काठमाडौं । प्रायजसो नयाँ कार, मोटरसाइकल तथा स्कुटर चालकको सोचमा आउने कुरा हो, माइलेज । आफ्नो सवारीले कति माइलेज प्रदान गर्छ भन्ने प्रायः सबै चालकले विचार गर्ने गर्छन् ।
कुनै पनि कम्पनीले सवारीसाधनको माइलेज तोक्दा निश्चित मापदण्डमा आधारित रहेर तोकेको हुन्छ । कार उत्पादक कम्पनीले आफूले उत्पादनको गरेको मोडलले दाबी गरेअनुसार भने माइलेज प्रदान गर्दैनन् ।
अधिकांश चालकले अनुभव गरेअनुसार माइलेज कमी हुनुका विभिन्न कारण हुन सक्छन् । सामान्यतया गाडी वा मोटरसाइकलले कति माइलेज प्रदान गर्छ भन्ने पत्ता लगाउन निम्न उपाय अपनाउन सकिन्छ ।
इन्धनको ट्याङ्क फूल गर्ने
कार वा मोटरसाइकलमा फूल ट्याङ्की तेल हालेर पनि माइलेज पत्ता लगाउन सकिन्छ । कतिपय समयमा ट्याङ्कीमा हावा भरिएको हुन्छ । जसले गर्दा ट्याङ्की नभरिएको अवस्थामा पनि भरिएजस्तो देखिन्छ । त्यसैले कट–अफपछि केही समय रोकिएरमात्रै इन्धन राख्दा ट्याङ्की फूल हुनेगर्छ । जसले गर्दा आफ्नो सवारीले कति माइलेज दिन्छ भन्ने थाहा पाउन सकिन्छ ।
एकै गुणस्तरको तेल
प्रायः एकै गुणस्तरको इन्धनको प्रयोग गर्दा कारको माइलेजमा निरन्तरता आउने गर्छ । सम्भव रहेसम्म एकै इन्धन स्टेशन तथा डिस्पेन्सरबाट इन्धन हाल्दा इन्जिनमा कम समस्या आउने गर्छ ।
फरक–फरक इन्धनको प्रयोगले माइलेजमा मात्रै नभई कारको इन्जिनमा समेत समस्या आउन सक्छ ।
ओडो मिटर र ट्रीप मिटर
सही माइलेज पत्ता लगाउनको लागि ओडो मिटर र ट्रीप मिटरमाथि एउटा ट्याव राख्न सकिन्छ । ओडोमिटरले उक्त दिनसम्म कति किलोमिटर गाडी गुडाइयो, त्यसको रेकर्ड राख्ने गर्छ भने ट्रिप मिटरले आफूले कति यात्रा गरियो सो दूरीको रेकर्ड राख्ने गर्छ ।
कतिपय कारमा ट्रीप–ए र ट्रीप–बी नामका दुईवटा ट्रीप मिटर जडान गरिएको हुन्छ । ट्रीप–एले इन्धन भरिएको समय अवधि रेकर्ड राख्छ भने बीले यात्रा गरिएको दूरीको रेकर्ड राख्छ ।
ड्राइभ साइकलमा ध्यान दिने
यात्रा होस् वा ट्राफिक जाम, ड्राइभिङ्ग साइकलले माइलेजलाई निकै असर पुर्याएको हुन्छ । आफ्नो कारको माइलेज पत्ता लगाउनका लागि एकै सेटको प्रयोग गर्ने प्रयास गर्नुपर्छ । सकेसम्म वैकल्पिक मार्गको प्रयोग नगरी एकै प्रकारको ड्राइभिङ्ग स्पीड तथा स्टाइललाई निरन्तरता दिने गर्नुपर्छ । यस प्रक्रियाबाट पनि आफ्नो सवारीसाधनले कति माइलेज दिन्छ थाहा पाउन सकिन्छ ।
गाडीको परीक्षण
टायरमा परेको दवाबले पनि कारको माइलेजमा निकै असर पुर्याउने गर्छ । यस्तो अवस्थामा टायर घुमाउन निकै बल लगाउनुपर्छ । टायरमा बढी प्रेसर परेसँगै माइलेज घटेर जाने गर्छ । त्यसैले फूल ट्याङ्की इन्धन राखेसँगै टायरको अवस्था परीक्षण गर्नुपर्छ । यसकासाथै, कारको क्लच, एयर–फिल्टर र खराब तेलले पनि माइलेज घटाउने गर्छ ।
प्राविधिक सहयोग
यतिमात्रै नभई माइलेज पत्ता लगाउनका लागि प्राविधिक सहयोग लिन सकिन्छ । आफ्नो स्मार्ट फोनमा एपको प्रयोगमार्फत् इन्धन, सर्भिस सेड्यूललगायतका कुराको लगत राख्न सकिन्छ ।


