ग्राहकले पाउन थाले ईसीथ्री, उपत्यका बाहिर अर्को साता उपलब्ध हुने

काठमाडौं । सिट्रोनको इलेक्ट्रीक कार सीथ्री ग्राहकलाई डेलिभरी दिन सुरु भएको छ । आधिकारिक वितरक साँग्रिला मोटर्सले ईसीथ्री ग्राहकलाई दिन सुरु गरेको हो ।

कम्पनीले दुई महिना अघि नै बुकिङ लिन सुरु गरेको सीथ्री इलेक्ट्रीकमा २९.२ किलोवाट आवरको लिथियम आयन फोस्फेट ब्याट्री रहेको छ । फ्रन्ट ह्वील ड्राइभ सिस्टममा उपलब्ध सिट्रोन सीथ्रीमा रहेको ४२ किलोवाट क्षमताको मोटरले उत्कृष्ट पर्फमेन्स दिन्छ ।

यसको अधिकतम पावर क्षमता ५७ हर्सपावर र १४३ एनएम टर्क जनेरेट गर्छ । सिट्रोन इ–सीथ्रीको मोटरले जम्मा ६.८ सेकेन्डमा शून्यबाट ६० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुडाउन सक्छ ।

ईसीथ्रीको टप स्पीड १०७ किलोमिटर प्रतिघण्टा रहेको छ । रिजेनेरेटीभ ब्रेकिङ सिस्टमसहित ईको र स्ट्याण्डर्ड गरी दुई ड्राइभिङ मोड पाउन सकिन्छ । एआरएआईका अनुसार सिट्रोन इ–सीथ्रीले एक पटकको फुल चार्जमा ३२० किलोमिटर रेन्ज दिन्छ ।

यो कारलाई रेगुलर ३.३ किलोवाटको एसी चार्जरले चार्ज गर्दा १० घण्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिन्छ । डीसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । साथै, यो डीसी फास्ट चार्जरमा धेरै पटक चार्ज गर्दा पनि ब्याट्री लाइफलाई कुनै असर नगर्ने कम्पीनले दाबी गरेको छ ।

कम्पनीले यो कारमा ७ वर्ष वा १ लाख ४० हजार किलोमिटर ब्याट्री प्याकमा वारेन्टी दिएको छ । त्यसैगरी, यसमा दिएको इलेक्ट्रीक मोटरमा ५ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी दिएको छ ।

सिट्रोन ईसीथ्री लाइभ भेरियन्टको मूल्य ३२ लाख ९९ हजार र फील भेरियन्टको मूल्य ३४ लाख ९९ हजार रहेको छ । सिट्रोन ईसीथ्री थापाथली स्थित शोरुममा उपलब्ध छ । साथै, कम्पनीले बिर्तामोड, इटहरी, विराटनगर, नारायणगढ, बुटवल, पोखरा, नेपालगन्ज, दाङ र धनगढीमा रहेका शोरुममा एक सातापछि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।


Back_to_top