काठमाडौं । नेपालमा आयात हुने मोटरसाइकल र स्कुटरमा ५१ प्रतिशत ‘अन एसेम्बल’ आयात हुन थालेको छ । यसको मतलब कुल आयातको ५१ प्रतिशत दुई पाङ्ग्रे साधन नेपालमा नै एसेम्बल हुन थालेको हो ।
विगत ५ वर्षको दौरानमा सरकारले लिएको नीतिकै कारण ठूला बिक्रेताले नेपालमा नै एसेम्बल प्लान्ट संचालन गरेका हुन् । सुरूआतमा बजाजले एसेम्बल सुरू गरेकोमा अहिले टीभीएस, यामाहा, रोयल इनफिल्ड, बेनेली जस्ता ब्राण्डले नेपालमै एसेम्बल गरिरहेका छन् ।
चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन-असोज)मा कुल ४३ हजार ४७८ यूनिट मोटरसाइकल तथा स्कुटर आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । यसरी आयात भएका दुई पाङ्ग्रेमा सबैभन्दा ठूलो हिस्सा अन एसेम्बलको छ भने त्यसपछि पूर्ण तयारी मोटरसाइकल तथा स्कुटर आयातको देखिन्छ ।
तयारी मोटरसाइकल र स्कुटरको आयातमा सबैभन्दा धेरै होण्डाले आयात गरेको छ । किनभने होण्डाले नेपालमा एसेम्बल गर्दैन । उसको स्कुटरको बिक्री अहिले सबैभन्दा धेरै छ । त्यसैले होण्डा तयारी स्कुटर र मोटरसाइकल ल्याउने ब्राण्ड हो ।
यही एसेम्बल गर्ने ब्राण्डमा बजाजले सबैभन्दा धेरै आयात गर्दै आएको छ भने टीभीएसले पनि राम्रो संख्यामा आयात गर्दै आएको छ । यामाहाले केही महिनाअघि मात्रै नेपालमा एसेम्बल सुरू गरेको हो ।
नेपालमै एसेम्बल हुनेगरी आयात
साउनदेखि असोज मसान्तसम्म भएको कुल आयातको ५१ प्रतिशत अन एसेम्बल यूनिट छन् । जसमा १२५ सीसीसम्मका मोटरसाइकल र स्कुटरको संख्या सबैभन्दा धेरै छ । तीन महिनामा यो सेग्मेन्टमा ९ हजार ८७ यूनिट दुई पाङ्ग्रे आयात भएको छ ।
त्यसैगरी, १२६ देखि २०० सीसीसम्मका साधनको आयात ८ हजार २१७ यूनिट छ भने २०१ देखि २५० सीसीमा केवल ४६० यूनिट आयात भएको देखिन्छ ।

रोयल इनफिल्डको एसेम्बल प्लान्ट संचालनमा आएसँगै तीन महिनामा २५१ देखि ४०० सीसी सेग्मेन्टमा ४ हजार ३४२ यूनिट अन एसेम्बल मोटरसाइकल आयात भएको छ । ४०१ देखि ५०० सीसी सेग्मेन्टमा पनि ११२ यूनिट आयात भएको भन्सार तथ्यांकले देखाएको छ ।
तयारी मोटरसाइकल र स्कुटरको आयात
कुल आयातको ४६ प्रतिशत हिस्सा (कम्प्लीट ब्यूल्ट यूनिट) तयारी अवस्थाका मोटरसाइकल र स्कुटरको छ । तीन महिनामा तयारी मोटरसाइकल र स्कुटरको आयात कुल १९ हजार ८९० यूनिट भएको देखिन्छ । जसमा सबैभन्दा धेरै १८ हजार ४७२ यूनिट १२५ सीसीसम्मका छन् ।
यस बाहेक १२५ देखि २०० सीसी सेग्मेन्टमा १ हजार ३४३ यूनिट, २०१ देखि २५० सीसी सेग्मेन्टमा ५३, २५१ देखि ४०० सीसी सेग्मेन्टमा केबल २ यूनिट आयात भएको छ ।
पावरफुल सेग्मेन्ट मानिने ४०१ देखि ८०० सीसी सेग्मेन्टमा ३ र ८०० सीसी माथिको १ यूनिट मोटरसाइकल आयात भएको भन्सार तथ्यांकमा उल्लेख छ ।
ईभीमा अझै सकस
दुई पाङ्ग्रे ईभीमा ग्राहकको कन्फिडेन्स अझै देख्न सकिएको छैन । चालु आवको ३ महिनामा केबल १ हजार ३७१ यूनिट विद्युतीय दुई पाङ्ग्रे साधन आयात भएको देखिन्छ । झन्डै यति नै संख्यामा विद्युतीय कार नेपाल आएको छ ।
झन्डै ४ दर्जन ब्राण्डका विद्युतीय दुई पाङ्ग्रे साधन बजारमा उपलब्ध रहे पनि बजार हिस्सा केबल ३ प्रतिशत मात्रै छ । यसले दुई पाङ्ग्रे ईभीको बजार विस्तार गर्न व्यवसायी र सरकारले ठोस पहल गर्नु पर्ने देखिन्छ ।


