।

अहिले बजारमा हटकेक रहेका जेडएस ईभी र एटो-थ्रीको प्रतिस्पर्धा थप रोचक बजेटले बनाएको छ । सरकारले ५० देखि १०० किलोवाट क्षमताको मोटर भएका गाडीमा ५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क बढाउँदा एउटै गाडीमा ६ देखि १० लाख रुपैयाँ मूल्य बढ्ने हल्लाको बीच दुबै कम्पनीले एक लाखभन्दा कम मूल्य बढाएर सबै पण्डितहरुलाई फेल गरिदिएका छन् ।

यी दुई कम्पनीले निकालेको नयाँ मूल्यले ग्राहकलाई खुसी दिएको छ भने सरकारले पनि धेरै गाली खाएको छैन । सरकारले कुल आयात हुने ईभी कारबाट थप १५ प्रतिशतभन्दा बढी राजश्व पाउने छ । राजश्व बढेपनि ईभीको मूल्य नबढ्नु भनेको गाडीको आयात मूल्य नै कम हुनु हो । यसले केही भएपनि डलर बचत पनि हुने देखिन्छ ।

खुल्ला बजार अर्थतन्त्रको सुन्दर पक्ष यस पटक ईभीको मूल्य निर्धारणमा देख्न पाइयो । दुई चिनियाँ उत्पादकले नेपालको ईभी बजारको सम्भावना र आफ्ना उत्पादनको मागलाई मध्यनजर गर्दै गाडीको मूल्य बढ्न दिएनन् । यी दुई ब्राण्डले ईभीको मूल्य नचलाएसँगै कोरियन ब्राण्ड हुन्डाई र किया तथा भारतीय ब्राण्ड टाटा पनि थप दबाबामा आएका छन् । केही दिनपछि नै नेपालमा इलेक्ट्रीक एसयूभी ल्याउन लागेको महिन्द्राले पनि यो प्रतिस्पर्धाको दवाव महशुस गर्ने नै छ ।

बजेट अघिको ग्याप मेट्दै बीवाइडी

जेठ महिनामा सबैभन्दा धेरै ईभी नेपाल ल्याउने कम्पनीमा एमजी, टाटा, बीवाइडी, नेटा र हुन्डाई थिए । त्यसमध्ये पनि एमजी र बीवाइडीले ल्याएका गाडीको चर्चा बजारमा बढी थियो ।

एमजीले जेडएस ईभीलाई ५२ लाख ४९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री गर्दै आएको थियो भने बीवाइडीले एटो-थ्रीको मूल्य ६४ लाख ९० हजार तोकेर बिक्री गरिरहेको थियो । यी दुई मोडल बीच १२ लाख ४१ हजार रुपैयाँको मूल्य अन्तर थियो । अहिले बीवाइडीले ५० किलोवाट आवरको ब्याट्रीमा एटो-थ्री ल्याउन घोषणा गर्दै बुकिङ खुल्ला गर्दा मूल्यको फरक केबल ३ लाख रुपैयाँमा झरेको छ ।

एटो थ्री (५० किलोवाट आवर) मोडलको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ छ भने एमजी जेडएसको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ छ ।

अबको प्रतिस्पर्धा

विद्युतीय सेग्मेन्टमा थप एसयूभीहरु नेपाल आउने क्रममा रहेको कारण प्रतिस्पर्धा निकै कडा हुने देखिन्छ । सडकमा गाडीको संख्या वृद्धिसँगै सर्भिस, स्पेयर पार्टस् र चार्जिङ नेटवर्कमा थप लगानी बढाउनु पर्ने चुनौति कम्पनीहरु माथि थपिएको छ ।

सन्तुष्ट ग्राहक तयार पार्दै एकले अर्कालाई सिफारीस गरेर गाडी किन्ने ठाँउसम्म ल्याउन सफल हुने ब्राण्डले भोलिको दिनमा आफुलाई अब्बल प्रमाणित गर्न सक्नेछ । त्यसैले तत्काल कति यूनिट गाडी बिक्री भयो भन्नुभन्दा भोलि आउने चुनौतिसँग लड्न कस्तो किसिमको तयारी भइरहेको छ भनेर सबै ब्राण्डले ध्यान दिनु पर्ने देखिन्छ ।


Back_to_top