साउनमा चीनभन्दा भारतबाट धेरै ईभी आयात, कुन देशबाट कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउनमा विद्युतीय कार (ईभी) आयातमा उच्च गिरावट आएको छ ।

भन्सार विभागका अनुसार गत वर्षको साउनको तुलनामा चालु आवमा विद्युतीय कार आयत ५८ प्रतिशतले घटेको हो । गत वर्ष साउनमा ३८१ युनिट ईभी कार आयात भएकोमा चालु आवमा १६० युनिटमा मात्रै सीमित भएको हो ।

चालु आवको साउनमा ४१ करोड ८८ लाख रुपैयाँ बराबरको ईभी कार आयात भएको हो । सो बापत सरकारले २८ करोड २९ लाख रुपैयाँ राजस्व पाएको छ ।

साउनमा ५ देशबाट ईभी आयात भएको छ । जसमा भारतबाट सबैभन्दा धेरै ८५ युनिट ईभी आयात भएको छ ।

त्यस्तै, साउनमा चीनबाट १९ करोड ६६ लाख रुपैयाँ बराबरको ६० युनिट ईभी आयात भएको छ । सामान्यतया अरु बेला कुल ईभी आयातको झन्डै ७० प्रतिशत चीनबाट आउँथ्यो ।

त्यस्तै, साउनमा थाइल्याण्डबाट १३ युनिट, अमेरिका र दक्षिण कोरियाबाट ११ युनिट ईभी कार आयात भएको विभागको तथ्यांक छ ।

मुख्गरी चीनबाट ईभी आयात प्रभावित हुँदा गिरावट आएको हो । बाढीपहिरोको कारण ईभी आयात हुने मुख्य नाका रसुवागढी असार २४ गतेदेखि ठप्प छ । त्यस्तै, तातोपनी नाका पनि यसबीचमा पटक पटक बन्द भएकाले चीनबाट ईभी आयात घटेको हो ।

त्यस्तै, व्यवसायीले कर बढ्ने हल्लाका कारण बजेट अघि नै साढे ५ हजार बढी ईभी आयात गरेको थिए । ती ईभी अहिले स्टकमै रहेकाले पनि आयात केही घटेको व्यवसायीहरू नै बताउँछन् ।


Back_to_top