काठमाडौं । पछिल्लो समय नेपाली बजारमा पनि दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे विद्युतीय सवारीसाधन भित्रिने क्रम बढेको छ । करिब ११ वर्ष अगाडि चारपाङ्ग्रे विद्युतीय सवारीअन्तर्गत रेभाको नेपाल प्रबेशपछि क्रमिकरुपमा अय कम्पनीले इलेक्ट्रीक कार नेपाल ल्याउन सुरु गरेको हो ।
भारतीय बजारमा महिन्द्रा रेभाले सन् २००१ मा विद्युतीय सवारी रेभा सार्वजनिक गरेको थियो । तत्कालै त्यसलाई नेपाली बजारमा ल्याउने प्रयास भए पनि २००७ मा मात्र रेभा नेपाल ल्याउन सफल भएको थियो । हाल रेभा नेपालमा बिक्री–वितरण हुँदैन ।
यो पनि पढ्नुहोस्: यी एक दर्जन कार २०१९ बाट सधैका लागि बन्द हुँदै
अहिले नेपाली बजारमा महिन्द्रा, किया, बीवाईडी, प्यूजो र हुन्डाईका ६ मोडलका बिभिन्न भेरियन्टको बिक्री वितरण हुँदै आएको छ । नेपालमा बिक्री–वितरण भइरहेका इलेक्ट्रीक सवारीसाधन निम्न प्रकारका छन् ।
महिन्द्रा ईटुओ–प्लस
महिन्द्राको ईटुओ–प्लस नेपालमा २० लाख रुपैयाँबाटै किन्न सकिन्छ । कम्पनीले ईटुओ–प्लस पी४को मूल्य २० लाख तोकेको छ भने पी–६को मूल्य २२ लाख रुपैयाँ रहेको छ । ३ कलर भेरियन्टमा उपलब्ध यो कार रातो, निलो र सिल्भर कलरमा किन्न सकिन्छ ।

यो कारमा प्रयोग भएको लिथियम–आयन ब्याट्रीलाई फुलचार्ज गर्न ५ देखि ६ घन्टामा लाग्ने छ भने एक पटकको फूलचार्जमा १४० किलोमिटर चलाउन सकिने कम्पनीले जनाएको छ ।
यसमा एयरब्यागलगायतको सेफ्टी–फिर्चस छन् भने अधिकतम् शक्ति ४१ बीएचपी र अधिकतम् टर्क ९१ एनएममा जेनेरेट गर्छ ।
किया ‘सोल–ईभी’
कोरियाली अटो कम्पनी कियाको नेपालको लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप्राइजेजले विद्युतीय कार ‘सोल–ईभी’ बिक्री–वितरण गर्दै आइरहेको छ । उच्च प्रविधि जडान भएको सोल–ईभीको ब्याट्री शक्तिशाली रहेको र एकपटक पूरा चार्जमा १ सय ८० किलोमिटर गुड्ने कम्पनीले जनाएको छ ।

यो कारमा लिथियम आयान पोलिमर ब्याट्री छ, जसको पावर ९० किलोवाट छ । धेरै कुद्ने भए पनि यसको ब्याट्री चार्ज गर्न चार्ज स्टेसनको डीसी फास्ट चार्जरबाट चार्ज गर्दा ३३ मिनेट, एसी फास्ट चार्जरबाट ४ घन्टा र कार किन्दा ग्राहकलाई दिइने एसिलो चार्जरबाट मौसमअनुसार १५ देखि १८ घन्टा लाग्ने कम्पनीले जनाएको छ ।
यसको ब्याट्रीमा सात वर्षको ग्यारेन्टी दिइएको छ । यात्रु तथा चालकको सुरक्षाका लागि यसमा एयरब्याग समावेस छ । दुईवटा संस्करणमा उपलब्ध यो कारको मूल्य क्रमशः ५६ र ५८ लाख रुपैयाँ छ ।
‘बीवाईडी ई–६’
सन् २०१५ मा संसारमा सबैभन्दा बढी विद्युतीय सवारीसाधन बिक्री गर्न सफल चिनियाँ विद्युतीय ब्याट्री गाडी निर्माता कम्पनी बीवाईडीलेको बिक्री गतवर्षदेखि नेपालमा पनि भइरहेको छ । सिमेक्स प्रालिले नेपालमा उक्त गाडी बिक्री सुरु गरेको हो ।

कम्पनीले नेपालमा ‘बीवाइडी–ई–६’ कार बिक्री वितरण गरिरहेको छ । एकपटक चार्ज गरेपछि चार सय किलोमिटर ड्राइभिङ्ग गर्न सकिने छ । यसमा रहेको इन्जिन ८० किलोवाट आइरन–फोस्फेट ब्याट्री रहेको छ, भने यसले अधिकतम् पावर ९० किलोवाट पावर र ४५० एनएम टर्क उत्पादन गर्छ । अधिकतम् गति १४० किलोमिटर प्रतिघन्टा रहने यो कारको ब्याट्री २ घन्टामा फूलचार्ज हुन्छ ।
२४२० केजी तौल रहेको यो कारमा ५ जनाले आरामदायी यात्रा गर्न सक्नेछन् । यो गडीको मूल्य ६६ लाख रुपैयाँ रहेको छ भने ३०० किलोमिटर ररेन्ज दिने कारको मूल्य भने ५० लाख मूल्य रहेको छ ।
हुन्डाई कोना–ईभी
हुन्डाई मोटरका लागि नेपालको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले कोना–ईभीको बिक्री–वितरण सुरु गरेको छ । फुल्ली इलेक्ट्रीक सव–कम्प्याक एसयूभी कोना नेपाली बजारमा ५१ लाख ९६ हजारमा नै किन्न सकिने छ ।

३९.२ किलोवाटको लिथियम आयन ब्याट्रीको प्रयोग गरिएको यस गाडीको व्याट्रीलाई डीसी फास्ट चार्जरबाट चार्ज गर्दा ५४ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । सिङ्गल चार्जमा ३०० किलोमिटरभन्दा बढी चलाउन सकिने यो कारको ब्याट्री चार्जमा विभिन्न सुविधा र अप्सनहरू उपलब्ध रहेको छ ।
सुरक्षाको हिसाबले अत्यन्त सुरक्षित रहेको यस गाडीमा ६ वटा एयरब्याग, अटो–होल्ड, प्याडल सिफ्टर, क्रूज कन्ट्रोल, लेन–सेन्ट्रिङ्ग सिस्टम, रियर क्रस–ट्राफिक अलर्ट, हिल असिस्ट कन्ट्रोल तथा अटोमेटिक इमर्जेन्सी ब्रेकिङ्ग सिस्टमजस्ता अत्याधुनिक फिचरहरू रहेका छन् ।
महिन्द्रा ई–भेरिटो
महिन्द्राले ल्याएको ई–भेरिटो इलेक्ट्रीक गाडीको मूल्य २८ लाख ८० हजार रुपैयाँ तोकिएको छ । एक घन्टा ४५ मिनेटमा फूल चार्ज गरेर १४० किलोमिटरसम्म गुडाउन मिल्ने यो गाडी नेपालमा पहिलोपटक भित्र्याइएको हो ।

यसको लम्बाई ४२४७ मिमि, चौडाई १७४० मिमि र उचाई १५४० मिमि रहेको छ । यसमा २६३० मिमिको ह्वीलवेश दिइएको छ । यसका एयर–कन्डिसनर, फे्रब्रिक अपहोल्स्ट्री, लेदर–स्ट्रीङ्ग ह्वील, डिजिटल ओडोमिटरलगायतका विविध विशेषता दिइएको छ ।
प्यूजो पार्टनर टीपी
नेपालका लागि फ्रेन्च अटो कम्पनी प्यूजोको आधिकारीक वितरक साङ्ग्रिला मोटर्सले इलेक्ट्रीक कार ‘पाटर्नर टीपी’ को बिक्री–वितरण गर्दैआएको छ । पूर्ण इलेक्ट्रीक कार पाटर्नर टीपीमा फाइभ–सिटर क्षमतामा उपलब्ध रहेको छ । यो गाडीको मूल्य ६० लाख रुपैयाँ निर्धारण गरिएको छ । पाटर्नर टीपीमा २२.५ किलोवाट आवर क्यापासीटीको लिथियम आयोन ब्याट्रीको प्रयोग गरिएको छ । जसले एकपटको फूल चार्जमा १७० किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ ।

यसमा रहेको र्यापिङ्ग चार्जिङ्ग प्वाइन्टको सहायताले ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ । यसमा प्रयोग भएको ४९ किलोवाट मोटरले ६७ बीएचपी पावर तथा २०० एनएम–टर्क उत्पादन गर्छ ।


