विद्युतीय कारको मोटर बिग्रिए कति लाग्ला खर्च ?

काठमाडौं । नेपाल दक्षिण एशियामा नै सर्वाधिक विद्युतीय गाडीको चर्चा हुने देशमा पर्छ । विद्युतीय गाडीको सप्लाइमा समस्या हुँदा माग अनुसार ग्राहकले किन्न पाएका छैनन् । यसका बाबजूद मागको १० प्रतिशत हिस्सा विद्युतीय गाडीको पुगिसकेको छ ।

यतिधेरै चर्चा र ग्राहकको रोजाइमा पर्ने विद्युतीय कारको विक्री बढ्नुमा बढ्दो पेट्रोलको मूल्य, जलवायु परिवर्तनको प्रत्यक्ष असर जस्ता कारण छन् । विद्युतीय साधनको मुख्य कम्पोनेन्ट ब्याट्री हो । त्यसैले ब्याट्री लाइफको बारेमा सबैले चासो र चर्चा गर्छन् । तर, अर्को मुख्य कम्पोनेन्ट मोटरको बारमो त्यति चासो र चर्चा भएको पाइँदैन ।

इलेक्ट्रीक गाडीमा हुने ब्याट्री इन्धन हो भने, मोटर इन्जिन हो । कम्बस्चन गाडी किन्दा हामी इन्जिनको विषयमा खुब बहस गर्छौ तर, ईभी किन्नेले मोटरको वास्ता गरेको सुनिँदैन । ईभीमा हुने ब्याट्रीको लाइफ साइकल निश्चित तोकिएको हुन्छ । तर, कम्पनीहरूले मोटरको आयुको विषयमा बताएको वा किन्नेले सोधेको सुनिँदैन ।

यस्तो छ व्यवसायीको भनाइ

नेपालमा सबैभन्दा पहिला फुल साइज ईभी ल्याउने कम्पनी बीवाइडी हो । कम्पनीले सुरूदेखि नै ब्याट्री र मोटर दुवैमा वारेन्टी दिने गरेको छ । कम्पनीले अहिले इलेक्ट्रीक मोटरमा ५ वर्ष वा ३ लाख किलोमिटरको वारेन्टी दिएको साइमेक्स इंकका सीईओ सहिल श्रेष्ठले जानकारी दिए ।

‘अहिलेसम्म कुनै पनि गाडीमा मोटरको समस्या आएको छैन । मोटरमा आउने सामान्य समस्या समाधान गर्न धेरै खर्च लाग्दैन । तर, मोटर पूर्णरूपमा काम नै नलाग्ने गरी बिग्रिएको अवस्थामा भने ५ देखि ७ लाखसम्म लाग्छ’, सीईओ श्रेष्ठले भने ।

सन् २०११ देखि नै नेपालमा विद्युतीय कार उपलब्ध गराएको अग्नी इन्कर्पोरेटले भने अहिलेसम्म मोटरमा समस्या नै नदेखिएको बताएको छ ।हालसम्म महिन्द्राले बेचेको गाडीको मोटर बिग्रिएको केस जानकारी मै नआएको बताउँदै अग्नी इनर्जीका जनरल म्यानेजर प्रमोद भण्डारी भन्छन्, ‘प्रायः समस्या हुने मोटर कन्टोलर वा चार्जरमा हो, मोटर नै फेर्नु परेको अहिलेसम्म थाहा छैन ।’ यदि महिन्द्राको इटुओमा प्रयोग भएको १९ किलोवाटको मोटर नै फेर्नु परेमा १ लाख रुपैयाँ हाराहारी लाग्ने भण्डारीले बताए ।

त्यसैगरी, नेपालमा धेरै संख्यामा विद्युतीय गाडी विक्री गर्ने हुन्डाइले ब्याट्री बाहेक पूरै गाडीमा २ वर्षको वारेन्टी रहेकाले मोटरमा पनि २ वर्षकै वारेन्टी हुने जनाएको छ ।

कम्पनीले सन् २०१८ देखि ईभी विक्री गर्दै आएको र अहिलेसम्म कुनै समस्या नदेखिएको जानकारी दिँदै लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल मेनेजर दीपक थपलिया भन्छन्, ‘पूरै मोटरको ढिक्का नै बिग्रिने संभावना न्यून हुन्छ । मोटरमा रहेको केही पार्टसमा समस्या देखिए त्यो मात्रै पनि फेर्न मिल्छ ।’

अहिलेसम्म ढिक्कै फेर्नु पर्ने समस्या नै नदेखिएकोले कति लाग्छ एकीन भएको छैन । यद्यपि, ८ लाखसम्म लाग्न सक्छ ।

नेपालमा साना ग्यासोलीन गाडीलाई ईभीमा बदल्ने काम गर्दै आएका नवराज पौडेल भने साना ईभीमा लाग्ने १५ देखि २० किलोवाट क्षमताका मोटरहरू ६० हजारदेखि १ लाखसम्म पर्ने बताउँछन् ।


Back_to_top