पिकअपको बजार सन्तोषजनक, लकडाउनपछि कुन कम्पनीले कति ल्याए

काठमाडौं । लकडाउनको बाबजुद पिकअपको आयात निकै उत्साहजनक रहेको देखिन्छ । कोभिड १९ को कारण लकडाउन सुरु हुनु केहि दिनअघि अप्रिल १, २०२० देखि जनवरी १५, २०२१ सम्ममा नेपाल आएका २ हजार ८६ यूनिट पिकअपहरुको तथ्यांकले यसको लोकप्रियतालाई देखाउँछ ।

पिकअप नेपालमा निकै रुचाइएको सवारी साधनमा पर्दै आएको छ । विशेषत ५ जनाले आरामदायी यात्रा गर्न सक्ने र पछाडि धेरै सामान बोकेर हिड्नपनि सकिने भएकाले नै यसको माग उच्च रहँदै आएको हो ।

ठूला परियोजना, ठेकेदार कम्पनी, मझौला तथा ठूल व्यवसायीक फर्महरुले आफ्नो व्यवसायको प्रकृति अनुसार पिकअपहरु खरिद गर्ने गरेका छन् । विशेषत नेपालमा दुई ड्राइभिङ सिस्टम र दुई फरक क्याविन सहित पिकअप आयात हुँदै आएका छन् । यस्तोमा हामीले यहाँ डबल क्याव पिकअपको आयातलाई उल्लेख गरेका छौं ।

नेपालमा टाटा, महिन्द्रा, इसुजु, फोर्ड, टोयोटा, मित्सुविसी, निसान, फोटोन र इसुजुले पिकअप विक्री गर्दै आएका छन् । अप्रिल १, २०२० देखि जनवरी १५, २०२१ सम्ममा टाटाले ४ यूनिट, महिन्द्राले ३६ यूनिट, इसुजुले ७४ यूनिट, फोर्डले ६ यूनिट, फोटोनले ११ यूनिट र डोङफेङले ३ यूनिट टु ह्वील ड्राइभ सिस्टम सहितको डबल क्याव पिकअप नेपाल ल्याएको भन्सारको तथ्यांकले देखाउँछ ।

त्यसैगरि यहि अवधिमा फोर ह्वील ड्राइभ सिस्टमसहितको डबल क्याप पिकअपको आयात भने निकै राम्रो देखिन्छ । यस अवधिमा महिन्द्राले १३०९ यूनिट, टाटाले ३०६ यूनिट, टोयोटाको १६० यूनिट, इसुजुको ११५ यूनिट, मित्सुविसीको १७ यूनिट, निसानको १४ यूनिट र फोटोनको ६ यूनिट फोर वाई फोर डबल क्याव पिकअप आयात भएको छ ।

समग्रमा महिन्द्राको बजार हिस्सा ६५ प्रतिशत हाराहारी रहँदा टाटाको बजार हिस्सा १४ प्रतिशतभन्दा केहि माथि रहेको छ ।


Back_to_top