भारतको लागि उत्पादन बन्द भएपनि इकोस्पोर्ट फेसलिफ्ट नेपाल आउन सक्ने

काठमाडौं । फोर्डले भारतीय बजारको लागि गाडी उत्पादन तत्काल बन्द गर्ने घोषणा गरेसँगै इकोस्पोर्टको फेसलिफ्ट मोडल उत्पादन नहुने भएको छ । तर, अन्तर्राष्ट्रिय बजारको लागि सन् २०२२ को मध्यसम्म उत्पादन जारी रहने घोषणासँगै इकोस्पोर्ट फेसलिफ्ट नियात बजारमा भने उपलब्ध हुने सम्भावना देखिएको छ ।

नेपालमा पनि भारतमा उत्पादन भएको इकोस्पोर्ट सफल सब फोर मिटर एसयूभी हो । यदि अन्तर्राष्ट्रिय बजारको लागि इकोस्पोर्ट फेसलिफ्ट आउने हो भने नेपाल पनि आउने छ ।

विभिन्न समयमा परिक्षणको क्रममा देखिएको फोर्ड इकोस्पोर्ट फेसलिफ्ट मोडल यही सेप्टेम्बर महिनामा सार्वजनिक हुने बताइएको थियो । भारतबाट सर्वाधिक धेरै निर्यात हुने फोर्ड इकोस्पोर्ट सन् २०१९/२० मा ८० हजार यूनिट निर्यात भएको थियो भने सन् २०२०/२१ मा घटेर ४० हजार यूनिटमा झरेको थियो । आफ्नो सर्वाधिक निर्यात हुने यो मोडलको फेसलिफ्ट अन्तर्राष्ट्रिय बजारको लागि भने उत्पादन गर्न सक्ने देखिन्छ ।

फोर्डले हिजो अचानक भारतीय प्लान्ट बन्द गर्ने घोषणा गरेसँगै भारतमा सरोकारवाला निकायले यसबाट उत्पन्न हुने समस्याको विषयमा अनेक टिप्पणी गरिरहेका छन् ।

‘फेडेरेशन अफ अटोमोवाइल डिलर एशोसिएसन अफ इन्डिया’ (फाडा)ले भारतभर रहेका फोर्डका डिलर कसरी संचालन हुन्छन् भन्ने विषयलाई छलफलमा ल्याएको छ भने करिब ११ हजार कामदारको विषय पनि बाहिर आएको छ । फोर्डको नयाँ प्लान अनुसार तत्काल ४ हजार मजदुर काम बिहिन हुनेछन् ।

फोर्ड इन्डियाले भारतबाटै आफुहरु बाहिर जान लागेको नभइ भारतमा उत्पादन बन्द गर्न लागेको मात्रै हो भनेको छ । यसले आगामी दिनमा फोर्डले भारतमा कस्तो बाटो तय गर्छ अहिल्यै केही भन्न सक्ने अवस्था रहेको छैन ।

अमेरिकी कम्पनीले भारतका विभिन्न शहरमा १७० डिलर मार्फत ३९१ आउटलेट संचालन गरिरहेको छ । त्यसमा करिब २ हजार करोड रुपैयाँ लगानी रहेको अनुमान गरिएको छ । अहिले पनि फोर्डका लिरहरुसँग करिब १ हजार यूनिट गाडी स्टकमा रहेको र अचानक उत्पादन गर्ने घोषणाले ती गाडीको विक्रीमा समस्या आउने डिलरहरुको भनाई छ ।

यसअघि पनि भारतबाट अर्को अमेरिकी कार उत्पादक कम्पनी जनरल मोटर्स बाहिर निस्केको थियो । त्यस्तै यूएम, हार्ले डेभिड्सन, म्यान ट्रक जस्ता कम्पनीले भारतीय बजारबाट आफुलाई अलग गरेका थिए ।

फोर्डको विकल्प

फोर्ड इन्डिया वार्षिक ४ लाख यूनिट कार उत्पादन गर्न सक्ने क्षमता जडित कम्पनी हो । वार्षिक विक्री ८० हजारमा झरेपछि कम्पनीले प्लान्ट बन्द गर्न लागेको जनाएको छ । यस्तोमा कम्पनीले भारतमा अर्को पार्टनर पाएमा संचालन निरन्तर रहन सक्ने फाइनान्सीयल टाइम्सले उल्लेख गरेको छ ।

सन् २०१९ मा कम्पनीले महिन्द्रासँग सहकार्य गर्ने निर्णय गरेको थियो । तर, सम्झौंता भएको एक वर्षपछि नै यी दुई कम्पनीले अलग हुने निर्णय गरेका थिए । त्यसपछि भारतमा के गर्ने भन्ने निर्णय लिन नसकेको फोर्डले अन्तत भारतबाट बाहिर निस्कने निर्णय लिएको हाे ।

अझै पनि कुनै अर्को उत्पादकसँग सहकार्य गरेर उत्पादनलाई निरन्तरता दिन सकिने विषयमा धेरै कम्पनीहरुसँग छलफल भइरहेको जनाइन्छ । तर, फोर्डले यसको विषयमा केही खुलाएको छैन


Back_to_top