ईभी प्रयोगकर्तालाई गिज्याइरहेको सार्वजनिक चार्जिङ स्टेशनको तस्बिर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले संचालनमा ल्याएका चार्जिङ स्टेशन उपभोक्ताको लापरवाहीको मारमा पर्दै आएको छ । तर चुडाल्ने, चार्जिङ गन फुटाल्नेदेखि वरपर राखिएको रेलिङ भाँच्नेसम्मका गतिविधि चार्जर प्रयोगकर्ताले गर्दै आएको देखिन्छ ।

त्यस्तै एउटा घटनालाई विद्युत प्राधिकरण चार्जिङ पूर्वाधर निर्माण विभागका प्रमुख सागरमणी ज्ञावालीले फोटो सेयर गर्दै बाहिर ल्याएका छन् । उनले सेयर गरेको फोटोमा गाडीको प्रस्ट नम्बर समेत देखिएको छ ।

बागमती प्रदेश-०१, ०३१च, ०५३२ नम्बरको विद्युतीय साधनले तन्काएर निकै सकसपूर्ण तरिकाले चार्जर प्रयोग गरेको फोटोमा देख्न सकिन्छ । उक्त फोटो सेयर गर्दै सागरमणी ज्ञावालीले फेसबुकमा लेखेका छन्, ‘हजुरहरुलाई आफ्नो गाडीको जति माया लाग्छ, हामीलाई सार्वजनिक प्रयोजनमा राखिएको चार्जरको उस्तै माया लाग्छ । कृपया गाडीमा चार्जर जोड्दा यस्तो बिद्रुप तरिकाले प्रयोग नगरौ । गन तन्किन्छ । तार चुडिन्छ । जोइन्ट भाचिन्छ । तपाईं पछि पनि अर्को मान्छेले प्रयोग गर्नु पर्छ । मान्छेले जानी जानी गन थुतिदिने, तन्काइदिने र ह्वात्त फाल्दिने !! सबैले संयमित भएर चार्जर चलाउ ।’

सार्वजनिक चार्जरको प्रयोगमा गाडी प्रयोगकर्ताले गरेको लावपरवाहीको यो पहिलो घटना होइन । केही महिना अगाडि मात्रै झण्डै २० स्थानमा गनहरु भाँचिएको र तारहरु चुडिएको थियो । प्राधिकरणले यसरी बिग्रका चार्जरहरु मर्मत गरेर पुनः संचालनमा ल्याउने गरेको छ ।


Back_to_top