काठमाडौं । विद्युतीय गाडीको इन्जिन, मुटु वा इन्धन जे भने पनि मुख्य कुरा ब्याट्री हो । ब्याट्रीसँग जोडिएको मोटर र जोड्दा प्रयोग हुने ब्याट्री मेनेजमेन्ट सिस्टम (बीएमएस) भएपछि विद्युतीय गाडीको टेक्नीकल पाटो सकिन्छ ।
नेपालमा अहिले ५६ ब्राण्डका गाडी उपलब्ध छन् । सबै ब्राण्डले आ-आफ्नो प्रोडक्ट बलियो र राम्रो भन्न छाड्दैनन् । हुन पनि हो, कसैले किन खराब गाडी बनाउँछु भनेर पैसा खन्याउँछ र । त्यसैले गाडीको साइज, ब्याट्री साइज, अन्य फिचर, ब्राण्ड भ्यालु लगायतका कुरा हेरेर कम्पनीहरूले मूल्य तोक्छन् ।
नेपालमा हरेक ब्राण्डले केही न केही ग्राहक पाएकै छन् । भोलि ब्राण्ड टिकोस् वा न टिकोस् आजलाई सबैले राम्रै नारा दिएर गाडी बिक्री गरिरहेका छन् । अझ बजारमा गाडी किन्नेले पनि ब्याट्री साइज, ग्राउण्ड क्लियरेन्स, रेन्ज (चलन चल्तीको भाषमा माइलेज) कति पाइन्छ भनेर सोध्छन् ।
ईभीको सबैभन्दा महँगो पार्ट्स मानिने ब्याट्री कुन साइजको गाडी किन्दा ठिक हुन्छ । साइज अनुसारको फाइदा वा बेफाइदा के- के होलान् भनेर यहाँ चर्चा गर्न लागिएको हो ।
पहिलो विषय, ठूलो ६०-१०० किलोवाट आवरको ब्याट्री भएको गाडी किन्दा फाइदा र बेफाइदा के के होलान् भन्ने विषयमा चर्चा गरौं । तपाईंको यात्रा दैनिक २०० किलोमिटर आसपास छ भने यो साइजको ब्याट्री भएको गाडी छनोट ठिक हो । कहिले काहीँ लामो यात्रा गर्नुपर्दा पनि विना तनाव ४०० देखि ६०० किलोमिटर गाडी चलाउन पाइने हुँदा ठूलो ब्याट्रीले फाइदा दिन्छ ।
ठूलो ब्याट्री भएका गाडीले ठूलै साइजको डीसी चार्जर सपोर्ट गर्ने भएको कारण पनि उपभोक्ताको समय बच्छ । साथै, ब्याट्रीको आयु सकिँदै जाँदा पनि ठूलो ब्याट्री भएको कारण लामो समयसम्म चलाउन पाइन्छ । जुन उपभोक्ताको लागि फाइदा हो ।
ठूलो ब्याट्रीको पहिलो बेफाइदा भनेकै मूल्य धेरै तिर्नुपर्छ । चाहे नयाँ किन्दा होस् वा बिग्रिएपछि बनाउँदा ठूलो ब्याट्री हुने बित्तिकै खर्च बढी आउँछ । गाडीमा ठूलो ब्याट्री भनेको तौल धेरै हुनु हो । जसले टायर, ब्रेक र सस्पेन्सन चाँडो बिगार्न भूमिका खेल्छ ।

साथै, तपाईंले घरकै बिजुलीमा ठूलो ब्याट्री भएको गाडी फुल चार्ज गर्छु भनेर लाग्दा धेरै समय लाग्छ । तीव्र गतिमा चार्ज गर्ने चार्जरहरू कम भएको कारण चार्जिङमा ठूला ब्याट्रीको लागि धेरै समय लाग्छ ।
दोस्रो सानो ब्याट्रीको कुरा, नेपालमा ३० देखि ५० किलोवाट आवरको ब्याट्री भएको गाडी सबैभन्दा उपयुक्त हुन्छ । यो सेग्मेन्टमा उपलब्ध गाडी हलुका हुन्छ । रेन्ज पनि राम्रो पाइन्छ भने टायर, ब्रेक, सस्पेन्स लगायतका तौलसँग सम्बन्धित कुरा खर्च कम लाग्छ ।
यी ब्याट्री प्रयोग भएका गाडी सजिलै एक प्रदेशबाट अर्को प्रदेशमा रहेका पर्यटकिय नगरमा सजिलै लान सकिन्छ । त्यसैले यो सेग्मेन्टको गाडी सहरी क्षेत्रको लागि निकै उपयोगी छ । कहिलेकाहीँ बाहिर लाँदा पनि कुनै समस्या आउँदैन ।
यसको मुख्य बेफाइदा भनेकै २०० देखि ३०० किलोमिटर मात्रै रेन्ज हुनु हो । कम रेन्ज भएको कारण बाहिर जाँदा भने ‘रेन्ज एन्जाइटी’ हुन सक्छ । तर, धेरै स्थानमा चार्जर उपलब्ध भएको कारण समस्या भोग्नु पर्दैन ।
निष्कर्ष, हामीले यहाँ ३० देखि ५० र ६० देखि १०० किलोवाट आवरको ब्याट्री भएका मध्ये कुन ईभी किन्ने भन्ने विषयमा चर्चा गर्यौं । धेरै मोबिलिटी हुनेले ठूलो ब्याट्री र थोरै मोबिलिटी हुनेले सानो ब्याट्री भएको गाडी किन्ने कुरा नै नियमसंगत हो ।
तर, औषत नेपालीले पहिलो गाडी नै ईभी किन्ने भएको कारण ४० देखि ६० किलोवाट आवरको सेग्मेन्ट बनाएर छान्दा बीचको बाटो पाउन सकिन्छ । यसमा रेन्ज पनि ३०० देखि ४०० किलोमिटरसम्म पाइने । मूल्य पनि निकै प्रतिस्पर्धी भएको कारण यो सेग्मेन्ट धेरै हिसाबले बढी फाइदाजनक हुनसक्छ ।


