बाइक चोरीको अन्त्य, यसरी गर्छ इन्जिन इमोबिलाइजरले काम

काठमाडौं । अहिलेको स्मार्ट सवारीको यूगमा अटोमोबाइल क्षेत्रमा बिभिन्न इनोभेसनहरु भइरहेका छन् । राइडरको सुरक्षाका लागि मात्र होइन सवारी साधनको सुरक्षाका लागि पनि धेरै काम भएका छन् ।

यस्तै एक खोज हो इन्जिन इमोबिलाइजर टेक्नोलोजी । चारपाङ्ग्रे सवारी साधनमा सामान्य मानिने यो टेक्नोलोजी मोटरसाइकलमा भने त्यति धेरै प्रयोग भएको पाइदैन ।

नेपाली बजारमा उपलब्ध ट्रायम्फका दुई मोटरसाइकलमा इन्जिन इमोबिलाइजर टेक्नोलोजी प्रयोग भएको छ । ट्रायम्फ स्पीड ४०० र स्क्रयाम्बलर ४०० एक्समा इन्जिन इमोविलाइजर छ । इमोविलाइजर प्रयोग भएको सबैभन्दा कममा मूल्यको मोटरसाइकल यी दुई हुन् ।

महंगा मोटरसाइकहरु डुकाटी, एमभी अगष्टा जस्ता मोटरसाइकलमा आउने यो फिचर ७ लाख रुपैयाँभन्दा कमको ट्रायम्फ मोटरसाइकल मै पाइन्छ ।

निकै सामान्य तर, अत्यन्तै महत्वपुर्ण यो टेक्नोलोजी इन्जिन इमोबिलाइजर के हो ? यसले कसरी काम गर्छ र यसको फाइदा के के छन् भन्ने बारेमा आज हामी चर्चा गरेका छौं ।

के हो इन्जिन इमोबिलाइजर ?

इन्जिन इमोबिलाइजर एक इलेक्ट्रोनिक सुरक्षा प्रणाली हो । यसको प्रयोग भएको सवारी साधनमा सहि साँचोको प्रयोग गरेर मात्रै इन्जिन स्टार्ट गर्न सकिन्छ । कम्पनीले दिएको साँचो बाहेक अन्य चाबी वा वायरिङमा छेडखानी गरेर स्टार्ट गर्न सकिदैन ।

यसले कसरी काम गर्छ ?

इन्जिन इमोबिलाइजर भएको मोटरसाइकलमा हामीले जब सहि चाबीको प्रयोग गर्छौ तब, चाबीमा भएको माइक्रोचीपले मोटरसाइकलमा राखिएको कोड रिड गर्ने सिस्टमले सहि चाबी भएको सिग्नल इन्जिन कन्ट्रोल युनिट (इसीयू)मा पठाउँछ । त्यसपछि चाबीको चीप सहि भएको खण्डमा मात्र इन्जिन स्टार्ट हुन्छ ।

यस्तो छ फाइदा

इन्जिन इमोबिलाइजरको सबैभन्दा ठूलो फाइदा भनेको चोरी हुने सम्भावना रहँदैन् । नक्कली चाबीको प्रयोग गरेर वा हट वायरिङ (चल्तिको भाषामा डाइरेक्ट) गरेर पनि मोटरसाइकल स्टार्ट गर्न सकिदैन । जुनसकै ठाउँमा पनि ढुक्कसँग मोटरसाइकल पार्किङ गर्न सकिन्छ । कुनैकुनै देशमा इन्जिन इमोबिलाइजर भएको मोटरसाइकलको इन्स्योरेन्समै छुट पाइन्छ ।


Back_to_top