पुरानै मूल्यमा महिन्द्रा e2o ग्राहकलाई हस्तान्त्रण, कर बढेपछि यस्तो हुने छ नयाँ मूल्य

फाइल तस्विर

काठमाडौं । अग्नी ग्रुप अन्तर्गतको अग्नी इनर्जीले महिन्द्रा इटुओको १४ यूनिट कार ग्राहकलाई एकै पटक हस्तान्त्रण गरेको छ । सरकारले इलेक्ट्रीक कारमा कर बढाएपनि जेठ १५ गते अघिनै नेपाल आएको महिन्द्रा इटुओ पुरानै मूल्यमा ग्राहकलाई हस्तान्त्रण गरेको कम्पनीले जनाएको छ ।

‘अघिल्लो वर्षदेखि इलेक्ट्रीक कारमा ग्राहकको आकर्षण बढेको थियो । तर, सरकारले कर बढाएर अब यस्ता साना इलेक्ट्रीक कारपनि चढ्नै नसक्ने अवस्था सृजना गरेको छ । हामीसँग भएको स्टक लगभग सबै ग्राहकलाई हस्तान्त्रण गरेका छौं’, कम्पनीका महाप्रबन्धक प्रमोद भण्डारीले भने ।

कम्पनीले यसअघि २२ लाख ६० हजार रुपैयाँमा बिक्री वितरण गर्दै आएको इटुओको नयाँ मूल्य ३३ लाख रुपैयाँ हाराहारीमा पर्ने देखिएको छ ।

महिन्द्रा इटुओ नेपाली बजारमा बिक्री सुरु भएको करिब १ दशक भइसकेको छ । सरकारले इलेक्टीक कारमा लाग्दै आएको १० प्रतिशत भन्सारलाई बढाएर ४० प्रतिशत र कुनै शुल्क नलागेको अन्तःशुल्क मोटर क्षमताको अनुसार लगाएकाले इटुओमा ३० प्रतिशत भन्सार शुल्क लाग्ने छ ।

साथै, यसअघि लाग्दै आएको सडक निर्माण दस्तुरमा १ प्रतिशतले वृद्धिगरि ५ प्रतिशत कायम गरेकाले यो गाडीको मूल्य वृद्धि हुने भएको हो । अहिले नेपाली बजारमा महिन्द्राको ‘इटुओ प्लस’ विक्री वितरण भइरहेको छ ।

रातो, निलो र सिल्भर ३ कलर भेरियन्टमा उपलब्ध यो कार निकै ठुला उकालोमा समेत राम्रोसँग चल्न सक्छ । यसमा प्रयोग भएको लिथियम-आयन ब्याट्री ५ देखि ६ घण्टामा फूल चार्ज हुने र फूल चार्ज भएपछि १४० किलोमिटरसम्म चल्ने छ ।

यसमा एयरब्याग लगाएतको सेफ्टी फिर्चस छन् भने, अधिकतम पावर ३५०० आरएमपीमा ४१ बीएच र २५०० आरपीएममा ९१ एनएम टर्क प्रदान गर्छ ।

 


Back_to_top