काठमाडौं । विद्युतीय क्रसओभर किन्न चाहने ग्राहकले नेपाली बजारमा दुई अप्सन पाउने छन् । सन् २०२२ मा नेपाल आएको चिनियाँ ब्राण्ड होजोन मोटर्सले उत्पादन गरेको नेटा भी क्रसओभर सेग्मेन्टमा निकै सफलता पाएको मोडल हो ।
सीजी मोटर्सले नेपाल ल्याएको नेटा भीको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री वितरण हुँदै आएको छ । कम्पनीले बिक्री गर्ने नेटा भी एउटा मात्रै भेरियन्टमा उपलब्ध छ ।
केही दिनअघि मात्रै सिट्रोनले नेपाल ल्याएको ई–सीथ्री पनि क्रसओभर मोडल हो । साइजको हिसाबले यी दुवै कार लगभग समान जस्तै छन् । तर, बडी डिजाइन प्लेटफर्ममा भने निकै अन्तर पाउन सकिन्छ ।
ई–सीथ्री सिट्रोनले पेट्रोल सीथ्रीलाई इलेक्ट्रीक पावरमा उपलब्ध गराएको मोडल हो । यसको अधिकांश फिचर पनि पेट्रोल सीथ्रीबाटै लिइएको छ । गियर नबमा परिवर्तन बाहेक प्रायः सबै फिचर पेट्रोल मोडलकै पाउन सकिन्छ ।
विभिन्न दुई भेरियन्टमा नेपाल आउने भनिए पनि अहिले एउटा मात्रै भेरियन्ट पाउन सकिन्छ । त्यसको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ । नेटा भीको मूल्य ई–सीथ्रीको तुलनामा ४ लाख रुपैयाँ बढी छ । मूल्य बढी भएसँगै गाडीको फिचरमा पनि त्यही अनुसारको परिवर्तन हुने नै भयो ।

ब्याट्री क्षमता र रेन्ज
यी दुई क्रसओभरमा ब्याट्री साइजमा पनि निकै फरक छ । नेटा भीमा ३८ किलोवाट आवरको एनसीएम ब्याट्री दिइएको छ । जबकि सिट्रोन सीथ्रीमा केबल २९ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री पाउन सकिन्छ ।
नेटा भीले नेपाली सडकमा ३५० किलोमिटरसम्मको रेन्ज मेरोअटोको परीक्षणमा देखिएको छ । तर, ई–सीथ्रीको पूर्ण परीक्षण हामीले गरेका छैनौं । यद्यपि, छोटो अवधि चलाएको आधारमा कम्तीमा २३० किलोमिटर रेन्ज दिने हाम्रो अनुमान छ ।
पावर र चार्जिङ शुल्क
सिट्रोनले ई–सीथ्रीमा ४२ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ । यसको अधिकतम पावर ५७ पीएस र १४३ एनएम टर्क हो । सहरी बाटोमा गुडाउँदा यसको पावर निकै राम्रो फिल हुन्छ । यसलाई एक पटकमा फुलचार्ज गर्न २९ यूनिट विद्युत खर्च हुन्छ । त्यसको मूल्य २९० रुपैयाँ हुन्छ ।

नेटा भीमा कम्पनीले ७० किलोवाट पीकपावर भएको मोटर दिएको छ । ७० किलोवाट पीक पावरको मतलव अधिकतम ९५ पीएस पावर हो । यसले १६० एनएम टर्क प्रदान गर्छ । पावर र टर्कमा पनि नेटा भी सीथ्री माथि भारी पर्छ ।
यसमा ३८ किलोवाटको ब्याट्री रहेको कारण फुलचार्ज गर्न ३८ यूनिट विद्युत खपत हुन्छ । यसको मूल्य अहिलेको बजार मूल्य अनुसार ३८० रुपैयाँ हुन्छ ।
चार्जिङ अवधि
ई–सीथ्रीलाई कारमा रहेको रेगुलर ३.३ किलोवाटको एसी चार्जरले चार्ज गर्दा १० घण्टा ३० मिनेटमा फुलचार्ज गर्न सकिन्छ । साथै, डीसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । कम्पनीले सधैं डीसी चार्जरको प्रयोग गर्न सकिने गरी यसको इन्जिनीयरिङ गरेको जनाएको छ ।
नेटा भीमा ६.६ किलोवाट क्षमाताको एसी चार्जर कम्पनीले दिइरहेको छ । उक्त चार्जरले फुलचार्ज गर्न ६ देखि ८ घन्टा लाग्ने कम्पनीको दाबी छ । यसलाई पनि २० देखि ८० प्रतिशत चार्ज केबल ५० मिनेट लाग्ने छ ।

सुरक्षा फिचर
सुरक्षाको लागि नेटा भीमा ईबीडीसहितको एबीएस, सेफ्टी लक, दुई एयरब्याग, सिटबेल्ट रिमाइन्डर, रियर पार्किङ सेन्सर, पार्किङ क्यामेरा र एड्भान्स सेफ्टी फिचरमा इलेक्ट्रोनिक्स स्टेबिलिटी कन्ट्रोल, हिल स्टार्ट एसिस्ट, टायर प्रेसर मोनिटर, भेहिकल मेन्टिनेन्स रिमाइन्डर, हाइड्रोलिक ब्रेकिङ सिस्टम पाउन सकिन्छ ।
त्यसैगरी ई–सीथ्रीमा ड्यूल एयरब्याग, ईबीडीसहितको एबीएस, रिभर्स पार्किङ सेन्सर, इन्जिन कुलिङ सिस्टम, हाई स्पीड अलर्ट सिस्टम र स्पीड सेन्सिङ अटो डोर लक लगायतका फिचर छन् ।

निष्कर्ष
परम्परागत कार त्यसमा ब्याट्री पावर तपाईंको रोजाइ हो भने सिट्रोन सीथ्री तपाईंलाई मन पर्न सक्छ । होइन, ईभी आधुनिक डिजाइनको हुनुपर्छ भन्ने मान्यता तपाईंको छ भने नेटा भी बलियो विकल्प हुनसक्छ ।
मूल्यको हिसाबले ४ लाख बढी भए पनि पावर, रेन्ज र टेक्नोलोजीले तपाईंको पैसा बढी खर्च गरेको अनुभव गराउने छैन । होइन, चल्तीको साइज, केही कम रेन्जले पनि फरक पर्दैन भन्ने मान्यता राख्नु हुन्छ भने ४ लाख रुपैयाँ पनि बचत हुन्छ । सीथ्री तपाईंको रोजाइमा बन्न सक्छ ।
हामीले दिने फरक कुरा हो । गाडी रोज्ने तपाईंले हो । दुवै कार किन्नु अघि टेष्ट ड्राइभ गर्नुहोस् । आफूलाई चित्त बुझेको किन्नु होस् ।

