काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा विद्युतीय कारको बजार हिस्सा ६०.५ प्रतिशत पुगेको छ । २०७९ साउन १ गतेदेखि २०८० असार ३२ गतेसम्मको आयात तथ्यांक अनुसार ईभीको बजार हिस्सा निकै बढेको हो ।
सरकारले विद्युतीय सवारीसाधनमा पेट्रोलियम पदार्थको तुलनामा निकै कम कर लगाएको, नेपालमा विजुली उत्पादन बढेको र चार्जिङ पूर्वाधारमा विभिन्न दातृ निकायदेखि निजी क्षेत्रले लगानी बढाएको कारण ईभीको बजार हिस्सा बढेको हो ।
२०७९ बैशाखदेखि नै सरकारले पेट्रोलियम पदार्थबाट चल्ने कारको आयातमा प्रतिवन्ध लगाएको, मूल्यको ५० प्रतिशत माथि कर्जा नदिएको र बैंकले गर्दा दिँदा पनि जोखिमभार ७० प्रतिशतबाट बढाएर १५० प्रतिशत पुर्याएको कारण पेट्रोल कारको बजार निकै घटेको हो ।
जुन ईभीको हकमा लागु हुँदैन । ईभी किन्नेले मूल्यको ८० प्रतिशतसम्म कर्जा पाउने छन् । कर्जा पनि सहजै पाउने अवस्था छ ।

आर्थिक वर्ष २०७७/७८ मा कुल चार पाङ्ग्रे निजी सवारीसाधनको आयात १२ हजार ५१६ यूनिट रहेकोमा ईभीको हिस्सा १.९८ प्रतिशत मात्रै थियो । त्यो आर्थिक वर्षमा केबल २४९ यूनिट ईभी मात्रै आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७८/७९ मा विद्युतीय कारको बजार तिब्र गतिमा विस्तार भयो । उक्त आर्थिक वर्षमा १ हजार ८०७ यूनिट ईभी आयात भयो । त्यो कुल कार आयातको १३.७२ प्रतिशत थियो । आर्थिक वर्ष २०७८/७९ मा कुल १३ हजार १७१ यूनिट कार आयात भएको थियो ।

गत आर्थिक वर्षमा कुल ६ हजार ६९४ यूनिट निजी प्रयोजनका कारहरु नेपाल आए । त्यसमा विद्युतीय कारको हिस्सा ६०.५ प्रतिशत पुगेको छ । गत वर्ष केबल २ हजार ६४४ यूनिट पेट्रोलियम पदार्थबाट चल्ने कार आयात भयो भने ईभीको आयात ४ हजार ५० यूनिट पुग्यो ।

