काठमाडौं । अब सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)मा चिप्सको सट्टा क्यूआर कोड राखिने भएको छ ।
नेपाल सरकारको स्वामित्वको सुरक्षण मुद्रण केन्द्रले लाइसेन्स छाप्ने भएसँगै चिप्सको ठाउँमा क्यूआर कोड राख्न लागिएको हो ।
यातायात व्यवस्था विभाग, सूचना प्रवधि शाखा प्रमुख केशव खतिवडाले अब छापिने लाइसेन्समा क्यूआर कोड राखिने जानकारी दिए । सुरक्षण मुद्रण केन्द्रले चिप्स राखेर लाइसेन्स छाप्न नसक्ने भएपछि त्यसको ठाउँमा क्यूआर राख्न लागिएको उनले बताए ।
‘हाल मद्रास सेक्युरिटी प्रिन्टर्सले छापिरहेको लाइसेन्समा चिप्स राखिएको छ । अब नेपालमै मुद्रण केन्द्रले लाइसेन्स छाप्ने भएको छ । ३० लाख लाइसेन्स छाप्न मुद्रण केन्द्रसँग सम्झौता समेत भइसकेको छ,’ उनले मेरोअटोसँग भने, ‘तर, मुद्रण केन्द्रमा भएको मेसिनले हालको जस्तै चिप्स राखेर लाइसेन्स छाप्न नसक्ने भनिएको छ । त्यसैले अब चिप्सको सट्टा क्यूआर कोड राख्न लागिएको हो ।’
यसअघि लाइसेन्सको चिप्समा हुने व्यक्तिगत विवरण अब क्यूआर कोडमा राखिने उनले बताए । उनका अनुसार मुद्रण केन्द्रले लाइसेन्स छाप्दा हाल भएकोभन्दा ४ वटा फिचर कम हुने उनले बताए । अब छापिने लाइसेन्समा चिप्सबाहेक क्लियर विन्डो, डोभिड र अल्ट्रा भ्वाइलेट फिचर नहुने उनले जानकारी दिए ।हाल वितरण भएका स्मार्ट लाइसेन्समा भएको चिप्स कम गुणस्तरको हुँदा उप्कने गरेको समते गुनासो आइरहेको छ ।
उनका अनुसार हाल ३० लाख लाइसेन्स छाप्न बाँकी छ । मुद्रण केन्द्रले लाइसेन्स छाप्न थालेपछि वेटिङ पिरियड घट्ने उनले बताए । मुद्रण केन्द्रले प्रतिघण्टा १ हजार ५०० वटाका दरले लाइसेन्स छाप्न सक्छ । यद्यपि, मुद्रण केन्द्रसँग लाइसेन्स छाप्न सम्झौता भए पनि अन्तिम टुंगो लागिसकेको छैन । केन्द्रले लाइसेन्स छपाइ गर्न सक्ने/नसक्ने बारे असार भित्रै निधो दिइसक्ने उनले बताए ।
स्वदेशमै लाइसेन्स छाप्दा ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिन रोकिने उनले बताए । साथै, नयाँ टेन्डर गर्दा धेरै समय लाग्ने भएकाले सरकारकै मातहतको मुद्रण केन्द्रले लाइसेन्स छाप्दा चाँडै हुने र लागत समेत घट्ने उनले बताए ।
मुद्रण केन्द्र र विभाग बीच हालै ३० लाख लाइसेन्स छपाइका लागि सम्झौता भएको छ । सो अनुसार केन्द्रले आगामी साउनदेखि लाइसेन्स छाप्न सुरू गर्नेछ ।

