काठमाडौं । चिनियाँ ब्राण्ड जिलीको इलेक्ट्रीक सब ब्राण्ड जीकरले एक पटकको फुल चार्जमा ८७० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक कार बजार ल्याएको छ । कम्पनीले सेडान कारको रुपमा ल्याएको ‘जीकर-००७’ मोडलमा ४७५ किलोवाट क्षमताको निकै पावरफुल इलेक्ट्रीक मोटर दिएको छ ।
यति पावरफुल मोटर भएपनि यसले फुलचार्जमा ८७० किलोमिटर रेन्ज दिन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । कम्पनीले यसमा १०० किलोवाट आवरको ठूलो ब्याट्री दिएको छ । कम्पनीले दावी गरेको रेन्ज भने सिएटीएलले प्रमाणित गरेको हो ।
जिकर-००७ मोडललाई कम्पनीले पीएमए२ प्लेटफर्ममा बनाएको हो । ८०० भोल्ट आर्किटेक्चरमा तयार भएको सेडान कार निकै आधुनिक फिचर लोडेड रहेको छ । यसलाई १५ मिनेट चार्ज गर्दा ६१० किलोमिटर चलाउन पुग्ने रिचार्ज गर्न सकिने कम्पनीको भनाइ छ ।
पावरको हिसावले यसमा दुई अप्सन पाउन सकिन्छ । रियर ह्वील ड्राइभ भर्सनमा ३१० किलोवाटको मोटर छ भने अल ह्वील ड्राइभ भर्सनमा ४७५ किलोवाटको मोटर रहेको छ । यो सेडान कारको अल ह्वील ड्राइभ सर्मनले सून्यबाट १०० किलोमिटर प्रतिघन्टाको स्पीड केबल २.८४ सेकेन्डमा भेट्टाउने कम्पनीको दावी छ ।


