काठमाडौं । सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरणको अवधि लम्ब्याउने तयारी गरेको छ । सरकारले यातायात व्यवस्था ऐन संशोधन गर्दै लाइसेन्स नवीकरणको अवधि परिमार्जन गर्न लागेको हो ।
यातायात व्यवस्थापन विभागकाअनुसार नयाँ सवारी तथा यातायात ऐन, २०५७ मा लाइसेन्सको नवीकरण अवधि ५ भएकाले त्यसमा ५ वर्ष थप गर्दै १० वर्ष बनाउन लागिएको हो ।
विभागकाअनुसार सरकारले लाइसेन्सको नवीकरण अवधि १० वर्ष पुर्याउन लागेको हो । नयाँ यातायात ऐनमा विभागको प्रस्ताव स्वीकृत भए अब एकपटक लाइसेन्स लिएपछि १० वर्षसम्म नवीकरणका लागि धाउनुपर्ने छैन ।
लाइसेन्स नवीकरणको अवधि ५ वर्ष निकै छोटो समय भएको भन्दै यातायात विभागले लाइसेन्स नविकरणको अवधि लम्ब्याउने प्रस्ताव नयाँ ऐनमा गरिएको विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।
‘सवारी लाइसेन्स नविकरण अवधि छोटो भएकोले यसलाई १० वर्ष बनाउन प्रस्ताव गरेका छौँ,’ उपाध्यायले मेरोअटोसँग भने ।
विगत ३ महिनादेखि नयाँ ऐन बनाउने काममा जुटेको र त्यसको ड्राफ्ट तयार हुने अवस्थामा पुगेको विभागले जनाएको छ ।


