मासिक १५ हजार यूनिट नेक्सन बनाउँदै टाटा, इलेक्ट्रीकको उत्पादन पनि बढ्ने

काठमाडौं । भारतीय अटोमोवाइल कम्पनी टाटाले नेक्सन मोडलको उत्पादन हरेक महिना १५ हजार यूनिट गर्ने लक्ष्यसहित काम गरिरहेको छ । अहिले नै कम्पनीले नेक्सनको उत्पादन १४ हजारभन्दा माथि लगेको छ ।

सन् २०२० को अन्तिमदेखि लगातार उत्पादन बढ्दै गएको नेक्सन भारतमा मासिक रुपमा सर्वाधिक विक्री हुने सब फोर मिटर एसयूभी बनिसकेको छ । कम्पनीले आफ्नो टाटाको प्यासेन्जर कार मासिक ५० हजार यूनिट उत्पादन गर्ने लक्ष्य लिएको छ ।

अहिले मासिक ४० हजार यूनिट हाराहारी उत्पादन पुगेको टाटाले ५० हजार यूनिट पुर्याउने योजना अगाडि सारेको हो । त्यसको लागि नयाँ प्लान्ट स्थापना गर्ने वा फोर्डको एउटा प्लान्ट खरिद गर्ने विषयमा अहिले छलफल भइरहेको बताइन्छ ।

आफ्नो आक्रमक तेबरलाई जारी राख्न टाटाले चाँडै नेक्सनमा आधारित रहेर कुपे मोडल बजारमा ल्याउने तयारी गरेको छ । साथै, टाटा नेक्सन इभीको उत्पादन पनि अहिलेको तुलनामा बढाउने र चाँडै लङ रेन्ज मोडल ल्याउने तयारी गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

नेपालमा पनि टाटाको नेक्सन सफल मोडल हो । अहिले नेक्सन इभी किन्ने धेरै ग्राहक प्रतिक्षामा रहेको छन् । टाटाका गाडी चाहनेको लागि कम्पनीको नयाँ योजना सुखद हुनसक्छ ।


Back_to_top