६ वर्षमा भित्रिए १ लाख ३० हजार विद्युतीय सवारी, कुन कति ?

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधानको आयात वर्षेनी बढ्दो क्रममा रहेको छ । सरकारले लिएको ईभी प्रोत्साहन नीति र उपभोक्तामा ईभीप्रतिको आकर्षणका कारण आयात निरन्तर उकालो लागेको हो ।

नेपालमा विद्युतीय सवारी आयात हुन थालेको करिब १ दशक पुग्न लाग्यो । तर, आव २०७८/७९ देखि मात्रै ठूलो संख्यामा भित्रिन थालेको हो ।

पछिल्लो ६ वर्षमै ईभी आयात १५ गुणाभन्दा धेरैले बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा कुल २९४० वटा विद्युतीय सवारी आयातमा भएकोमा गत आव २०८१/८२ आइपुग्दा १५ गुणाले बढेर ४४ हजार ५०९ युनिट पुगेको हो ।

६ वर्षमा मात्रै नेपालमा कुल १ लाख १८ हजार ५९० युनिट विद्युतीय सवारी आयात भएको भन्सार विभागको तथ्यांक छ । चालु आवको ३ महिना (साउन-असोज)को तथ्यांक जोड्ने हो भने सवा ६ वर्षमा १ लाख ३० हजार ४१७ ईभी आयात भएको देखिन्छ । कार, जीप, भ्यान, बस, मिनिबस, माइक्रोबस, ई रिक्सा, स्कुटर, मोटरसाइकल लगायत सबैको तथ्यांक हो ।

कुन वर्षमा कति भित्रिए ?

भन्सार विभागको तथ्यांक अनुसार आव २०७६/७७ मा कुल २ हजार ९४० युनिट ई रिक्सा आयात भएको थियो । आव २०७७/७८ मा अघिल्लो वर्षको तुलनामा दोब्बर बढी अर्थात् ६ हजार ८५८ युनिट ईभी भित्रिएको थियो ।

त्यस्तै, आव २०७८/७९ मा १२ हजार ८३१ युनिट आयात भएको थियो भने आव २०७९/८० मा डेढ गुणाले बढेर १८ हजार ९४९ युनिट पुगेको थियो ।

पछिल्ला दुई वर्षमा भने ईभी आयातमा ह्वात्तै वृद्धि भएको छ ।  आव २०८०/८१ मा कुल ३२ हजार ५०३ युनिट आयात भएको थियो भने गत आवमा सबैभन्दा धेरै ४४ हजार ५०९ युनिट आयात भएको थियो ।

चालु आव २०८२/८३ को ३ महिना (साउन-असोज)मा ११ हजार ८२७ युनिट ईभी आयात भएको छ ।

सबैभन्दा धेरै ई रिक्सा, तेस्रोमा कार

नेपालमा सबैभन्दा धेरै तीनपाँग्रे विद्युतीय सवारी भित्रिएको छ । सवा ६ वर्षको अवधिमा ५२ हजार ७६० युनिट ई रिक्सा आयात भएको छ । जसमा गत आवमा मात्रै साढे १६ हजार ई रिक्सा आयात भएको छ । पछिल्लो समय पहाड तथा तराईका ग्रामीण क्षेत्रमा ई रिक्सा यातायातको साधन बनेकाले आयात वर्षेनी बढेको हो ।

त्यस्तै, सवा ६ वर्षमा दोस्रो धेरै ३७ हजार ७८८ इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल भित्रिएका छन् । जसमा गत आवमा मात्रै ११ हजार ३२० युनिट दुईपाँग्रे ईभी आयात भएको छ । हाल नेपाली बजारमा ४ दर्जन बढी ब्राण्डका इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल आयात भइरहेको छ ।

विद्युतीय कारमा पनि उच्च आकर्ष देखिएको छ । पेट्रोल कारको तुलनामा सस्तो र हाइटेक फिचरसहित कार बजारमा आएपछि उपभोक्ताहरू यसतर्फ आकर्षित भएका हुन् । सवा ६ वर्षको अवधिमा ३५ हजार ४०६ युनिट विद्युतीय कार, जीप भ्यान आयात भएको छ । जसमा गत आवमा सबैभन्दा धेरै १३ हजार ५७८ युनिट आयात भएको छ । चालु आवको ३ महिनामा करिब २ हजार ६४४ युनिट ईभी कार आयात भइसकेको छ ।

निजी विद्युतीय सवारी आयात उच्च रहे पनि सार्वजनिक सवारी भने निकै कम छ । सवा ६ वर्षको अवधिमा विद्युतीय बस, मिनिबस र माइक्रोबस गरी कुल ४ हजार ४६३ युनिट मात्रै आयात भएको छ । सवा ६ वर्षमा ७७ युनिट ठूला बस, १ हजार ६१५ युनिट मिनिबस र २ हजार ७७१ युनिट माइक्रोबस आयात भएको छ ।

पर्याप्त चार्जिङ पूर्वाधारको अभाव, महँगो मूल्य, कम रेन्ज लगायत कारण सार्वजनिक सवारीको ईभीको प्रयोग अपेक्षित रूपमा बढ्न सकेको देखिँदैन । यद्यपि, आयात ग्राफ भने हरेक वर्ष बढ्दो क्रममै रहेको छ ।


Back_to_top