काठमाडौं । नाडा अटोको १३ औँ संस्करण सोमबारबाट सुरु भएको छ । अटो शोमा ग्राहकलाई आकर्षण गर्ने उद्देश्यसहित विभिन्न कम्पनीले नयाँ तथा आत्याधुनिक विशेषतासहितका मोडलहरू सार्वजनिक गरेका छन् ।
सबैखालका ग्राहकलाई मध्यनजर गर्दै नाडा अटो शोमा सवारीसाधन शोकेस भएका छन् । अटो शोमा राखिएका महंगा मोटराइकलको लिस्ट यस्तो छ ।
बजाज डोमिनार 
बजाजको पावरफूल मोटरसाइकल डोमिनार–४०० मा ३७३.२ सीसीको सिङ्गल सिलिन्डर इन्जिन छ । यसले ८००० आरपीएममा ३५ पीएस शक्ति र ६५०० आरपीएममा ३५ एनएम टर्क उत्सर्जन गर्छ । ६ स्पीड म्यानूअल ट्रान्समिसन भएको यो मोटरसाइकलको अधिकतम् गति १४८ किलोमिटर प्रतिघण्टा छ । यसले मात्र ८.२३ सेकेन्डमा शून्यदेखि १०० किलोमिटरको रफ्तार लिने कम्पनीको दाबी छ ।
निकै समयदेखि चर्चामा आएको र बहुप्रतिक्षित डोमिनार–४०० मा नयाँ फिचरहरू समावेश छन् । कम्पनीको नयाँ सिरिज यो मोटरसाइकलमा १७ इञ्चको एलो चक्का, अगाडि ३२० मिमि डिस्क ब्रेक, पछाडि २३० मिमि डिस्क ब्रेक, एलईडी हेडल्याम्प, पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट कन्सोलकासाथै अन्य थुप्रै फिचर छन् । यसको मूल्य ५ लाख ८९ हजार ९ सय तोकिएको छ ।
टीभीएस अपाची–आरआर ३१०
नाडा अटो शोमा सार्वजनिक भएको आरआर–३१०को कम्पनी मूल्य ७ लाख ७९ हजार ९०० रुपैयाँ तोकेको छ । ३१२ सीसी क्षमताको यो बाइकलाई नेपालको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले नाडा अटो शो २०१८ मा नै सार्वजनिक गरेको हो ।
टीभीएस अपाचे–आरआर–३१० आकर्षक डिजाइन, सुपर शक्तिशाली इन्जिन, सर्वोत्कृस्ट पफर्मेन्स र राइडिङ डाइनामिक्सले भरिपूर्ण मोटरसाइकल हो ।
यो मोटरसाइकल ३५ वर्षको रेसिङ्ग ट्रयाकको सिकाई र अनुभवबाट जन्मेको अत्याधुनिक मोटरसाइकल हो । अपाचे–आरआर–३१० ३१२ सीसी सिङ्गल सिलिन्डर, फोरस्ट्रोक, फोरभल्भ, लिक्विड कुल्ड इन्जिनले ३४ पीएस पावर उत्पादन गर्छ भने २७.३ एनएम टर्क रहेको छ । ६ स्पीड गियरबक्स भएको यो मोटरसाइकलले ०–६० किलोमिटर प्रतिघण्टाको स्पीडमात्र २.९ सेकेन्डमा पूरा गर्छ ।
बेनेली

बेनेलीका लागि नेपालको आधिकारीक वितरक केटीएम इन्टरनेशनलले नाडा अटो शोमा आफ्नो सबैभन्दा महंगो मोटरसाइकल राखेको छ । बेनेलीले टीआरके–५०२ बाइक नेपाली बजारमा भित्र्याएको छ । टीआरके–५०२ बेनेलीको पहिलो एड्भेन्चर बाइक हो । यसमा पाँच सय सीसी क्षमताको इन्जिन छ । र, यो इन्जिनले ४७ ब्रेक हर्सपावरको शक्ति निकाल्न सक्छ ।
यसमा ६ गियर छन् । एड्भेन्चर बाइकमा राम्रो ग्राउन्ड क्लियरेन्स र ठूलो क्षमताको फ्यूल ट्याङ्क हुनु जरुरी छ । किनभने, यी बाइकहरू अफरोडमा लामो दूरीको यात्राका लागि बनाइएका हुन्छन् । यही कुरालाई ध्यानमा राख्दै टीआरके–५०२ मा २३० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स दिइएको छ । र, यसको फ््यूल ट्याङ्कको क्षमता २० लिटरको रहेको छ ।
दुवै पाङ्ग्र्रामा डिस्कब्रेकसहितको यो बाइकको सस्पेन्सन पनि उच्चकोटिको छ । नेपालमा बेनेली टीआरके–५०२ को मूल्य १७ लाख रुपैयाँ तोकेको छ ।
केटीएम ड्यूक–३९०
केटीएम बाइकको नेपालका लागि आधिकारीक बिक्रेता हुलास इन्भेष्टमेन्ट प्रालिले आफ्नो सबैभन्दा महंगो मोटरसाइकल केटीएम ड््यूक–३९० प्रदर्शनीमा रखेको छ । यसको बजार मूल्य ८ लाख २९ हजार ९ सय निर्धारण गरेको छ । यसमा ३७३ सीसी सिङ्गल सिलिन्डर लिक्विड कुल्ड इन्जिनको प्रयोग गरिएको छ । यसले ९ हजार आरपीएममा ४३.५ पीएस पावरकासाथै ७ हजार आरपीएममा ३७ एनएम टर्क उत्पादन गर्छ । यसमा १३.५ लिटर फ्ल ट्याङ्की दिइएको छ । यसको तौल १६३ केजी रहेको छ ।
यामाहा वाईजेडएफ आरथ्री
यामाहाले नाडा अटो शोमा आफ्नो सबैभन्दा महंगो मोटरसाइकल स्वरुप यामाहा आरथ्री ल्याएको छ । यसको बजार मूल्य ९ लाख २४ हजार ९ सय रुपैयाँ रहेको छ । यसमा ३२१ सीसी क्षमताको इन्जिनको प्रयोग गरिएको छ । यसमा लगाइएको इन्जिनले ९ हजार आरपीएममा ३० एनएम टर्क उत्पादन गर्नुकासाथै १०७५० आरपीएममा ४२ पीएस पावर उत्पादन गर्छ । यसको टपस्पीड क्षमता १८८ किलोमिटर प्रतिघन्टा रहेको छ भने सुरक्षालाई मध्यनजर गर्दै एबीएस विशेषता दिइएको छ । यसको कुल तौल १७३ केजी रहेको छ ।
सुजुकी इन्टुडर

सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारीक बिक्रेता भीजी अटोमोवाइल्सले नाडा अटो शोमा शोकेस गरेकोमध्ये सबैभन्दा महंगो मोटरसाइकल ‘सुजुकी इन्टुडर’ हो । यसको मूल्य ३ लाख २९ हजार रहेको छ । १५० सीसीको यो सुजुकी इन्टुडर एम–१८०० आरको नयाँ संस्करण हो । कम्पनीले यस मोटरसाइकलको बजार मूल्य ३ लाख ९ हजार ९ सय निर्धारण गरेको छ । १४.५९ बीएचपी उच्चशक्तिको यस मोटरसाइकलले १४ एनएम टर्क उत्सर्जन गर्छ ।
११ लिटर इन्धन क्षमताको इन्टुडरले ४४ किलोमिटर माइलेज दिने कम्पनीले बताए । यो मोटरसाइकलमा कालो र खैरो रङ्गमा उपलब्ध छ । पाँच गियर ट्रान्समिसन छ । यसको दुबै पाङ्ग्रामा डिक्सब्रेक रहेको छ ।
टेकेन–२५०

टेकेन लागि नेपालको आधिरकारीक वितरक कम्पनी एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले नाडा अटो शोमा आफ्नो सबैभन्दा महंगो मोटरसाइकल टेकेन–२५० राखेको छ । यसको मूल्य ४ लाख रुपैयाँ निर्धारण गरिएको छ । यसमा २२३ सीसी क्षमताको लन्सीनआरएफ इन्जिन प्रयोग गरिएको छ । यसमा लगाइएको इन्जिनले ६५ सय आरपीएममा १७ एनएम टर्क उत्पादन गर्छ । यसको टपस्पीड क्षमता १२० किलोमिटर प्रतिघन्टा रहेको छ ।
होन्डा सीबीआर–२५० आर
स्याकार कम्पनीले हिरो होन्डाको होन्डा सीबीआर–२५० आरलाई अटो शोमा राखेको छ । होन्डाले यसको मूल्य ५ लाख ८९ हजार ९ सय रुपैयाँमा बेच्ने जनाएको छ । २४९ सीसी क्षमताको इन्जिनको प्रयोग गरिएको छ । यसले ८५ सय आरपीएममा २६.५ पीएस पावर उत्पादन गर्छ भने इन्जिनमा ६ स्पीड म्यानूअल दिइएको छ । यसलाई स्पोर्टी बाइकको रुपमा चिनिन्छ ।


