काठमाडौं । सन् २०२१ को आज अन्तिम दिन हो । विश्व अटोमोबाइल बजारमा केही सकारात्मक र केही नकारात्मक परिघटनाले २०२१ लाई चर्चामा राख्न सफल भयो ।
कोभिड १९ को दोस्रो लहरले सन् २०२१ को करिब ४ महिना बजार शून्य प्रायः भयो । यसका बाबजुद, गाडी विक्रीको हिसाबले सन् २०२१ लाई राम्रो मान्न सकिन्छ ।
सन् २०२१ मा नेपाल आयात भएको प्यासेन्जर कारको संख्या एकीन नभए पनि अन्दाजी १६ हजार यूनिट प्यासेन्जर गाडी विक्री भएको अनुमान गर्न सकिन्छ । यो सन् २०२० को तुलनामा झण्डै ३० प्रतिशतको वृद्धि हो ।
त्यसैगरी, दुई पाङ्ग्रे, तीन पाङ्ग्रे, लाइट कमर्शियल र कमर्शियल गाडीको विक्री पनि राम्रो संख्यामा भएको छ । अझ सन् २०२१ को सुरूआत निराशाजनक रहे पनि विद्युतीय गाडीको विक्री करिब १ हजार यूनिट पुगेको अनुमान गर्न सकिन्छ ।
यस अवधिमा एमजी, हुन्डाई, बीवाइडी, किया, दिगो र टाटाले विद्युतीय गाडी राम्रै संख्यामा विक्री गर्न सफल भए । सुरूमा सरकारले लगाएको भन्सार र अन्तःशुल्कको कारण विद्युतीय गाडीमा सकारात्मक प्रभाव पर्न नसकेपनि २०२१ मे २९ तारिख अर्थात् जेठ १५ गते सार्वजनिक भएको चालु आर्थिक वर्षको बजेटले विद्युतीय गाडीमा लाग्ने भन्सार घटाउँदै अन्तःशुल्क हटाएपछि विद्युतीय गाडीको विक्री बढ्न थालेको थियो । यस आधारमा सन् २०२१ विद्युतीय गाडीको लागि नयाँ ‘बेञ्चमार्क’ कायम गर्न सफल भएको छ ।
विद्युतीय दुई पाङ्ग्रे साधनको लागि पनि यो वर्ष निकै सफल देखियो । बजारमा रहेका ब्राण्डका अलावा थुप्रै नयाँ विद्युतीय ब्राण्डले नेपाल प्रवेश गरे । चिनियाँ ब्राण्डको नेपाल प्रवेशका हिसाबले पनि सन् २०२१ निकै राम्रो देखियो । ग्रेटवाल मोटर्स, चेरी र चांगन जस्ता ब्राण्डले नेपालमा आफ्नो विक्री सुरू गरे ।

सन् २०२१ मा अटो क्षेत्रमा केही समस्या पनि देखिए । विश्व बजारमा चिप्स (सेमी कन्डक्टर) को समस्या निकै भयावह भयो । त्यही कारण अधिकांश कम्पनीले बजार माग अनुसार गाडी उत्पादन गर्न सकेनन् । बढ्दो स्टील, रबर र प्लाष्टीकको मूल्यले गाडीको मूल्यमा निकै वृद्धि भयो ।
माग अनुसारको उत्पादन हुन नसक्दा हुन्डाई क्रेटा, महिन्द्रा स्कर्पियो, किया सेल्टोस, निसान म्याग्नाइट जस्ता मोडल किन्न चाहने ग्राहकले नेपालमा धेरै छनोट पाउन सकेनन् । यी गाडीको अहिले पनि राम्रो संख्यामा बुकिङ रहेको छ ।
सन् २०२१ विशेषतः यूटिलिटी भेहिकलको बढ्दो बजारको कारण पनि चिनियो । यो एक वर्षमा मारुती सुजुकी ब्रेजा, हुन्डाई क्रेटा, निसान म्याग्नाइट, महिन्द्रा स्कर्पियो, हुन्डाई ग्राण्ड आई १०, किया सेल्टोस, हुन्डाई भेन्यू, किया सोनेट जस्ता मोडल धेरै विक्री हुने मोडल बने ।
सन् २०२१ मा नेपाल आएका निसान म्याग्नाइट, रेनो काइगर, स्कोडा कुशक, जीप कम्पास फेसलिफ्ट, नेक्सन इभी जस्ता मोडलले धेरै ग्राहकको मन जित्न सफल भए ।


