काठमाडौं । सरकारले हिजो ल्याएको प्रतिस्थापन विधेयकले मोटरसाइकलको अन्तःशुल्क र सडक निर्माण दस्तुर बढाएको छ । सर्वाधिक धेरै विक्री हुने १५० सीसीदेखि ५०० सीसीसम्मका मोटरसाइकलको मूल्य बढ्ने भएको हो ।
तर, सरकारले विधेयक मार्फत नेपालमा एसेम्बल गर्ने दुई पाङ्ग्रे, चार पाङ्ग्रे र सार्वजनिक यातायात निर्माण कम्पनीले आयात गर्ने एसेम्बल किटमा ५० प्रतिशत अन्तःशुल्क छुट दिने निर्णय गरेको छ । यही निर्णय अनुसार नेपालमा बन्ने (एसेम्बल) हुने सवारी साधानको मूल्य केही मोडलमा घट्ने छ भने केही मोडलमा अहिलेकै मूल्य बस्ने देखिन्छ । नेपालमा एसेम्बल हुने १२५ सीसीका मोटरसाइकलको भने मूल्य घट्ने छ ।
अहिले नेपालमा बजाज र टीभीएसले मोटरसाइकल एसेम्बल गर्दै आएका छन् भने यामाहा, होन्डा, सुजुकी जस्ता ब्राण्डले मोटरसाइकल एसेम्बल प्लान्ट स्थापना गर्न लागि परेका छन् ।
सरकारको अहिलेको नीतिले बजाज र टीभीएसका उत्पादन अन्यको तुलनामा सस्तो हुनेछ ।
केही दिनअघि महालेखाको प्रतिवेदनले मोटरसाइकल एसेम्बल उद्योगले सरकारसँग लिएको छुट नागरिक तहमा नदिएको भन्दै प्रतिवेदन सार्वजनिक भएपछि बजारमा विभिन्न किसिमका टिप्पणी भएका थिए ।
मूल्य बढ्ने
सरकारले बढाएको अन्तःशुल्कको कारण मूल्य बढ्ने भएको छ । यसअघि २५० सीसीसम्मका मोटरसाइकलमा लाग्दै आएको ४० प्रतिशत अन्तःशुल्क अहिले ६० प्रतिशतसम्म पुगेको हो ।
१२५ सीसीदेखि २०० सीसीसम्मका मोटरसाइकलमा ५० प्रतिशत र २०१ देखि दुई सय ५० सीसीको मोटरसाइकलमा ६० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरेबाट मोटरसाइकलको मूल्य बढ्ने निश्चित भएको हो ।

