काठमाडौं । स्क्रयाम्बलर डिजाइनका मोटरसाइकल हेर्दा जति आकर्षक देखिन्छन्, चलाउन पनि त्यति नै सहज हुन्छन् । यी मोटरसाइकल सहर, अफरोड र लामो यात्राको लागि उपयुक्त हुन्छन् ।
स्क्रयाम्बलर भन्नाले स्ट्रीप डाउन भिन्टेज शैलीको पुरानो मोडललाई बुझाउँछ । स्क्रयाम्बलर मोटरसाइकल नेपाली युवापुस्ता माझ पनि निकै लोकप्रिय छन् । तर, बजारमा धेरै विकल्प उपलब्ध छैन ।
हाल नेपालमा रोयल इनफिल्ड, ट्रायम्फ, यज्दी लगायत ब्राण्डका स्क्रयाम मोटरसाइकल बिक्री हुँदै आएका छन् । तीमध्ये ट्रायम्फ र रोयल इनफिल्ड मात्रै आफ्नो सेग्मेन्टमा स्थापित हुन सकेका छन् ।
रोयल इनफिल्डले ४४० सीसी र ट्रयाम्फले ४०० सीसीको स्क्रयाम्बलर मोटरसाइल बिक्री गर्दै आएका छन् । रोयलले यसअघि बिक्री गर्दै आएको स्क्रयाम ४११ को उत्पादन बन्द भएकाले हालै स्क्रयाम्बलर ४४० बजारमा ल्याएको हो । ट्रायम्फले भने सुरुवातदेखि नै स्क्रयाम ४०० एक्स मोडल बिक्री गर्दै आएको छ ।
प्रिमियम सेग्मेन्टमा पर्ने यी दुई मोटरसाइकलमा बीचमा यहाँ हामीले तुलनात्मक चर्चा गरेका छौं । जुन तपाईंको छनोट लागि सहयोगी बन्न सक्छ ।

डिजाइन
दुवै मोटरसाइकलमा लङ ट्राभल सस्पेन्सन तथा हाई ग्राउण्ड क्लियरेन्स दिइएको छ। दुवैमा अग्लो ह्याण्डलबार, राउण्ड डिजाइनको हेडलाइट सेटअप, हलुका किसिमको बडि फ्रेम, आरामदायी सिटिङ पोस्चर, आकर्षक ग्राफिक्स डिजाइन, राउण्ड मिरर र ह्याण्ड गार्ड छ ।
इन्जिन पर्फमेन्स
स्क्रयाम ४४० मोटरसाइकल रोयल इनफिल्डले आफ्नो नयाँ जे सिरिज प्लेटफर्ममा बनाएको हो । यसमा ४४३ सीसी क्षमताको सिंगल सिलिण्डर, फोर स्ट्रोक, एयर र आयल कुल्ड इन्जिन दिइएको छ । जुन, एफआइ इन्जिन हो । नयाँ इन्जिनले अधिकतम २५.४२ ब्रेक हर्सपावर र ३४ एनएम पीकटर्क जेनेरेट गर्छ ।
ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्समा ३९८ सीसी क्षमताको लिक्वीड कुल्ड, फोर भल्भ, सिंगल सिलिण्डर, एफआइ इन्जिन छ । यो इन्जिनले अधिकतम ४० हर्षपावर तथा ३७.५ एनएम टर्क जेनेरेट गर्छ ।
दुवै मोटरसाइकलमा ६ स्पीडको गियरबक्स दिइएको छ । रोयल इनफिल्ड स्क्रयाम्बलर ४४० को टप स्पीड क्षमता १२० किलोमिटर प्रतिघण्टा र ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्सको १५५ किलोमिटर प्रतिघण्टा रहेको छ ।
माइलेज
यी दुवै मोटरसाइकलमा २५ देखि ३० किलोमिटर प्रतिलिटरसम्मको माइलेज पाउन सकिन्छ । ट्रायम्फमा १३ लिटर र रोयल इनफिल्डमा १५ लिटरको फ्युल ट्याकं छ ।

टायर र सस्पेन्सन
दुवैै मोटरसाइकलमा डबल डिस्कब्रेक, डबल च्यानल एबीएस छ । ट्रायम्फमा डबल पर्पस ट्युबलेस टायर छ भने रोयल इनफिल्डमा ट्युब र ट्युबलेस दुवै छ । ट्रायम्फमा अलोय ह्वील मात्रै छ भने रोयल इनफिल्डमा अलोय ह्वील र वायर स्पोक ह्वील दुवै अप्सन छ । साथै, दुवैै मोटरसाइकलको फ्रन्टमा अपसाइड डाउन यूएसडी फोर्क र रियरमा एड्जस्टेबल मोनोसक सस्पेन्सन सेटअप छ ।
टेक फिचरहरू
दुवैै मोडलमा पूरा एलईडी लाइट सेटअप छ । ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्समा स्वीचेबल ट्रयाक्सन कन्ट्रोल, स्लीपर क्लच, राइड वाइ वायर थ्रोटल, सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, यूएसबी टाइप सी चार्जिङ पोर्ट र हिटेड ग्रीप रहेको छ ।
रोयल इनफिल्ड स्क्रयाम्बलर ४४० मा डिजिटल एनालग क्लस्टर, ट्रीपल पोड, ब्लुटुथ कनेक्टिभिटी सिस्टम, नेभिगेशन (अप्सनल), कल र एसएमएस नोटिफिकेसन र यूएसबी टाइप ए चार्जिङ पोर्ट पाइन्छ ।
मूल्य
बजारमा रोयल इनफिल्डको स्क्रयाम्बलर ४४० ट्रेल र फोर्स गरी दुई भेरियन्टमा उपलब्ध छ । नेपालका लागि रोयल इनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ट्रेल भेरियन्टको मूल्य ६ लाख ८९ हजार ९०० रुपैयाँ र फोर्स भेरियन्टको ६ लाख ९९ हजार ९०० रुपैयाँ तोकेको छ ।
त्यस्तै, ट्रायम्फ ४०० नेपालमा एउटा मात्रै भेरियन्टमा उपलब्ध छ । ट्रायम्फ मोटरसाइकलको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले यसको मूल्य ७ लाख १४ हजार ९०० रुपैयाँ तोकेको छ ।

