सेकेण्ड ह्याण्ड ईभी खरिद गर्दा छुटाउनै नहुने ३ काम

काठमाडौं । नेपालमा विगत ५ वर्ष यता विद्युतीय सवारी साधन (ईभी)को प्रयोग व्यापक भएको छ । अहिले बिक्री हुने कुल नयाँ कार बिक्री मध्ये झण्डै ६५ प्रतिशत हिस्सा ईभीको रहेको छ ।

ईभीको प्रयोग बढेसँगै विभिन्न मोडलका ईभीहरू सेकेण्ड ह्याण्ड मार्केटमा आउन थालेका छन् । यस्ता ईभीहरू खरिद गर्न चाहने र बिक्री गर्न चाहनेलाई कसरी भ्यालुएसन गर्ने भन्ने कन्फ्युजन रहेको देखिन्छ ।

प्रायःजसो ईभीका बिक्रेताहरूले ईभीको मुख्य कम्पोनेन्ट हाइभोल्टेज ब्याट्रीको वारेन्टी ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको दिएका छन् । यस्तोमा धेरै किलोमिटर बाँकी नै रहे पनि ४ वा ५ वर्ष बितेका ईभीहरूको लाइझ ३÷४ वर्ष मात्र रहेको बुझाइ छ ।

तर, ईभीको ब्याट्रीको लाइफ भने चार्जिङ साइकलमा निर्भर हुन्छ । धेरै वर्ष बितेको भए पनि चार्जिङ साइकल कम मात्र प्रयोग भएको छ भने कम्पनीले वारेन्टी दिएको भन्दा धेरै वर्ष सजिलैसँग यस्ता ईभीहरू चलाउन सकिन्छ । यी हुन् पुराना ईभी खरिद गर्दा ख्याल गर्नैपर्ने मुख्य ३ कुरा

ब्याट्री हेल्थ चेकअप

ईभीको मुख्य अंग ब्याट्री हो । सेकण्ड ह्याण्ड ईभी खरिद गर्दा ब्याट्रीको हेल्थ र चार्जिङ क्षमलाई मुख्य रूपमा गणना गरिनुपर्छ । यसका अलावा सर्भिस सेन्टरको उपलब्धता र पार्टसको कस्टलाई समेत ध्यान दिनु पर्छ ।

ब्याट्रीको हेल्थ आइफोनमा जस्तो गाडीमै सजिलै हेर्न मिल्दैन । यसका लागि कुन कम्पनीको ईभी हो उक्त कम्पनीको आधिकारिक सर्भिस सेन्टरमा गएर हेर्न सकिन्छ । अझ कन्फर्मेसनको लागि उक्त सर्भिस सेन्टरलाई ब्याट्री हेल्थको रिपोर्ट प्रिन्टआउट नै माग्नुपर्छ । सेकेण्ड ह्याड ईभी खरिद गर्दा ब्याट्री हेल्थ ८० प्रतिशतभन्दा धेरै भएकोलाई राम्रो मानिन्छ ।

कारको रेन्जलाई ब्याट्रीले निर्धारण गर्ने भएकोले ब्याट्री हेल्थका साथै आफैंले केही किलोमिटर चलाएर पनि ईभीको रेन्ज अनुमान गर्न सकिन्छ । कारको ड्यासबोर्डमा दिएको रिमेनिङ रेन्ज र आफूले कार चलाउँदा पाएको रेन्ज बराबर छ वा छैन ध्यानपूर्वक हेर्नुपर्छ ।

यदि कारमा २०० किलोमिटरको रेन्ज बाँकी छ भने पनि ५० किलोमिटर चलाउँदैमा १०० किलोमिटरको बाँकी रेन्ज घट्यो भने त्यसमा समस्या छ भन्ने बुझ्नुपर्छ । तर, रेन्जलाई उकालो ओरालो बाटो, कारको क्याबिनमा चलाइएको हिटर वा एसी र बाहिरी तापक्रमले पनि असर गरिरहेको हुन्छ ।

ब्याट्री हेल्थ र रेन्ज अनुमान गरेको जस्तै पाएमा अब चार्जिङ गरेर समेत हेर्नुपर्छ । चार्जिङ स्टेशनमा लगेर प्लगइन गर्दा कति स्पीडमा चार्ज लिइरहेको छ त्यसको डाटा चार्जरमा हेर्न सकिन्छ । तर, चार्ज गर्दा ८० प्रतिशत भन्दा माथिको चार्जलाई बेन्चमार्क बनाउनु हुँदैन । प्रायः ईभीमा ८० बाट १०० प्रतिशत चार्ज एकदमै स्लो रेटमा हुन्छ ।

सुरूवातको फास्ट चार्जिङमा ब्याट्रीको टेम्प्रेचर बढ्ने र सबै सेलमा समान चार्ज नहुने भएकाले गाडीमा रहेको ब्याट्री मेनेजमेन्ट सिस्टमले ब्याट्री हेल्थलाई जोगाउन पछिल्लो ८० बाट १०० प्रतिशत सम्मको चार्जलाई स्लोडाउन गर्छ । ईभीमा चार्ज गरेर हेर्दा ईभीको चार्जिङ पोर्ट सीसीएस टु हो कि जीबीटी निक्र्यौल गर्नुपर्छ ।

नेपालमा निजी सवारीमा सीसीएस टु र सार्वजनिक सवारीहरूमा जीबीटी चार्जरको प्रयोग हुने गरेको छ । यदि तपाईंले खरिद गर्न लागेको ईभीमा जीबीटी वा चाडेमो पोर्ट छ भने सार्वजनिक रूपमा चार्जर भेट्टाउन गाह्रो पर्छ ।

सबै सिस्टम चेक गर्नुपर्छ

चार्जिङ अलावा ईभीमा धेरै मोर्डन टेक्नलोजीहरू प्रयोग हुने भएकाले यसका सबै सिस्टमहरू चेक गर्नुपर्छ । ईभीमा धेरै सेन्सर, क्यामरा, राडार, लाइडार जस्ता नयाँ प्रविधिहरू प्रयोग भएका हुन्छन् । कुनै पनि सेन्सर वा क्यामराले काम गरेको छैन भने यसको रिप्लेसमेन्ट कस्ट धेरै आउछ । कारको ड्यासबोर्डमा रहेका सबै फङ्सनहरू चुस्त दुरुस्त छ वा छैन साथै कारमा दिएको इको, स्पोट्स, नर्मल मोडमा कारको पर्फमेन्स सबै चेक गर्नुपर्छ ।

पार्टसहरूको चेकजाँच

अन्त्यमा सेकेन्ड ह्याण्ड ईभी खरिद गर्दा फिजिकल इक्कुपमेन्टहरू अनबोर्ड चार्जर, भीटुएल केबल, स्पेयर ह्वील वा पंचर किट, गाडीमा लागेका टायरको अवस्था सबै राम्रोसँग चेक गर्नुपर्छ । गाडीमा रहेको हाइभोल्टेज ब्याट्री, मोटर मुख्य कम्पोनेन्ट भएता पनि अन्य पाट्सको पनि ईभीमा एकदमै धेरै महत्व रहेको छ ।


Back_to_top