काठमाडौं । आगामी असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ईभी एक्स्पो २०२२ मा २०० किलोमिटर रेन्ज भएको नयाँ इलेक्ट्रीक मोटरसाइकल आउने भएको छ ।
नेपाली बजारमा यसलाई ई-मोटोले विक्री वितरण गर्नेछ । ई-मोटो गोल्छा अर्गनाइजेशन अन्तर्गतको कम्पनी हो ।
ई-मोटोले नेपाल ल्याउन लागेको इलेक्ट्रीक मोटरसाइकल भारतको बैंगलोर बेस स्टार्टअप कम्पनी ओवेनले उत्पादन गरेको हो ।
ओवेनले रोर मोटरसाइकलको भारतमा बुकिङ खुलाएको केही समयमा नै १५ हजार यूनिटभन्दा धेरै बुकिङ लिएको छ । कम्पनीले भारतीय बजारमा यो मोटरसाइकल अक्टूवरदेखि डेलिभरी दिने बताएको हो ।
कम्पनीले भारतमा १ लाख एक्स शोरुम मूल्य तोकेर ‘ओवेन रोर’ इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको हो ।
कम्पनीले फ्युचरस्टीक डिजाइनमा तयार पारेको यो मोटरसाइकलमा राउण्डसेप एलइडी हेडल्याम्प दिएको छ । त्यस्तै यसमा इन्टिग्रेटेड गोलाकार एलइडी डिआरएल, स्प्लीट सिट, स्प्लीट ग्रयावरेल, अलोय ह्वील दिएको छ ।
ओवेनका अनुसार यो मोटरसाइकल ० देखि ४० को स्पीड मात्र ३ सेकेन्डमा पुरा गर्छ । यो मोटरसाइकलको टप स्पीड १०० किलोमिटर प्रतिघन्टा रहेको छ । ओवेन रोरमा तीन राइडिङ मोड दिइएको छ ।
यो मोटरसाइकलमा ४.४ किलोवाट क्षमताको ब्याट्री प्याक दिइएको छ । यसमा ब्याट्री कुलिङ प्रविधि (एमएचएक्स)को प्रयोग गरिएको छ । यो मोटरसाइकलले ६२ एनएम टर्क प्रदान गर्छ ।
ओवेन रोरको अगाडि टेलिस्कोपिक सस्पेन्सन र पछाडि मोनोसक सस्पेन्सन दिइएको छ । ब्रेकिङ सेटअपमा दुबै तर्फ डिस्क ब्रेक दिइएको छ भने, एबीएस उपलब्ध छैन । त्यस्तै यसमा एलइडी इन्स्ट्रुमेन्ट कन्सोलका साथै कनेक्टिभिटी फिचर पाउन सकिन्छ ।

