काठमाडौं । डोङफेङ मोटर्सले सिंगल चार्जमा १ हजार किलोमिटर रेन्ज दिने ब्याट्री बनाएको दाबी गरेको छ । कम्पनीले अहिले ०.२ गिगावाट आवर ब्याट्री उत्पादन गरेर त्यसको परीक्षण थालिसकेको जनाएको हो ।
डोङफेङका अनुसार कम्पनीले बनाएको नयाँ ब्याट्री सोलिड स्टेट टेक्नोलोजीमा आधारित हो । यसमा ऊर्जा घनत्व ३५० वाट आवर/केजी रहने छ । धेरै डेनसिटी रहने भएको कारण यसको रेन्ज उत्कृष्ट रहने बताइएको हो ।
कम्पनीका अनुसार सन् २०२६ सेप्टेम्बरबाट यसको यसको व्यवसायिक प्रयोग हुनेछ । डोङफेङको नयाँ ब्याट्रीमा टर्नरी क्याथोड, सिलिकन-कार्बन एनोड र अक्साइड पोलिमोर कम्पोजिट ठोस इलेक्ट्रोलाइटको संयोजन रहने छ ।
डोङफेङका अनुसार यसले माइनस ३० डिग्री चिसोमा पनि ७२ प्रतिशतभन्दा बढी ऊर्जा सुरक्षित राख्नेछ । जुन परम्परागत टर्नरी ब्याट्रीले उक्त चिसोमा ६० प्रतिशत मात्रै ऊर्जा सुरक्षित गर्न सक्छ । चीन सरकारले १३० डिग्री तातोसम्म थग्न सक्ने ब्याट्री उत्पादनमा जोड दिइरहेको छ । डोङफेङको नयाँ ब्याट्रीले १७० डिग्री तातोमा गरिएको परीक्षण पार गरेको कम्पनीको दाबी छ ।
चिनियाँ कार निर्माता डोङफेङले ईभीमा थप आक्रमक लगानी विस्तार गर्ने रणनीति अनुसार म्याक सुपर केभी प्योर इलेक्ट्रीक प्लेटफर्म २०२५ को सुरूवातमै देखाएको थियो । उक्त प्लेटफर्ममा बनेका कारहरूले १२ सी चार्जर सपोर्ट गर्नेछन् ।
नयाँ प्लेटफर्ममा बन्ने कारहरूलाई २.५ किलोमिटर यात्रा गर्न पुग्ने चार्ज केबल १ सेकेण्डमा थपिने छ । त्यस हिसाबले ५ मिनेटमा ४५० किलोमिटर गुड्न पुग्ने चार्ज थप्न सकिनेछ । उक्त प्लेटफर्ममा ३० हजार आरपीएमको उच्च क्षमता भएको मोटर प्रयोग हुनेछ । जसले सिंगल चार्जमा १ हजार किलोमिटर माथि रेन्ज दिनेछ ।

