आयो साझाको २० वटा नयाँ बस, जेठबाट संचालनमा आउने

काठमाडौं । साझा यातायातले जेठ महिना भित्र २० वटा बस सञ्चालन गर्ने भएको छ । साझाले किनेको २० वटा नयाँ बस गत शुक्रबार मात्र काठमाडौं आइपुगेको हो । 

नयाँ बसहरु हाल बालाजुमा राखिएको छ । अहिले बसहरुको प्राविधिक चेकजाँच भइरहेको  साझाका कामुसीइओ महेन्द्रराज पाण्डेयले जानकारी दिए । 

उनका अनुसार जेठ महिना भित्र उक्त बसहरु सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । 

अशोक लेल्यान्ड कम्पनीले बनाएका बसहरु उसको आधिकारी विक्रेता आइएमई अटो मोटिभ्सले साझालाई प्राविधिक चेकजाँच पछि हस्तान्त्रण गर्ने तयारी गरेको छ । 

प्राविधिक चेकजाँच पछि दर्ता प्रकृयामा लगिने र रुटपर्मीट पुरा गरेपछि मात्र सञ्चालनमा ल्याइने पाण्डेले बताए । 

‘बस आइसकेको छ, जेठसम्ममा सबै प्रकृया पुरा गरेर सञ्चालनमा ल्याउने छौँ,’ पाण्डेले मेरोअटोसँग भने । 

४१ सिटे उक्त बसहरु यूरो–४ मापदण्ड अन्तर्गत रहेको अशोक लेल्यान्डको आधिकारीक विक्रेता आइएमई अटो मोटिभ्सले जानकारी दिएको छ । 

आइएमई अटो मोटिभ्सका डेपुटी कार्यकारी प्रमुख सुरज भट्टराइका अनुसार सो बसहरु प्राविधिक चेकजाँचपछि साझालाई छिटै हस्तान्त्रण गरिने छ । 


Back_to_top