काठमाडौं । नेपाली बजारमा डीएफएसकेका उत्पादन आएको एक वर्ष पुरा भएको छ । कुजु नेपालले ल्याएको डिएफएसकेको एसयूभी ग्लोरी-५८० मोडलले पहिलो वर्ष निकै राम्रो व्यापार गर्न सफल भएको कम्पनीको दाबी छ ।
इन्डोनेसियामा उत्पादन भएका डिएफएसकेको उत्पादन ग्लोरी ५८० मोडल एक वर्षमा ५० यूनिटभन्दा बढी बिक्री भएको कम्पनीको भनाई छ ।
‘हामी अटोमोवाइल व्यवसायमा नयाँ थियौं । एउटा मात्र मोडल थियो । पहिलो वर्षको बिक्रीबाट हामी निकै उत्साहीत भएका छौं । एउटा पर्फेकट फ्यामली एसयूभीको रुपमा ग्राहकले यसलाई मनपराईदिनु भएको छ । अब चाँडै ग्लोरी ५६० बजारमा ल्याउने तयारीमा छौं’, कुजु नेपालका संचालक उमिद श्रेष्ठले मेरोअटोसँग भने ।
श्रेष्ठका अनुसार ७ सिट क्षमताको ग्लोरी ५८० मा भएका फिचरले ग्राहकलाई आकर्षित गरेको छ । अन्य ब्राण्डका सामान्य फिचर भएका एसयूभी पाउने मूल्यमा डिएफएसकेका फिचर लोडेड एसयूभी पाउने भएकाले ग्राहकले मनपराएका हुन् ।
कम्पनीले ग्लोरी ५८० को अटोमेटीक भेरियन्ट मात्रै बिक्री गर्दै आएको छ । डिएफएसकेको ग्लोरी-५८० मोडलमा १.५ लिटरको टर्बोचार्ज्ड इन्जिन दिइएको छ । यसको मूल्य ६७ लाख ५० हजार रुपैयाँ तोकेर बिक्री हुँदै आएको छ ।
ग्लोरी-५८०को लम्बाई ४६८०, चौडाई १८४५ तथा उचाई १७१५ एमएमको रहेको छ । यसको इन्जिनले १४८ बीएच पावर र २२० एनएम-टर्क प्रदान गर्छ । १७ इन्चको अलोय ह्वील रहेको ग्लोरी ५८०को ग्राउण्ड क्लियरेन्स २०० एमएम रहेको छ ।
अगाडि बम्परमा तीनवटा लाइनमा रहेको क्रोम फिनिसिङ्गले यसलाई स्पोर्टी देखाएको छ । यसमा प्रोजेक्टर हेडल्याम्प सहितको एलइडी डेटाइम रनिङ्ग-लाइट रहेको छ, जसलाई लायन आई-सेपमा डिजाइन गरिएको छ ।

बडी कलर बम्परलाई अगाडिको साइडबाट तानेर कर्भी बनाएको छ । साइडमा देखिने कर्भी डिजाइनले यसलाई अझ आकर्षक बनाएको छ । यसको रियरमा ब्ल्याक-कलरको बम्पर रहेको छ भने, रियर विन्डोमा डिफोस्टर तथा वाइपर रहेको छ । रियर विन्डोको माथि रहेको स्पोइलर तथा सार्कफिन एन्टेनाले यसको ब्याक-प्रोफाइल पनि उत्कुष्ट देखाएको छ । रियरमा ड्यूलटोन सिसेपको ब्याक-लाइट दिइएको छ ।
ग्लोरी-५८० को इन्टेरियर निकै आकर्षक रहेको छ । ड्यूल-टोन ड्यासबोर्ड तथा १० इन्चको स्क्रिनसहितको इन्फोटेन्मेन्ट सिस्टमले क्याविनलाई लग्जरियस फिल गराउँछ । थ्री-स्पोक स्टेरिङ्ग ह्वीलमा अडियो, फोन तथा क्रुज कन्ट्रोलको माउन्टेड सुइच दिइएको छ ।
क्याविनमा रहेको पानारोमिक सनरुफले यो एसयूभीलाई अझ आकर्षक बनाएको छ । चालकको सहजताको लागि सिक्स-वे एड्जस्टेवल ड्राइभर-सिट दिइएको छ । अगाडि प्यासेन्जरको सिट फोर-वेमा एड्जस्ट गर्न मिल्ने छ ।
यसमा एबीएस, इबीडीसहितको इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम, ब्रेक असिस्ट सिस्टम, इलेक्ट्रोनिक पार्किङ्ग ब्रेक, टुइन-साइड तथा कर्टन एयरव्याग, रिभर्स पार्किङ्ग सेन्सर तथा क्यामरा पाउन सकिन्छ । ग्लोरी-५८०ले एनक्यापको क्रयास टेस्टिङ्गमा फाइभ-स्टार रेटिङ्ग पाएको छ । ग्लोरी ५८० यूरो-६ स्टायडर्डको गाडी हो ।
सर्भिस सेन्टर र वारेन्टी
विश्वका ७० भन्दा बढी देशमा बिक्री हुँदै आएको यस ब्रान्डको प्रिमियम एसयूभीको इन्जिनमा ३ वर्ष वा ४० हजार किलोमिटर जुन पहिला हुन्छ त्यही बराबरको वारेन्टी प्रदान गरिएको छ ।
गाडी बिक्रीपछिको सेवालाई मध्यनजर गर्दै कम्पनीले ललितपुरको जुवागलमा सर्भिस सेन्टर संचालनमा ल्याएको जनाएको छ । भने नयाँ सुविधा सम्पन्न शोरुम काठमाडौंको ग्रैहिधारामा निर्माण सुरु गरेको छ ।


