चल्तीका साना ईभी किन्न कति हुनुपर्छ मासिक कमाई ?

काठमाडौं । इलेक्ट्रीक कार अहिले बजारमा चर्चित छ । प्यासेन्जर कार सेग्मेन्टमा ईभीले ६० प्रतिशत हिस्सा ओगटेसँगै नयाँ कार किन्ने मानिसले एक पटक ईभीको बारेमा सोच्ने अवस्था बनेको छ ।

सुरुमा ईभी दोस्रो वा तेस्रो कारको रुपमा प्रयोग गर्ने मानिस भेटिन्थे । अहिले ईभी पहिलो कार किन्नेको रोजाईमा पर्न सफल भएको छ । त्यसैले मासिक रुपमा कति कमाउने मानिसले ईभी चढ्न सक्छन् भन्ने प्रश्न सबैको मनमा उब्जने गर्छ ।

ब्यक्तिले निजी कार किन्दा पेट्रोल तथा डिजेलबाट चल्नेको लागि अनिर्वाय मूल्यको ५० प्रतिशत रकम डाउन पेमेन्ट गर्नु पर्ने ब्यवस्था छ । तर, ईभीको हकमा २० प्रतिशत मात्रै डाउन पेमेन्ट गर्दा पुग्छ ।

नेपाल राष्ट्र बैंकले गाडी किन्ने मानिसको मासिक आम्दानीको ५० प्रतिशतभन्दा नबढ्ने गरी गाडी तथा आवास कर्जा दिन पाइने ब्यवस्था गरेको छ । त्यहि कारण मासिक किस्ताको दोब्बर रकम आम्दानी गर्ने मानिसले मात्रै गाडी चढ्न कर्जा पाउँछन् ।

अहिले बजारमा उपलब्ध साना ईभी १८ लाख रुपैयाँदेखि ४० लाख रुपैयाँसम्म मूल्य तोकेर बिक्री हुँदै आएका छन् । त्यस्तोमा न्यूनतम १८ लाखको ईभी २० प्रतिशत डाउन पेमेन्ट बुझाएर चढ्न चाहने मानिसको मासिक कमाई आधार मान्दा धेरै कुरा प्रस्ट हुने देखिन्छ ।

साना ईभीको मूल्य र मासिक किस्ता

अहिले बजारमा बिक्री भइरहेको सबैभन्दा कम मूल्यको ईभी एमजी कोमेट हो । यसको मूल्य १७ लाख ९९ हजार रुपैयाँ छ । यसलाई किन्ने ग्राहकले सुरुमा ३ लाख ५९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट बुझाउनु पर्ने हुन्छ । बाँकी १४ लाख ३९ हजार २०० रुपैयाँ वित्तिय संस्थाबाट कर्जा लिन पाइन्छ ।

वित्तिय बजारमा चलेको ११ प्रतिशत ब्याजदर छ । गाडी कर्जा ७ वर्ष भित्रमा चुक्ता गर्ने गरी कोमेट किन्दा मासिक २४ हजार ६४२ रुपैयाँ मासिक किस्ता बुझाउनु पर्छ ।

राष्ट्र बैंकको नियमानुसार कोमेटको इन्ट्री भेरियन्ट किन्ने मानिसको मासिक कमाई ५० हजार रुपैयाँ भएको खण्डमा मात्रै बैंकले कर्जा सुविधा उपलब्ध गराउने छ ।

त्यसैगरी बजारमा उपलब्ध अर्को सस्तो ईभी विलिङ एयर मिनी हो । यसको इन्ट्री भेरियन्टको मूल्य २० लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री भइरहेको छ । यसलाई कर्जामा किन्ने ग्राहकको मासिक आम्दानी कम्तीमा ६० हजार हाराहारी चाहिन्छ ।

टाटाको टियागो ईभी २१ लाख ९९ हजारदेखि नै किन्न पाइन्छ । टियागो ईभीको इन्ट्री भेरियन्ट किन्ने ग्राहकले ३० हजार २०० हाराहारी मासिक किस्ता तिर्नु पर्छ । त्यसैले टियागोको इन्ट्री भेरियन्ट किन्ने मासिको मासिक कमाइ ६० हजारभन्दा बढी हुनुपर्छ ।

अर्को बजारमा उपलब्ध सानो ईभी सिट्रोन सीथ्री हो । यसको सुरुवाती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ छ । यसलाई किन्दा २० प्रतिशत मात्रै डाउन पेमेन्ट गर्ने हो भने मासिक ४५ हजार रुपैयाँ किस्ता वापत तिर्नु पर्छ । उक्त कार किन्ने मानिसको मासिक आम्दानी न्यूनतम ९० हजारभन्दा माथि भए मात्रै कर्जा स्विकृत हुन्छ ।

नेटा भी पनि कम मूल्यको कारमा नै पर्छ । यसको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ छ । यसलाई किन्न चाहने ग्राहकले मासिक किस्ता ५३ हजारभन्दा बढी तिर्नु पर्छ । उक्त कार किन्नेको मासिक आम्दानी १ लाख ६ हजारभन्दा माथि भएमात्रै कर्जा स्विकृत हुन्छ ।

४० लाखभन्दा कम मूल्यको कार बीवाइडी डल्फीन ह्याचव्याक पनि हो । यसको मूल्य ३९ लाख ८० हजार रुपैयाँ छ । यसको मासिक किस्ता झण्डै ५५ हजार रुपैयाँ पर्छ । त्यसैले डल्फीन किन्न चाहनेको मासिक कमाई १ लाख १० हजार माथि हुनुपर्छ ।


Back_to_top