३३ इन्चको टायर भएको अफरोड इलेक्ट्रीक एसयूभी, रेन्ज कति ?

काठमाडौं । अफरोड एसयूभी भन्ने बित्तिकै ठूला ह्वील र पृथक टायर धेरैको मनमा आउँछ । ठ्याक्कै त्यसैगरी विश्व प्रसिद्ध जीप कम्पनीले ३३ इन्चको अफरोड टायर दिएर रेकन एसयूभी सार्वजनिक गरेको छ ।

अमेरिकी एसयूभी ब्राण्डले रेकन ईभीलाई आजबाट सुरु हुने लस एन्जलस अटो शोमा सार्वजनिक गर्न लागेको हो । स्टेलान्टिस ग्रुपको एसटीएलए डेडिकेटेड ईभी प्लेटफर्ममा बनेको रेकन प्योर अफरोड मेसिनको रुपमा बजारमा आउन लागेको हो ।

कम्पनीका अनुसार रेकन इलेक्ट्रीक एसयूभीमा १०० किलोवाट आवरको ब्याट्रीप्याक रहने छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४०० किलोमिटरभन्दा बढि रेन्ज दिने छ । अफरोड गाडी भएको कारण ठूलो ब्याट्रीमा पनि कम रेन्ज दावी गरिएको हो ।

अफरोडलाई नै ध्यानमा राखेर उत्पादन गरिएको रेकन एसयूभी फोर ह्वील ड्राइभ सिस्टमको साथ आउने छ । जीपले यसमा आफ्नो अफरोड गाडी बनाएको १०० औं वर्षको अनुभवलाई प्रयोग गरेको छ ।

ड्यूल मोटरको संयुक्त पावर ४०० किलोवाट हुनेछ । यसमा रहेको मोटरको पीकटर्क पनि ८४० न्यूटन मिटर छ । जसले ३.६ सेकेण्डमा १०० किलोमिटर प्रतिघण्टाको स्पीड भेट्टाउने छ ।

अफरोड यात्रा गराउन बनाइएको एसयूभीमा २३० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । जीपले रेकनमा रक क्रलिङ, क्लाइम्बीङ स्टेप्स, हिल डिसेन्ट कन्ट्रोल, इन्जिन ब्रेकिङ जस्ता फिचर प्रदान गरेको छ ।

जीप रेकनको अगाडिको भाग निकै आकर्षक छ । रेट्रो मोर्डन एस्थेटीक डिजाइनमा बनेको एसयूभीमा ‘यू सेप’को एलइडी डीआरएल, सेभेन स्लट इलुमीनेटेड ग्रिल पाउन सकिन्छ ।

रेकनमा प्रयोग भएका ढोकाहरु सबै झिक्न मिल्ने खालको छ । यसको क्यानविनमा १२.३ इन्चको डिजिटल क्लस्टर, १४.५ इन्चको इन्फोटेन्मेन्ट डिस्प्ले दिइएको छ । जुन स्टेलान्टीसको पछिल्लो सफ्टवेरमा आधारित रहेर संचालन हुनेछ ।


Back_to_top